यी हुन् सीएनआईले छानेका सम्भावनायुक्त ५ उद्योग, जसमा छ निर्यातको उच्च संभावना



काठमाडौं । सरकारले सम्भावना बोकेका उद्योगको पहिचान गरेर प्रवर्द्धन गर्न नसकेको अवस्थामा निजी क्षेत्रको संस्थाले मुख्य पाँच उद्योगलाई सम्भावना बोकेको उद्योगका रुपमा छनोट गरेको छ ।नेपाल उद्योग परिसंघ (सीएनआई)ले मुलुकमा उत्पादन र निर्यातको सम्भावना रहेका भन्दै

सम्भावित पाँच उद्योग छनोट गरेको हो । परिसंघले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा गरेको अध्ययनबाट ‘द इन्ड्रस्ट्रि स्ट्याटस रिपोर्ट’ (सेकेन्ड एडिसन) सार्वजनिक गर्दै पाँच उद्योगहरु छनोट गरेको हो ।

सीएनआइले ६२ वटा उद्योगहरुमा गरेको सर्भेको आधारमा ती उद्योगहरु छनोट गरेको जनाएको छ । यी उद्योग तथा व्यवसायीलाई प्रश्नावलीका आधारमा विभिन्न प्रश्नहरु सोधेर अध्ययन गरिएको थियो । यस अध्ययनले जुत्ताचप्पल उद्योग, गार्मेन्ट र टेक्सटाइल उद्योग, औषधि उद्योग, प्लाष्टिक उद्योग र पावर ट्रान्सफरमर उद्योग रहेका छन् ।

अहिले मुलुकको प्राथमिकता आयात प्रतिस्थापन भएकाले आत्मनिर्भर हुन सक्ने पाँचवटा औद्योगिक क्षेत्र पहिचान गरेर यो अध्यनन गरिएको नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले बताए ।


कुनै उद्योगभन्दा पनि निश्चित क्षेत्र समेटेर यो अध्ययन गरिएको उनको भनाइ छ ।


‘निर्यातको सम्भावना बोकेका औद्योगिक क्षेत्र पहिचान गरेर यो अध्ययन गरिएको हो,’ ढकालले क्लिकमाण्डूसँग भने, ‘यी औद्योगिक क्षत्र आत्मनिर्भर हुने सम्भावना देखिन्छ ।’


साथै, आन्तरिक माग बढाउन सक्ने, औद्योगिक रोजगारी सिर्जना गर्न सक्ने, सरकारका लागि दीगो राजश्वको स्रोत हुनसक्ने सम्भावित औद्योगिक क्षेत्रका रुपमा यी पाँच क्षेत्रलाई पहिचान गरिएको उनको भनाइ छ ।

जुत्ताचप्पल उद्योग
जुत्ताचप्पल उत्पादनमा नेपाल आत्मनिर्भरतर्फ उन्मुख छ । नेपाली ब्रान्ड स्वदेशमा मात्र होइन विदेशमा पनि लोकप्रिय छन् । कतिपय नेपाली उद्योगले विदेशमा पनि जुत्ताचप्पल निर्यात गरिरहेका छन् ।

नेपाली जुत्ताचप्पल उद्योगले वार्षिक ५ करोड ६५ लाख जोर जुत्ताचप्पल उत्पादन गर्छन् । जसबाट कुल बजार मागको ६३ प्रतिशत पूरा गरेको फुटवेयर म्यानिफेक्चर एसोसियसन नेपाल (एफएमएएन) ले जनाएको छ ।

उद्योग विभागको विवरणअनुसार नेपालमा ६ वटा ठूला, १५ वटा मध्यम र ३०० वटा साना जुत्ताचप्पल उद्योग छन् । त्यस्तै १२०० साना स्तरका र २०० वटा फेल्ट एण्ड हेन्डमेड उद्योग छन् ।

नेपालमा गुणस्तरीय जुत्ताचप्पल उत्पादन भइरहेको भए पनि अवैधानिक आयात र खुला बोर्डर चूनौतीका रुपमा रहेको सीएनआईको अध्ययनले दखाएको छ । नेपालमै प्रयोग हुने सक्ने अर्ध प्रोसेस छाला विदेश निर्यात भइरहेको छ जसले गर्दा नेपालमै अभाव भइरहेको छ । यसले गर्दा नेपालको छाला निर्यात हुने र उच्च मूल्य तिरेर आयात गर्नुपर्ने अवस्था छ ।

त्यस्तै, दक्ष जनशक्तिको अभाव र सामाजिक चलनका कारण यस उद्योगमा काम गर्न आउने कामदारको अभाव रहेको उल्लेख गरिएको छ । जुत्ताचप्पल बनाउन ४० देखि ५० वटा कच्चा पदार्थ आवश्यक पर्छ जसमध्ये ४० विदेशबाट आयात गर्नुपर्ने अवस्था छ ।

गार्मेन्ट र टेक्सटाइल उद्योग
यो नेपालको औद्योगिक क्षेत्रमा निर्यात हुने पहिलो उद्योगमा पर्छ– गार्मेन्ट र टेक्सटाइल ।

सन् १९९० को दशकमा कुल निर्यातका २७ प्रतिशत हिस्सा गार्मेन्टको थियो । जब कि टेक्सटाइलले उत्पादनमूलक उद्योगमा ४३.८ प्रतिशत योगदान गर्थ्यो ।

विभिन्न कारणले यसको निर्यात बिस्तारै घट्दै गयो । अहिले पनि मुलुकमा यसको उच्च माग छ । बंगलदेशको एक संस्थाले गरेको अध्ययनले नेपालमा १ अर्ब डलरभन्दा धेरैको गार्मेन्ट निर्यात गर्न सक्ने र १ लाखलाई रोजगारी दिनसक्ने क्षमता रहेको देखाएको थियो । नेपालमा चीन, भारत बंगलादेश, भेतनामजस्ता देशमा ठूलोमात्रामा गार्मेन्ट निर्यात गर्न सक्छ ।

नेपालमा हाल १ हजार ९ सय ३२ टेक्सटाइल र ३६ हजार १ सय ३ गार्मेन्ट उद्योग स्थापना भएका छन् । टेक्सटाइलमा २६ हजार ७ सय ६४ र गार्मेन्टमा ७६ हजार २ सय २३ जनाले रोजगारी पाएका छन् ।

उच्च लागत मूल्य, विदेशी टेक्सटाइलसँग प्रतिस्पर्धा गर्न नसक्नु यस उद्योगका मुख्य चुनौति हुन् । अवैध बाटो ठूलोमात्रामा टेक्सटाइल भित्रिनुपनि ठूलो समस्याको रुपमा रहेको छ । एक अध्ययनअनुसार ८० प्रतिशत त्यस्ता तयारी पोषाक अवैध बाटोबाट आयात भइरहेका छन् ।
दक्ष जनशक्तिअको अभाव पनि चूनौतीको विषय बनेको छ ।

औषधि उद्योग
नेपालमा सन् २०१७ सम्म दर्ता भएका औषधि उद्योगको संख्या ५० मात्र थियो तर अहिले यो संख्या १०९ पुगिसकेको छ । पछिल्लो तीन वर्षमा मुलुकमा धेरै औषधि उद्योग स्थापना भएका छन् ।

दर्ता भएका यी उद्योगमध्ये ६६ वटा औषधि उद्योग संचालनमा छन् । जसले २० हजारलाई प्रत्यक्ष रोजगारी दिएका छन् । यी उद्योगले वार्षिक २ अर्ब ६ करोड ट्यावलेट उत्पादन गरिरहेका छन् । यी उद्योगहरु कुल क्षमताको ५५ प्रतिशतमात्र उत्पादन गरिरहेको रिपोर्टमा उल्लेख छ ।

नेपाल औषधि उत्पादन संघ (अएप्पोन) का अनुसार नेपालमा ५५ प्रकारका औषधि उत्पादन भइरहेका छन् ।

मुलुकको वार्षिक माग ५३.६६ मेट्रिक टन छ । जसको औषत मूल्य ५३ अर्ब रुपैयाँ हुनआउँछ । नेपालमा वार्षिक २८ अर्ब ६५ करोड रुपैया बराबरको आयात भइरहेको छ । यो कुल मागको ५४.५ प्रतिशत हो । स्वदेशी उत्पादनको वितरण २४ अर्ब रुपैयाँ बराबरको छ । जुन कुल बजार मागको ४५.५ प्रतिशत हो ।

नेपालमा उत्पादन हुने औषधि पनि विदेशबाट कम गुणस्तरका आयात हुनु अहिलेको मुख्य समस्याको रुपमा रहेको अध्ययनले देखाएको छ ।

प्लाष्टिक उद्योग
प्लाष्टिक उद्योग नेपालमा अर्को ठूलो सम्भावना बोकेको उद्योग हो । प्लाष्टिक धेरै उद्योगको लागि आवश्यक वस्तु हो । यो उद्योग पछिल्लो पाँच वर्षमा दोहोरो अंकमा वार्षिक १० प्रतिशतले वृद्धि भइरहेको छ । यस उद्योगको बिस्तार र वृद्धिका लागि भने नेपाल सरकारको पूर्ण सहयोग आवश्यक हुने प्लाष्ट नेपाल फाउन्डेसनको भनाइ छ ।

नेपालमा औपचारिकरुपमा ४०० प्लाष्टिक उद्योगहरु छन् भने अनौपचारिकरुपमा ३ सयदेखि ३५० सम्म रहेको अध्ययनमा उल्लेख छ । यस उद्योगमा ५० हजारभन्दा धेरै रोजगारी रहेका छन् ।

दक्षिण एसियाली राष्ट्रहरुमा प्लाष्टिक उद्योगका कच्चा पदार्थको आयातमा ५ देखि ७.५ प्रतिशतसम्म भन्सार दर लाग्ने गरेकोमा नेपालमा १० प्रतिशत लाग्छ । यसलाई ५ प्रतिशतमा झार्न सकेमा नेपालको प्लाष्टिक उद्योग फस्टाउने व्यवसायीको भनाइ छ ।

नेपालमा प्लाष्टिक व्यवस्थापन नहुनु र जथाभावी फाल्नु यस उद्योगको लागि समस्याको रुपमा रहेको अध्ययन रिपोर्टमा उल्लेख गरिएको छ ।

पावर ट्रान्सफर्मर
विश्वबजारमा पावर ट्रान्सफर्मरको माग उच्च छ । नेपालमा पनि भर्खर बिजुलीको आपूर्ति राम्रो भइरहेको बेला यसको माग बढ्दो छ । विजुलीको उच्च माग, स्मार्ट ट्रान्सफर्मरको प्रयोगलगायतका कारणले पावर ट्रान्सफरमरको माग उच्च भइरहेको छ ।

नेपालमा अर्को १० वर्षमा १० देखि १५ गिगावटा विद्युत् उत्पादन हुने सम्भावना देखिएको छ । यसले गर्दा मुलुकमा ठूलो मात्रामा विद्युतको पूर्वाधार बनाउनु पर्नेछ ।

सरकारले प्रत्येक घरघरमा विद्युतको खपत बढाउन विभिन्न उपाय अपनाइरहेको बेला त्यो मागलाई धान्न पनि पावर ट्रान्सफर्मरको आवश्यकता पर्नेछ । यसका लागि नेपालमा पावर ट्रान्सफर्मरको माग अझ बढ्नेछ ।

नेपालमा नेपाल एकरात इन्जिनियरिङ कम्पनी, ट्रान्सवेल्ड नेपाल, एबीसी ट्रान्सफर, इन्स्टर्न ट्रान्सफर्मर इन्ड्रष्ट्रिज र सिउ ट्रान्सफर्मर्सले पावर ट्रान्सफर्मर उत्पादन गरिरहेका छन् ।


क्लिकमान्डु