एक हजार दरको ४ खर्ब ३० अर्ब रुपैयाँ बराबरको नयाँ नोट छाप्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँको नयाँ नोट छाप्ने भएको छ ।
राष्ट्र बैंकले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट ४ खर्ब ३० अर्ब रुपैयाँ बराबरको नयाँ नोट छाप्ने प्रक्रिया सुरु गरेको हो । मंगलबार राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान नयाँ नोट छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।
नोट छाप्न राष्ट्र बैंकबाट योग्य भएका कम्पनीले नयाँ नोटको डिजाइन, प्रिन्ट र सप्लाई गर्ने सम्बन्धमा अगामी ३० दिन भित्र राष्ट्र बैंकमा प्रस्ताव पेश गर्न सक्ने छन् ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती प्रसाद नेपालले अगामी ३ देखि ४ वर्षसम्मका लागि पुग्ने गरी नयाँ नोट छाप्ने प्रक्रिया सुरु गरिएको जानकारी दिए ।
‘३ वर्ष अगाडि हामीले १ हजार रुपैयाँका ४० करोड थान नोट छापेका थियौं,’ नेपालले भने, ‘अहिले पनि नियमित प्रक्रिया अन्तर्गत १ हजार रुपैयाँको नोट छाप्न बोलपत्र आह्वान गरिएको हो ।’