माधव नेपालमाथि कारबाही प्रकृया अघि बढाउन प्रहरीलाई निर्वाचन आयोगको पत्र



काठमाडौं । निर्वाचन आयोगले पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालमाथि कारबाही प्रकृया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र पठाएको छ ।

मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका अध्यक्ष नेपालले आफूले चुनाव जिते देश बाहिर युवालाई रोजगारीको अवसर दिने आश्वास बाँडेको श्रव्य दृश्य सामग्री सार्वजनिक भएको भन्दै आयोगले कारबाहीका लागि प्रहरीलाई पत्र पठाएको हो ।

निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा २० को उपदफा (१) मा निर्वाचनको सिलसिलामा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले देहायका कुनै काम गरी निर्वाचनमा कुनै उम्मेदवार वा मतदाता वा निजहरुमध्ये कसैको सरोकार वा स्वार्थ भएको कुनै व्यक्ति वा निर्वाचन अधिकृत वा निर्वाचनमा संलग्न कर्मचारीलाई कुनै किसिमको प्रभाव पार्न हुँदैन भन्ने समेतको व्यवस्था रहेको र उक्त ऐनको उपदफा (१) को खण्ड (च) मा कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था रहेको आयोगले स्मरण गराएको छ ।

यस्तो कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ भन्ने व्यवस्था कानूनमा रहेको भन्दै आयोगले प्रहरीलाई पठाएको पत्रमा भनिएको छ, ‘माधवकुमार नेपालबाट निर्वाचनको सम्मुखमा युवाहरुलाई विदेश पठाउने भनि सार्वजनिक रुपमा प्रलोभन देखाउने कार्य गरेकोले सो सम्बन्धमा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३९ बमोजिम आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउन अनुरोध छ ।’

अध्यक्ष नेपालले एक सार्वजनिक कार्यक्रममा ‘बिना ढेउवा के भिसा मिलते हैं, टिकट मिलते हैं, काठमाडौंमे तलिम मिल्ते हैं’ भनि सार्वजनिक वक्तव्य दिएको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएको र सो श्रव्यदृश्य सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा उनको होइन भनि भन्न सकिने कुनै आधार नदेखिएको आयोगका सहायक न्यायाधिवक्ता प्रकाश घिमिरेले जनाएका छन् ।

रौतहटमा आयोजित एक कार्यक्रममा मतदातालाई प्रलोभन पार्ने गरी वक्तव्य दिएको भन्दै बिहीबार आयोगले अध्यक्ष नेपाललाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणका लागि आजै पत्र काटेको आयोगले रौतहट जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखेर कारबाही प्रक्रिया अगाडि बढाउन भनेको हो ।


क्लिकमान्डु