रेमिट्यान्स आप्रवाह १.७% ले घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा रेमिट्यान्स (विप्रेषण) आप्रवाह १.७ प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार ८ महिनाको अवधिमा विप्रेषण आप्रवाह १.७ प्रतिशतले कमी आई ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.० प्रतिशतले कमी आई ५ अर्ब २८ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.० प्रतिशतले बढेको थियो ।

यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख २७ हजार ९०० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८२.९ प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकका अुनसार वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४०.९ प्रतिशतले वृद्धि भई १ लाख ७८ हजार २६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.२ प्रतिशतले घटेको थियो ।

चालु आवको ८ महिनामा खुद ट्रान्सफर २.० प्रतिशतले कमी आई ७ खर्ब ४ अर्ब ३३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७.२ प्रतिशतले बढेको थियो ।


क्लिकमान्डु