बीमा कम्पनीबाट दाबी भुक्तानी नभएको गुनासाहरू आउँछन्: मुख्यमन्त्री केसी



काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बीमा कम्पनीहरूबाट बीमा दाबी भुक्तानी नभएको भन्ने धेरै गुनासाहरू आउने बताएका छन् ।

बीमा समितिको आयोजनामा आज लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बुटवलमा लुम्बिनी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मूख्यमन्त्री केसीले समयमै दावी भुक्तानी नपाएको गुनासो आउने गरेको बताएका हुन्

मूख्यमन्त्री केसीले सहजरूपमा बीमा दावी पाउने व्यवस्था गर्न र बीमा कम्पनीहरूमा सुशासन कायम गर्न आग्रह गरे । प्रदेश सरकारले बीमा सम्बन्धी नीतिगत व्यवस्थाका साथ धेरै कार्यक्रमहरू ल्याएको र अब ती कार्यक्रमहरूको कार्यान्वयनमा जोड दिने बताए ।

बीमाको दायरा विस्तारका लागि बीमा सम्बन्धी जनचेतना अभिवृद्धिमा जोड दिन र बीमा समितिको प्रदेश कार्यालय विस्तार गर्न पनि आग्रह समेत गरे ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सरकारले विपद्का समयका लागि छुट्याएको रकमबाट नागरिकको जीवन तथा सम्पत्तिको बीमा गर्न सकिने र त्यसरी गरिएको बीमाबाट नै विपद्का समयमा हुने क्षतिको क्षतिपूर्ति हुने जानकारी दिए ।

अध्यक्ष सिलवालले प्रदेश सरकारले नागरिकका साथै सरकारी सम्पत्तिको बीमा गराउन पहल गर्नुपर्ने उल्लेख गरे ।

बीमालाई सेवा प्रवाहसँग जोडेर पनि बीमाको पहुँच विस्तार गर्न सकिने बताए ।


क्लिकमान्डु