महारानी एलिजाबेथसँग कति सम्पत्ति थियो ?



एजेन्सी। ७० वर्षभन्दा लामो समयसम्म गद्दीमा रहेकी बेलायतकी महारानी एलिजाबेथ द्वितियको बिहीबार निधन भएको छ । दोस्रो विश्वयुद्धदेखि यताका सम्पूर्ण सामाजिक तथा राजनीतिक परिवर्तन देखेकी उनको निधनले अहिले बेलायत शोकमग्न भएको छ । अब बेलायतको गद्दीमा चाल्र्स द्धितिय रहनेछन् । शनिबार उनको राज्याविभेक हुँदैछ ।

बेलायतमा रहेका हरेक नोटमा तस्बिर अंतिक रानी एलिजाबेथको सम्पत्ती कति छ त ? यो बारेमा भने धैरै कम मात्रै थाहा छ । उनको सार्वजनिक सम्पत्तीको बारेमा सार्वजनिक जानकारी भएतापनि उनको व्यक्तिगत सम्पत्तीको बारेमा भने धेरै भन्न सक्ने अवस्था छैन ।

महारानी एलिजाबेथसँग भएका धेरै सम्पत्तिहरु उनकै भरोसामा विभिन्न संस्थान राखिएका सम्पत्तीहरु थिए भने उनको व्यक्तिगत बैंक खातामा भएका सम्पत्ती कति छन् भन्ने बारेमा भने जानकारी छैन ।

महारानीका लागि हरेक वर्ष बेलायतको सरकारले १०० मिलियन अमेरिकी डलर बराबरको रकम दिने गरेको थियो । सँगै महारानीका लागि ठूलो रकम ‘सोभरियन ग्रान्ट’अन्तर्गतबाट पनि प्राप्त हुने गथ्र्यो ।

सन् १७०० मा राजतन्त्रले बेलायतको सरकारलाई विभिन्न जग्गाहरुमार्फत् प्राप्त राजस्वहरु ‘क्राउन इस्टेट’को रुपमा दिएको थियो । सोभरियन ग्रान्ट त्यो बेला राजतन्त्रले सरकारलाई दिएको राजस्वमार्फत् आर्जित सम्पत्तिहरुबाट भएका नाफाको निश्चित प्रतिशत अहिले पनि राजपरिवारलाई दिने गर्छ ।

सोभरियन ग्रान्टमार्फत् गत वर्ष महारानीका लागि १०७ मिलियन अमेरिकी डलर प्राप्त भएको थियो । उक्त रकम रानीको सार्वजनिक व्यक्तित्व तथा ‘बंकिङहम प्यालेस’ सञ्चालनका लागि खर्च हुन्छ ।

तर, यी दुवै आयस्रोत महारानी एलिजाबेथको व्यक्तिगत सम्पत्ति होइनन् । पुस्तान्तरण हुँदै आएका यी परम्पराहरु अब पनि पुस्तान्तरण नै हुनेछन् । क्राउन इस्टेट महारानीको व्यक्तिगत नभएका कारण न उसले यसलाई बेच्न नै पाउँथिन् । अब बेलायतका राजा चाल्र्सले पनि यी सम्पत्तीहरुको जिम्मेवारी पाउँछन्, जसबाट उनको आयस्रोत हुन्छ । तर, आफ्नो व्यक्तिगत आर्थिक लाभका लागि भने उनले यसको बिक्री वितरण गर्न पाउँदैनन् ।

तर, महारानी एलिजाबेथको साथमा व्यक्तिगत सम्पत्तीका दुई दरबार भने थिए । नरफ्लोकको सेनड्रिङहम घर र स्कटल्याण्डको बालमोरल कास्टल । सार्वजनिक भएका विवरणकाअनुसार यी दुवै संरचनाको अहिलेको बजार मूल्य ६६ देखि ८० मिलियन अमेरिकी डलर बराबरको छ ।

यी दुवै सम्पत्तीहरु महारानी एलिजाबेथका व्यक्तिगत सम्पत्ती हुन् । १८५० मा राजकुमार अल्बर्टले बालमोरलको क्षेत्र किनेका थिए । ८० हजार एकटमा स्कटल्याण्डको पहाडी भेगमा रहेको यो कास्टल अहिले बेलायतमा शासन गरिरहेको राजपरिवारको छुट्टि मनाउने ठाउँ हो । महारानी एलिजाबेथले पनि आफ्नो गर्मिको समयमा बालमोरलमा बिताउने गर्थिन् भने क्रिसमसको समय सेनड्रिङहम घरमा ।

यी दुवै संरचना विगतमा पुस्तान्तरणसँगै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण भएको थियो । तर, १९३६ मा एडवार्ड आठौंपछि उनका भाईमा यो सम्पत्ती जानुपर्ने हुँदा यसलाई आर्थिक सम्झौतामार्फत हस्तान्तरण गरिएको थियो । उक्त सम्पत्ती पाउने व्यक्ति एलिजाबेथका बुबा जर्ज थिए ।

त्यसपश्चात यी दुवै सम्पत्ती व्यक्तिगत सम्पत्तीका रुपमा छन् । रानी एलिजाबेथले आफ्नो निधनको समयमा यो सम्पत्ती कसले पाउने भनेर खुलाउन पाउँछिन् । उनले भनेअनुसार नै यी दुवै सम्पत्तीको अबको मालिक निर्धारण हुन्छ । परम्परालाई निरन्तरता दिँदै रानीले आफ्नो जेठो छोरा चाल्र्सलाई यो सम्पत्ती दिएको सञ्चारमाध्यमहरुले बताएका छन् ।

यो बाहेक महारानी एलिजाबेथका साथमा ४५ हजार एकडको व्यावसायिक कृषि तथा आवासिय क्षेत्र थियो, जसलाई ‘डुची अफ ल्यानकास्टर’ भनिन्छ । रानीले आर्थिक वर्ष २०२१ मा मात्रै यो क्षेत्रबाट २७ मिलियन अमेरिकी डलर भाडाका रुपमा पाएकी थिइन् ।

यी स्रोतहरुमार्फत् भएको आयले रानीको दैनिक जीवन तथा राजपरिवारलाई व्यवस्थित गर्न खर्च गरिने गर्थ्यो ।

७० वर्षभन्दा लामो समयसम्म बेलायतमा शासन गरेकी महारानी एलिजाबेथको निधनको समयसम्म पनि उनीसँग भएको सम्पूर्ण व्यक्तिगत सम्पत्तीको विवरण सार्वजनिक छैन । बेलायतमा राजपरिवारका कुनै सदस्यले पनि यस्तो गर्नु पर्दैन । जसकारण उनीहरुसँग कति सम्पत्ती छ भनेर यकिनका साथ भन्न सकिँदैन ।

तर, विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यममा बताइएअनुसार रानीको व्यक्तिगत सम्पत्ती ५०० मिलियन अमेरिकी डलरभन्दा बढि छ । फोर्ब्सले २०१९ मा यो विवरण सार्वजनिक गरेको थियो । महारानीको निधनपछि उनका यी व्यक्तिगत सम्पत्तीहर भने उनका जेठा छोरा तथा अबका राजा चाल्र्सलाई नै जाने छ ।


क्लिकमान्डु