जीवन बीमा कम्पनीको नयाँ व्यवसाय ४%ले खुम्चियो, ११ वटाको घट्यो



काठमाडौं । जीवन बीमा कम्पनीहरूको नयाँ व्यवसाय घटेको छ । गत आवको जेठ महिनाको तुलनामा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीको नयाँ व्यवसाय ३.९३ प्रतिशतले खुम्चिएको हो ।

चालु आवको ११ महिनाको अवधिमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीले १ खर्ब १९ अर्ब ४७ करोड ८१ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

यस अवधिमा कम्पनीहरुले ३३ अर्ब ८५ करोड ९१ लाख रूपैयाँको मात्रै नयाँ व्यवसाय गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार जीवन बीमा कम्पनीको कुल व्यवसायमा नयाँ व्यवसायको हिस्सा २८.३४ प्रतिशत मात्रै हुन आउँछ ।

जुन गत आवको यसै अवधिको तुलनामा ३.९३ प्रतिशतले कमी हो । गत आवको यसै अवधिमा कम्पनीहरुले ३५ अर्ब १९ करोड रूपैयाँको नयाँ व्यवसाय गरेका थिए ।

बीमा समितिले उपलब्ध गराएको जेठ महिनासम्मको तथ्यांकअनुसार कुल जीवन बीमा व्यवसायमा नवीरकण बीमाशुल्कको हिस्सा धेरै देखिएको हो ।

जीवन बीमा कम्पनीहरूले पोलिसी बिक्री गरेको सुरूवातको किस्ता वापत प्राप्त हुने रकम प्रथम बीमाशुल्क हो । भने बीमा कम्पनीहरूले दोस्रो वा सो भन्दा पछि संकलन गर्ने बीमाशुल्क नवीकरण बीमाशुल्क बीमाशुल्क हो ।

कुल बीमाशुल्कमा नवीकरण बीमाशुल्कको हिस्सा ७१ प्रतिशत, प्रथम बीमाशुल्कको २८ प्रतिशत मात्रै

चालु आवको जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूको कुल व्यवसायमा नविकरण बीमाशुल्कको हिस्सा ७१.६६ प्रतिशत छ भने प्रथम बीमाशुल्कको हिस्सा २८.३४ प्रतिशत मात्रै छ ।

चालु आर्थिक वर्षको ११ महिनामा जीवन बीमा कम्पनीहरुले १ खर्ब १९ अर्ब ४७ करोड ८१ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

त्यसमध्ये २८.३४ प्रतिशत अर्थात कम्पनीहरूले ३३ अर्ब ८५ करोड ९१ लाख रूपैयाँको मात्रै नयाँ व्यवसाय गरेका छन् ।

यस्तै, यस अवधिमा जीवन बीमा कम्पनीहरूले नवीकरण बीमाशुल्कबाट ८५ अर्ब ६१ करोड ९० लाख रूपैयाँ बीमाशुल्क संकलन गरेको समितिको तथ्यांक छ । जीवन बीमा कम्पनीले संकलन गरेको कुल बीमाशुल्कमा नवीकरण बीमाशुल्को हिस्सा ७१.६६ प्रतिशत हुन आउँछ ।

बीमा समितिबाट उपलब्ध तथ्यांक अनुसार गत आवको तुलनामा अधिकांश बीमा कम्पनीको प्रथम बीमाशुल्क घटेको छ । यस अवधिमा ११ वटा जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क घटेको हो ।

नेपाल लाइफ, एलआइसी, एशियन लाइफ, गुराँस लाइफ, सूर्या लाइफ, प्राइम लाइफ, मेट लाइफ, यूनियन लाइफ, ज्योति लाइफ, रिलायन्स लाइफ र सानिमा लाइफको प्रथम बीमाशुल्क घटेको हो ।

नयाँ जीवन बीमा कम्पनीतर्फ सन नेपाल लाइफसँगै सिटिजन लाइफ, प्रभु लाइफ, महालक्ष्मी लाइफ, रिलायबल नेपाल लाइफ र आईएमई लाइफको प्रथम बीमाशुल्क संकलन बढेको छ ।

यस्तै, पूराना जीवन बीमा कम्पनीतर्फ भने नेशनल लाइफ, राष्ट्रिय बीमा संस्थानको मात्रै प्रथम बीमाशुल्क बढेको छ ।

चालु आवको माघ मसान्तसम्ममा सन नेपाल लाइफको प्रथम बीमाशुल्क सबैभन्दा धेरै प्रतिशतले बढेको छ । २ अर्ब १९ करोड ५८ लाख रूपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा सन नेपाल लाइफले प्रथम बीमाशुल्कबाट ७४ करोड रूपैयाँ संकलन गरेको थियो ।

गुराँस लाइफ इन्स्योरेन्सको प्रथम बीमाशुल्क १ अर्ब ४५ करोड रूपैयाँबाट घटेर ५७ करोढ ९ लाख रूपैयाँमा सीमित भएको छ ।

जेठ महिनासम्ममा नेपाल लाइफले प्रथम बीमाशुल्कबाट सबैभन्दा धेरै रूपैयाँ संकलन गरेको छ ।

कम्पनीले ५ अर्ब ७१ करोड ५८ लाख रूपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ७ अर्ब ४९ करोड रूपैयाँ संकलन गरेको थियो ।


क्लिकमान्डु