अमेरिका-इरान वार्ता स्थगित भएपछि बढ्यो कच्चा तेलको मूल्य

567
Shares

एजेन्सी । अमेरिका र इरानबीचको सम्भावित स्थायी शान्ति सम्झौताको भविष्यमा अन्योल देखिएपछि र इजरायलले लेबननमा आफ्नो आक्रमण तीव्र पारेपछि शुक्रबार कच्चा तेलको मूल्य बढेको छ ।

स्विट्जरल्यान्डमा हुने भनिएको वार्ता स्थगित भएपछि बजारमा चिन्ता बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य ०.६४ प्रतिशतले वृद्धि भई प्रति ब्यारल ८०.३६ डलर पुगेको छ भने अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएटको मूल्य १.७ प्रतिशतले बढेर ७७.८८ डलर पुगेको छ । तर, यी दुवै किसिमका कच्चा तेल यस हप्ता समग्रमा करिब ८ प्रतिशतको गिरावटको दिशामा रहेका छन् ।

स्विट्जरल्यान्डको विदेश मन्त्रालयले शुक्रबारका लागि तय गरिएको अमेरिकी र इरानी वार्ताकारहरूबीचको वार्ता नहुने पुष्टि गरेको छ । अमेरिकाका उपराष्ट्रपति जेडी भ्यान्सले जेनेभा भ्रमणको योजना रद्द गरेपछि यस क्षेत्रमा स्थायी युद्धविराम हुने कुरामा थप अनिश्चितता पैदा भएको हो ।

बजार विश्लेषक वन्दना हरिका अनुसार, इरान र अमेरिकाबीचको समझदारी पत्रमा पहिले नै केही समस्याहरू देखिएकाले बजारमा उतारचढाव बढ्न सक्छ । वर्तमान भूराजनीतिक परिस्थितिले हर्मुज जलयोजकबाट ढुवानी पुनः सुरक्षित रूपमा सुचारु हुने कुरामा बजारलाई पर्याप्त आत्मविश्वास दिलाउन सकेको छैन ।

यसअघि बिहीबार इरान र अमेरिकाका राष्ट्रपतिहरूले युद्ध अन्त्य गर्न अन्तरिम सम्झौतामा हस्ताक्षर गरेपछि केही साउदी ट्यांकरहरू जलयोजक भएर अघि बढेका थिए । त्यसले गर्दा तेलको मूल्य मार्च महिनायताकै न्यून विन्दुमा झरेको थियो ।

विश्लेषकहरूले यो सम्झौता पूर्ण रूपमा कार्यान्वयन भएमा खाडी क्षेत्रमा अड्किएको ८ करोड ५० लाख ब्यारल तेल विश्व बजारमा उपलब्ध हुने र इरानी तेलमाथिको प्रतिबन्ध हट्दा आपूर्ति अझै बढ्ने अपेक्षा गरेका छन् ।

तर, विश्लेषक टिम वाटररका अनुसार हर्मुज जलयोजकको यातायात पूर्ण रूपमा सामान्य भएको ठोस प्रमाण नभेटिएसम्म लगानीकर्ताहरू मूल्य थप घट्ने कुरामा ढुक्क हुन सकेका छैनन् ।

युद्ध सुरु हुनुअघि विश्वको करिब २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास हर्मुज जलयोजक भएर ओसारपसार हुने गर्थ्यो । अमेरिका–इरान सम्झौता कायम रहेमा आगामी महिनाहरूमा व्यापारिक गतिविधि पुरानै अवस्थामा फर्कने अनुमान गरिएको छ ।

यसैबीच, पश्चिम एसियाका अन्य उत्पादकहरूले पनि निर्यात पुनः सुरु गर्ने तयारी थालेका छन् । कुवेतले युद्धका कारण जारी गरेका सबै प्रतिबन्धहरू हटाएको छ भने इराकका तेल मन्त्रीले आफ्ना तेल क्षेत्रहरू उत्पादनका लागि तयार रहेको र उत्पादन बिस्तारै पुरानै दरमा फर्कने बताएका छन् ।

तर, लेबननमा इजरायल र हिजबुल्लाहबीच जारी लडाइँले यो शान्ति सम्झौताको भविष्यमाथि अझै गम्भीर प्रश्न खडा गरिरहेको छ ।

Skip This