धितोपत्र बोर्डप्रति गुमेको विश्वास फर्काउन रमेश हमाललाई चुनौती
काठमाडौं । नेपाल धितोपत्र बोर्डले करिब ६ महिनापछि नेतृत्व पाएको छ । सरकारले बोर्डको अध्यक्षमा रमेश हमाललाई नियुक्त गरेको छ । धितोपत्र बोर्डमा अध्यक्षको कार्यकाल ४ वर्षको हुने गर्दछ । तर हमालले करिब २ वर्ष मात्रै काम गर्न पाउने छन् ।
बोर्डका निवर्तमान अध्यक्ष भीष्म ढुङ्गाना करिब १ वर्षमै सर्वोत्तम सिमेन्टको सेयर छोरीका नाममा खरिद गरेपछि विवादमा मुछिएपछि सरकारले बर्खास्त गरेपछिको रिक्त पदमा हमाल नियुक्त भएका हुन् ।
बोर्डमा हमाल निकै संवेदनशील समयमा अध्यक्ष भएका छन् । उनका अगाडि निकै चुनौती पनि छन् । हमालले चुनौतीको पहाडलाई चिर्दै अघिबढ्नुका साथै लगानीकर्ताको हितमा काम गर्ने प्रतिबद्धता त जनाएका छन् । तर, त्यो त्यति सजिलो भने छैन ।
धितोपत्र बोर्डले साढे ४ सयभन्दा बढी निकायको नियमन गर्ने गरेको छ । नियामक निकायमा सबैभन्दा धेरै कम्पनीको नियमन गर्ने क्षेत्र हो धितोपत्र बोर्ड । पुँजी बजारमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ४९ लाख ५१ हजार ६८१ जना लगानीकर्ता जोडिएका छन् । उनीहरूको हितमा काम गर्न आवश्यक छ ।
सानाभन्दा पनि साना विषयमा निकै संवेदनशील भएर काम गर्न आवश्यक छ । धितोपत्र बोर्डमा अध्यक्ष ल्याउनका लागि सरकारको भन्दा चासो निजी क्षेत्रको हुने गर्दछ । यसको लागि विभिन्न व्यापारिक समूह पनि निकै जोडतोडका साथ नलागेका होइनन् ।
अहिले निजी क्षेत्रको स्टक एक्सचेन्ज ल्याउन, बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने वा नदिने तथा ब्रोकरलाई नै शाखा विस्तार गर्न दिने, कमोडिटी बजारलाई वैधानिक रूपमा सञ्चालन गर्ने दिने विषय निकै पेचिलो रहेको सेयर बजारका जानकारहरूको तर्क छ ।
नियामक निकायमा काम गर्ने व्यक्तिले विभिन्न खाले स्वार्थलाई बाहिरै राखेर सेबोनमा जानु पर्ने सुझाव राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालको रहेको छ ।
बोर्डमा पुगेपछि स्वार्थ बाँझिने काम भने गर्न हुँदैन । इमानदार भएर, स्वार्थ नबाझिने गरी, उच्च नैतिकताका साथ काम गर्नुपर्ने डा. नेपालको भनाइ छ । ऐन, कानुनका साथै नैतिक रूपमा पनि काम गर्न आवश्यक देखिन्छ । देशको अर्थ व्यवस्थालाई पनि बुझेको व्यक्ति धितोपत्र बोर्डमा चाहिन्छ ।
‘धितोपत्र बोर्डको अध्यक्ष भनेको सरकारको सल्लाहकार पनि हो । धितोपत्र सरकारलाई पुँजी बजार सम्बन्धी सुझाव दिने निकायमा हो’ डा. नेपालले भने ‘यति संवेदनशील निकायले आफ्नो महत्त्व बुझेर राज्यको अपेक्षा, लगानीकर्ताको चाहना अनुसार काम गर्नुपर्ने छ ।
बोर्डको अध्यक्षले पुँजी बजारको विकास र बिस्तार गर्नु आजको आवश्यक छ । सेयर लगानीकर्ताहरूले पनि आफ्नो माग सम्बोधन गर्न सक्ने, सेयर बजारलाई अनावश्यक रूपमा सङ्कुचन नलगाउने व्यक्ति खोजिरहेका थिए ।
लगानीकर्ताले अझै पनि पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नरको संयोजकत्वमा बनाएको समितिले पुँजी बजारमा तत्कालीन, अल्पकालीन र दीर्घकालीनरुपमा गर्नुपर्ने काम भनेर ५२ वटा बुँदामा समेटेकोमा पुरा गर्न बाँकी रहेका बुँदा कार्यान्वयन गराउने नेतृत्व खोजिरहेको थियो ।
त्यसमा अझै पनि करिब १ दर्जन काम हुन सकेको छैन । त्यो काम पूरा हुने हो भने पुँजी बजार बिस्तार हुने लगानीकर्ताका सङ्घ संस्थाहरूले पटक पटक भन्दै आएका छन् । नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बजारमा देखिएका ९९ प्रतिशत समस्या समाधान गर्ने हो भने ५२ बुँदा मध्ये बाँकी रहेको काम गर्नुपर्ने बताउँछिन् ।
सेयर लगानीकर्ताले लामो समयदेखि ब्रोकर कमिसन घटाउन र समय सापेक्ष बनाउन माग गर्दै आएका छन् । मार्जिन ल्यान्डिङ अझै कार्यान्वयनमा आएको छैन ।
सेयर बजारमा कर्नरिङ हुँदा, साइन्स ट्रेडिङ हुँदा पनि नियामक निकायले धेरै चासो दिएको छैन । त्यस्ता विषयमा अहिलेको अध्यक्षले चासो दिन सकेको खण्डमा बजारको विकास असम्भव नहोला । सेयर बजारमा गैर आवासीय नेपालीलाई प्रवेश गराउने नयाँ विषय होइन । त्यसको लागि अहिलेसम्म कुनै पनि ठोस काम हुन सकेको छैन । अहिलेका अध्यक्ष गैर आवासीय नेपाली सङ्घ थाइल्यान्डका पूर्व अध्यक्ष हुन् । उनले चैँ नेपाली सेयर बजारमा गैर आवासीय नेपालीलाई प्रवेश गराउलान् की भन्ने अपेक्षामा लगानीकर्ता रहेका छन् । जसले गर्दा नेपालको पुँजी बजारलाई अर्थतन्त्रको ऐना भनेर ढुक्कका साथ भन्न सकिएला की भन्ने अपेक्षामा लगानीकर्ता रहेका छन् । सेयर बजारको लागि मुख्य काम भनेको प्रविधिमैत्री बनाउनु नै हो । अहिले पुँजी बजार पूर्ण रूपमा प्रविधि मैत्री छैन, धितोपत्र बोर्डले गर्ने अनुगमन तथा नियमनमा पनि विभिन्न प्रश्न उठ्ने गरेको छ ।
अहिले बुक बिल्डिङ सबैको चासोको विषय बनेको छ । यी मात्रै नभएर यस्ता धेरै काम गर्नुपर्ने चुनौती नवनियुक्त अध्यक्ष हमालको काँधमा आइपुगेको छ ।
प्राथमिक निष्कासन गर्ने कम्पनीले सामूहिक लगानी कोष (म्युच्युअल फण्ड)लाई अनिवार्यरुपमा छुट्याउनु पर्ने र खुलामुनि म्युच्युअल फण्ड निष्कासन र प्रवर्द्धनमा जोड दिनु पर्ने विषय पनि निकै चर्चामा छ । १० कित्ता बाँडफाँट नीतिलाई धितोपत्र ऐनमा नै व्यवस्था गर्नुपर्ने सबैमा माग छ ।
दोस्रो बजारमा कम्पनीका सञ्चालक, संस्थापक तथा आधारभूत सेयरधनीको सेयर कारोबारलाई बढीभन्दा बढी पारदर्शी बनाइनुपर्ने सबैको माग छ । इन्ट्रा डे कारोबारलाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउने र आज बेचेको सेयरको पैसाले पुनः सोही कम्पनीको वा अन्य कम्पनीको सेयर किन्न पाउनुपर्ने लगानीकर्ताको माग छ । यी लगायतका काम अब कसरी अघि बढाउने हुन, लगानीकर्ता त्यसैको प्रतीक्षामा रहेका छन् ।