नेपाल इन्स्योरेन्सबाट आइएमई ग्रुप बाहिरिने



काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीबाट आइएमई ग्रुप बाहिरिने भएको छ । बीमा समितिले क्रस होल्डिङ भएका कम्पनी मर्जरमा जानुपर्ने दबाब बढाएपछि कम्पनीबाट आइएमई ग्रुप बाहिरिने भएको हो ।

आइएमई ग्रुप अन्तर्गतका आइएमई लिमिटेड, आइएमई इन्भेष्टमेन्ट र आइएमई होल्डिङले नेपाल इन्स्योरेन्स कम्पनीमा रहेको सेयर बिक्री गर्ने भएका हुन् । आइएमई ग्रुपको लगानीमा आइएमई जनरल इन्स्योरेन्स कम्पनी सञ्चालनमा छ । दुबै संस्थामा क्रस होल्डिङ भएपछि मर्जरको दबाब बढेको थियो ।

कम्पनीका अनुसार यी कम्पनीहरूले कुल २१ लाख ५७ हजार ६१५ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका हुन् । जसमा प्रतिकित्ता ३२५ रूपैयाँका दरले सेयर बिक्रीका लागि आह्वान गरिएको छ । खरिदका लागि पहिलो प्राथमिकता कम्पनीका अन्य संस्थापकलाई दिइएको छ । सेयर खरिद गरि लिन इच्छा भएमा ३५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ ।

इच्छुक सेयरधनीले कम्पनीको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्ने सेयर कित्ताको व्यहोरा खुलाई आवेदन दिनुपर्ने छ । तोकिएको समयभित्र विद्यमान संस्थापक सेयरधनी नआएमा अन्य व्यक्तिलाई सेयर बिक्री गरिनेछ ।


क्लिकमान्डु