
काठमाडौं । त्रिवेणी र शिवशक्ति ग्रुपको संयुक्त लगानी रहेको महालक्ष्मी सोल्भेन्ट रिफाइनरी कम्पनीको व्यापार १३९.३८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा गत आर्थिक वर्षमा १३९.३८ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीले गत आवमा ६ अर्ब ९ करोड रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२४ मा २ अर्ब ५४ करोड ४० लाख रुपैयाँ, सन् २०२३ मा ३ अर्ब २५ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा ६ अर्ब ४९ करोड २० लाख रुपैयाँ र सन् २०२१ मा ५ अर्ब ७ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो ।
सन् २०२४ मा १८.८१ प्रतिशत र सन् २०२३ मा ४.५३ प्रतिशतले सञ्चालन घाटा व्यहोरेको कम्पनीले गत आवमा ४ प्रतिशत सञ्चालन मार्जिन गरेको छ ।
कम्पनीले गत आवमा २५ करोड १० लाख रुपैयाँ सञ्चालन मार्जिन गरेको छ । कम्पनीअनुसार सन् २०२४ मा ६२ करोड ६० लाख रुपैयाँ र सन् २०२३ मा ३४ करोड ७० लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो । तर, गत आवमा कम्पनीले ५ करोड ४० लाख रुपैयाँ खुद नाफा गरेको छ ।
त्यसैगरी, कम्पनीको कुल नगद सञ्चय ७ करोड ४० लाख रुपैयाँ पुगेको छ । कम्पनीको पुँजी संरचना उच्च ऋणभारयुक्त रहेको छ । यसको मुख्य कारण ठूलो परिमाणको ऋण तथा सीमित आन्तरिक नगद सञ्चिती रहेको उल्लेख छ ।
कम्पनीको सन् २०२३ मा १ अर्ब ९५ करोड ६० लाख रुपैयाँ ऋण रहेकोमा सन् २०२४ मा घटेर १ अर्ब ५३ करो ७० लाख रुपैयाँमा पुगेको थियो । तर, सञ्चालन गतिविधि विस्तार तथा कार्यशील पुँजी आवश्यकताको पूर्तिका लागि ऋण पुनः बढेर ३ अर्ब ३६ करोड ४० लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको समग्र गियरिङ अनुपात सन् २०२४ मा ५.७२ गुणा रहेकोमा सन् २०२५ मा बढेर ११.५० गुणा पुगेको छ । कुल बाह्य दायित्व तथा ट्यान्जिबल सम्पत्ति अनुपात सन् २०२४ मा ५.८५ गुणा रहेकोमा सन् २०२५ मा ११.९३ गुणा पुगेको छ ।
सन् २०२३ र सन् २०२४ मा सञ्चालन घाटाका कारण कम्पनीको ब्याज कभरेज अनुपात तथा ऋण सेवा कवरेज अनुपात दुबै ऋणात्मक थियो । तर, गत आवमा कारोबारमा सुधार आएपछि यी सूचकहरूमा पनि सुधार आएको कम्पनीको भनाइ छ । कम्पनीको ऋण कभरेज अनुपात १.४२ गुणा पुगेको छ ।
सन् २००९ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका तेल प्रशोधन गरी आन्तरिक बजारसँगै भारतमा निर्यात गर्दै आएको छ ।
कम्पनीले वार्षिक ५६ हजार मेट्रिक टन क्षमतामा भटमासको तेल, पामोलिन र सन्फ्लावर तेलको प्रशोधन गर्दै आएको छ ।
कम्पनीले तेल प्रशोधनका लागि आवश्यक कच्चा पदार्थ अर्जेन्टिना, ब्राजिल, इन्डोनेसिया र मलेसियाबाट आयात गर्दै आएको छ । कम्पनीले प्रशोधित तेल महालक्ष्मी, सदग र डीओसी सुपर सोया ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।
विरेन्द्रकुमार संघाईको ३५ प्रतिशत र राजकुमार अग्रवालको ३४.२९ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ४ अर्ब ५५ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि ४९ करोड ३० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४ अर्ब ६ करोड रुपैयाँको रेटिङ गराएको हो ।








प्रतिक्रिया