
एजेन्सी । अमेरिकाको रक्षा मन्त्रालयलाई इरान युद्धको खर्चका साथै युद्धसँग सम्बन्धित नभएका अन्य बिलहरू भुक्तानी गर्न ८० अर्ब डलर आवश्यक परेको छ ।
यस विषयमा जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले बिहीबार जनाएअनुसार, रक्षा उपमन्त्री स्टिफन फेनबर्गले यसै हप्ता सांसदहरूसँगको टेलिफोन कुराकानीमा यस्तो जानकारी दिएका हुन् ।
पेन्टागनका लागि बजेटका साथै कृषि र विपद् राहत जस्ता गैर–रक्षा प्राथमिकताहरू समेत समावेश गरिएको पूर्ण अमेरिकी पूरक माग आगामी दिनहरूमा सांसदहरूलाई पठाइन सकिने उक्त पत्रिकाले थपेको छ ।
पेन्टागनका एक अधिकारीले अप्रिलमा रोयटर्सलाई युद्धको लागतको पहिलो आधिकारिक अनुमान दिँदै इरान युद्धमा करिब २५ अर्ब डलर खर्च भएको बताएका थिए । यद्यपि, फेब्रुअरी २८ मा ट्रम्पले इजरायलसँग मिलेर सुरु गरेको यस द्वन्द्वको पूर्ण लागत क्यापिटल हिल (अमेरिकी संसद्) मा एउटा खुला प्रश्न बनेको छ र अतिरिक्त कोषका लागि सुरुमा गरिएको २०० अर्ब डलरको मागलाई सांसदहरूले कडा विरोध गरेका थिए ।
ह्वाइट हाउसका बजेट निर्देशक रसेल भाउटले ट्रम्पको १५ खर्ब डलरको वार्षिक सैन्य बजेटको बचाउ गर्दै अप्रिलमा हाउस अफ रिप्रिजेन्टेटिभको बजेट समितिको सुनुवाइमा युद्धको लागतबारे आफूसँग कुनै अनुमान नभएको बताएका थिए ।
प्रस्तावित बजेटले नोभेम्बरको मध्यावधि चुनावअघि रिपब्लिकन प्राथमिकताहरू प्रतिबिम्बित गर्छ जहाँ पार्टीले संसदमा नियन्त्रण कायम राख्न खोजिरहेको छ । तर, बढ्दो जीवनयापन खर्च, उच्च ऊर्जा मूल्य र इरान युद्धको आर्थिक भारका कारण पार्टीले मतदाताहरूको बढ्दो चिन्ताको सामना गरिरहेको छ ।








प्रतिक्रिया