बीवाईडीका कार जेठ १४ गते नै जाँचपास गराउने मुस्ताङ भन्सारलाई छानबिन समितिको क्लिनचिट

189
Shares

काठमाडौं । भन्सार विभागले मुस्ताङको कोराला नाकाबाट ६४९ वटा बीवाईडीका कार नियमसंगत रूपमा जाँचपास भएको निष्कर्ष निकालेको छ । सो नाकाबाट जेठ १२ र १३ गते घोषणा भएका ६४९ वटा बीवाईडी ईभी जेठ १४ गतेभित्रै नेपाल प्रवेश गरिसकेको र सोही मितिमा नियमानुसार जाँचपास भएको देखिएको हो ।

करका दर बढ्ने सूचना चुहिएर जेठ १५ अघि नै जाँचपास गरिएको आशंकामा शसस्त्र प्रहरीले कोराला नाकाबाट छुटेका ती गाडि नियन्त्रणमा लिएको थियो । प्रधानमन्त्री बालेन शाहको निर्देशनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसबारे अध्ययन गर्न छानबिन समिति बनाएका थिए । सोही समितिले मुस्ताङबाट जाँचपास भएका बीवाईडी कारलाई क्लिनचिट दिएको हो।

मुस्ताङ भन्सार कार्यालयको सम्बन्धमा जेठ २१ गते अर्थ मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधि सम्मिलित टोलीले अनुगमन गरेको थियो । उक्त टोलीले सीसीटीभी फुटेज र आधिकारिक अभिलेखको विस्तृत अध्ययन गर्दा मुस्ताङबाट भएको जाँचपासलाई नियमसम्मत ठहर्‍याएको हो ।

प्रतिवेदनका अनुसार जेठ १२ र १३ गते घोषणा भएका ६४९ वटा विद्युतीय सवारी साधनहरू जेठ १४ गतेभित्रै नेपाल प्रवेश गरिसकेको र सोही मितिमा नियमानुसार जाँचपास भएको देखिएको छ ।

आगामी आर्थिक वर्षको बजेट भाषण हुनु अगावै (करका दर हेरफेर हुने समयमा) हतार-हतार ठूलो संख्यामा विद्युतीय गाडीहरू भन्सार पास गराइएको भन्दै सार्वजनिक रूपमा प्रश्न उठेको थियो । विशेषगरी रसुवा र मुस्ताङ नाकामा कर्मचारीको मिलेमतोमा प्रक्रिया मिचेर गाडी भित्र्याइएको आशंका पछि अर्थ मन्त्रालयले छानबिन टोली खटाएको थियो ।

विद्युतीय सवारी साधनको आयात र जाँचपासका क्रममा बदमासी भएको गुनासो पछि सरकारले गरेको छानबिनमा रसुवा भन्सार कार्यालयमा भने गम्भीर लापरवाही भएको फेला परेको छ । सोही प्रकरणमा संलग्न भएको आरोपमा तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीलाई निलम्बन गरी विभागीय कारबाही अगाडि बढाइएको छ ।

अर्थ मन्त्रालय र भन्सार विभागले गठन गरेको उच्चस्तरीय अनुगमन टोलीले बुझाएको प्रतिवेदनका आधारमा यो कदम चालिएको हो ।

भन्सार विभागका निर्देशकको नेतृत्वमा जेठ १७ गते रसुवा पठाइएको टोलीले स्थलगत अध्ययन गर्दा कर्मचारीहरूले पदीय जिम्मेवारी पूरा नगरेको र पर्याप्त सावधानी नअपनाएको फेला पारेको छ ।

प्रतिवेदन अनुसार कतिपय विद्युतीय सवारी साधनहरू भन्सार हातामा भौतिक रूपमा आइ नपुग्दै कागजातका आधारमा मात्रै जाँचपास गरिएको पाइएको छ । कानुनी प्रक्रिया पूरा नगरी गरिएको यस्तो ‘कागजी जाँचपास’मा संलग्न रहेको भन्दै भन्सार विभागले १३ जना कर्मचारीलाई तत्काल निलम्बन गरेको छ ।

विद्युतीय सवारी आयात गर्ने ठूला प्रतिष्ठित कम्पनीहरू पनि कारबाहीको सिफारिसमा परेका छन्। रसुवा भन्सारबाट गाडी नआउँदै जाँचपास गराउने कार्यमा संलग्न कम्पनीहरूमाथि प्रचलित भन्सार कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउन रसुवा भन्सारलाई निर्देशन दिइएको छ । साथै, एजेन्ट नम्बर २४८, ८३३ र ४७८ लगायतका भन्सार प्रतिनिधिहरूलाई पनि कारबाहीको दायरामा ल्याइने भएको छ ।

Skip This