सरकारी नीतिले १ खर्ब ५० अर्बको सिमेन्ट निर्यात हुने संघको दाबी
काठमाडौं । सरकारले बजेट मार्फत व्यवस्था गरेको नीतिले १ खर्ब ५० अर्बको सिमेन्ट निर्यात हुने सिमेन्ट उत्पादक संघले जनाएको छ ।
संघले विज्ञप्ती जारी गरेर सरकारवाट प्रस्तुत गरीएको आव २०७९/ ०८० को वजेटवाट स्वदेशमा स्थापित सिमेन्ट/क्लिङ्कर उत्पादन गर्ने उद्योगहरु संरक्षण तथा सम्वद्र्धन गर्न र देशको व्यापारघाटा कम गर्न निकाशीमा नगद प्रोत्साहन र उद्योगहरुले उपभोग गर्ने विद्युत महशुलमा छुटको स्वागत गरेको छ ।
संघले अर्थ मन्त्रालय, अर्थमन्त्री,उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लगायतमा हार्दिक कृतज्ञता ज्ञापन समेत गरेको छ ।
बजेटमा निर्यातलाई प्राथमिकतामा राखी निर्यातका उच्च संभावना भएका वस्तुहरुमा सिमेन्ट र क्लिङ्करलाई समावेश गरी यसको निर्यातमा ८ प्रतिशत नगद प्रोत्साहन दिने व्यवस्था स्वदेशी उत्पादनमुलक उद्योगहरुको हितमा रहेको जानकारी गराएको छ ।
यसवाट देशमा प्रचुर मात्रामा रहेको कच्चा पदार्थ चुनढुङ्गाको उपयोगमा उल्लेखनीय वृद्धि हुनुका साथै यि उद्योगहरु पुर्ण क्षमतामा संचालन भएमा १ खर्ब ५० अर्ब बराबरको निकासी हुने बाटो खुल्ने जनाएके छ ।
बजेटमा देशको औद्योगीक क्षेत्रको विकास गर्न एंव निर्यात प्रर्वद्धन गरी आयात प्रतिस्थापन गर्न योगदान पुग्ने गरी भएको वार्षिक १० करोड भन्दा वढि रकमको विद्युत खपत गर्ने उद्योगहरुलाई विद्युत महशुलमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था समेतको हार्दिक स्वागत गर्दै यस व्यवस्थावाट देशको औद्योगीकीकरणमा योगदान पुग्ने र स्वदेशमा उत्पादित विद्युतको खपत स्वदेशमा नै हुने वातावरण सिर्जना हुने विश्वास संघले लिएको छ ।
संघले बजेटमा लिएका व्यवस्थाहरु छिटो कार्यान्वयन गर्न माग गरेको छ ।