भारतको लगानी अभिवृद्धि र व्यापार सहजीकरणका लागि नेपाली निजी क्षेत्रको आग्रह



काठमाडौं । नेपालमा भारतीय लगानी बढाउन र भारततर्फको निर्यात सहजीकरणका लागि सरकार र निजी क्षेत्र दुवैले भारतसंग आग्रह गरेका छन् । सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालमा लगानीको वातावरण सहज बनाउन आफू सँधै तयार रहेको बताए ।

कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्य सहकार्यविना समृद्ध नहुने बताउदै उहाले त्यसका लागि वातावरण बनाउने बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भ्रमणका क्रममा भएको सम्झौताले विद्युत् आदान प्रदान र रेल सेवा संचालनमा सहयोग पुग्ने उनले बताए ।

कन्फिडरेसन अफ इन्डियन इन्डिष्ट्रिज (सिआईआई) ले आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकारले सबै आवश्यक नीतिगत सहजता प्रदान गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । सिआईआई भारतमा महासंघको साझेदार संस्था हो ।

कार्यक्रममा महासंघ अध्यक्ष शेखर गोल्छाले जलविद्युत, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताए ।

‘पछिल्ला बर्षहरुमा भारतीय लगानी घटिरहेको छ,’ अध्यक्ष गोल्छाले भने, ‘यसलाई बढाउन निजी क्षेत्रको के कस्तो सहयोग चाहिन्छ हामी गर्न तयार छौ । सहजीकरणका लागि महासंघमा विदेशी लगानी सहायता कक्षसमेत स्थापना भएको
छ ।’

उनले पर्यटन क्षेत्रमा सम्भावना बढदै गएको पनि बताए । ‘पहिले घुम्न आउनोस, त्यसपछि लगानी गर्नुहोस्, अनि आम्दानी पनि गर्नुहोस,’ उनले भने ।

अबको दुई बर्षमा अहिलेको पर्यटन पुर्वाधारले नपुग्ने र सरकारी नीतिका कारण यस क्षेत्रमा लगानी सहज भएको पनि उनको भनाइ थियो । नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीहरुले राम्रो मुनाफा आर्जन गरिरहेको पनि उनले जानकारी गराए ।

नेपाल भारतका लागि नवौ ठूलो निर्यात गन्तव्य भएको सन्दर्भ प्रस्तुत गर्दै अध्यक्ष गोल्छाले नेपालले पनि भारतमा निर्यात बढाउन खोजिरहेको बताए ।

‘नेपालको भारततर्पm र तेस्रो मुलुकको निर्यातमा भारतले सहजीकरण गरिदिनुपर्छ,’ उनले भने ।

उनले नाकामा पुर्वाधार सुधार र गैर भन्सार अवरोध हटाउनुपर्नेमा जोड दिए । कृषिजन्य उत्पादनको निर्यातका लागि समान गुणस्तरको ल्याब स्थापना गरि एक अर्काको देशमा मान्यता दिनुपर्ने बताए ।

कार्यक्रममा सिआईआईका अध्यक्ष टीभी नरेन्द्रनले नेपाल भारतीय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको र नेपालमा लगानी बढाउन सहजीकरण गर्ने बताए । सिआईआईको उर्जा संयन्त्र नेपालमा लगानी बढाउन सहकार्य गर्ने पनि उनले बताए । कृषिजन्य वस्तुको निर्यातमा गुणस्तरीय कायम गर्न पनि भारतले सहयोग गर्न सक्ने उनले बताए ।

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष भवानी राणाले नेपाल भारतबीचको संयुक्त व्यवसायिक फोरमको बारेमा जानकारी गराएका थिए । दुई देशका उद्यमी व्यवसायीको फोरमको नेतृत्व निवर्तमान अध्यक्ष राणाले गर्छिन् । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत शुसिल भट्टले लगानीका लागि भइरहेको प्रयासबारे जानकारी गराए ।

कार्यक्रममा करिब ३० वटा भारतीय वहुराष्ट्रिय कम्पनीको सहभागिता थियो । करिब १५ कम्पनीका प्रमुख कार्यकारी अधिकृतले नेपालमा लगानीको सम्भावना बारे चासो र अनुभव आदान प्रदान गरेका थिए ।

यसअघि, महासंघ र सिआईआईका पदाधिकारीहरु बीच द्धिपक्षीय छलफल भएको थियो । जसमा दुई संस्थाबीचको सहकार्य विस्तार, संयुक्त परियोजनाको कार्यान्वयन, नेपाल भारत लगानी एवं व्यापार सहजीकरणका बिषयमा छलफल भएको थियो । छलफलमा प्रतिनिधिमण्डलको नेतृत्व महासंघका अध्यक्ष गोल्छा र सिआईआई प्रतिनिधिमण्डलको नेतृत्व अध्यक्ष नरेन्द्रमले गरेका थिए ।

सिआईआई अध्यक्ष नरेन्द्रमले नेपालमा लगानी सम्मेलन आयोजना गर्न र भारतका विभिन्न शहरहरुमा रोड सो आयोजना गर्न सहकार्य गर्ने बताए । सिआईआईका महानिर्देशक चन्द्रजीत वनर्जीले महासंघ सचिवालयको क्षमता बिकासमा पनि सहकार्य गर्न सकिने बताए ।

छलफलमा अध्यक्ष गोल्छासहित निवर्तमान अध्यक्ष भवानी राणा, पुर्वअध्यक्ष एवं विशिष्ठ सदस्य पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरु अन्जन श्रेष्ठ, रामचन्द्र संघाई तथा कार्यसमिति सदस्यहरु हेमराज ढकाल, भरतराज आचार्य, बिजय वैद्य, आनन्द वगारिया, प्रकाश सिंह कार्की, अम्बिका पौडेल, जम्शेर अलि मियाको सहभागिता थियो । छलफलमा निवर्तमान अध्यक्ष राणा, बरिष्ठ उपाध्यक्ष ढकालले आ आप्mनो धारणा समेत राखेका थिए ।


क्लिकमान्डु