डाटामा व्यावसायिक सम्भावना खोज्दा मनिषले जन्माएको ‘फ्याक्टस नेपाल’
काठमाडौं । डाटा अर्थात् तथ्यांक । तथ्यांक आँकडा मात्रै होइन । यो विश्वास पनि हो । कुनै विषयमा पुष्टि गर्ने आधार पनि हो ।
व्यवसायलगायत हरेक पक्षको विश्वस्नीयताको आधार हो । तथ्यांक त्यति मात्रै सीमित छैन, संगठनको योजना तर्जुमादेखि कार्यान्वयन र त्यसको मूल्यांकन गर्ने औजार पनि हो । बृहत् रुपमा भन्दा तथ्यांक विकासको मानक हो । समृद्धिको सूचक पनि हो । डाटालाई विश्लेषण गर्न कुनै एउटा आयामले पुग्दैन । यो बहुआयामिक छ र यसको विश्लेषण पनि सोहीअनुसार नै गर्नुपर्ने हुन्छ ।
र, डाटा आफैमा उद्यमको माध्यम पनि हो ।
यही डाटाभित्रको सम्भावना खोज्दै सन् २०१३ मा मनिष झाले ‘फ्याक्टस नेपाल’ नामक कम्पनी स्थापना गरे । ८ वर्ष अवधिमा करिब १० लाख तथ्यांक झाको कम्पनीले केलाइसकेको छ ।
संकलन र प्रशोधनबाट यथार्थ जानकारी पस्किएको छ । समग्रमा डाटा कल्चरको शुरुवात गर्नेदेखि यसभित्रैबाट हुन सक्ने व्यवसायिक संस्कार पनि विकास गरिरहेको छ ।
झाका शब्दमा नेपालमा डाटा व्यवसायलाई रकममा भन्दा १० अंकको आँकडा अर्थात् १ अर्बभन्दा बढीको बजार भइसकेको छ ।
त्यसो त कम्पनीका प्रमुख कार्यकारी अधिकृत झाले सन् २०१२ मै तथ्यांकभित्रको व्यवसायिक सम्भावना र आँकडालाई औलाइसकेका थिए ।
क्लिकमाण्डूसँग कुरा गर्दै झाले भने, ‘हामीलाई शुरुवाती दिनमा डाटाको महत्व बुझाउनै हम्मे हम्मे पर्यो, आजसम्म डाटाबिनै व्यवसाय चल्यो अब किन चाहियो भन्दै प्रश्न गर्ने पनि भए ।
तर अहिले डाटाको महत्व बुझ्न थालिएको छ । हामीसँग काम गरौं भन्दै आउनेहरुको संख्या बाक्लो हुँदै गएको छ ।’
उसो त बहुराष्ट्रिय कम्पनीका लागि प्रडक्ट ल्याउने कि नल्याउने भन्ने निर्णय तथ्यांककै आधारमा गर्ने चलन थियो । तर निकै कम मात्रै नेपाली कम्पनीमा डाटा कल्चरको बानी बसेको थियो ।
८ वर्षको अवधिमा झाको कम्पनी फ्याक्ट नेपालले १०९ वटा कम्पनीसँगको सहकार्यमा १४५ वटा प्रोजेक्टमा काम गरिसकेको छ । जसमा एउटै प्रोजेक्टमा ६० हजार तथ्यांक संकलन र प्रशोधन गर्दै निचोड निकाल्ने काम पनि छ ।
‘हामीले निर्वाचनका क्रममा ५४ वटा जिल्लामा डाटाको काम गर्यौं, औषतमा एउटा जिल्लामा १ हजार तथ्यांक मान्ने हो भने त्यो बेलामै ५४ हजार तथ्यांकको काम गरिसकेका थियौं । अहिले कम्पनीले ६० हजार आउटलेटमा रिचर्स जारी छ,’ उनले भने ।
जनकपुरमा जन्मिएका उनी बीबीए अध्ययनका लागि काठमाडौं आएपछिका व्यवसायिक जीवनमा अमेरिका, जर्मनी र जापानसम्म पुगेर अध्ययन गरेका छन् । ज्ञानको दायरा अझ फराकिलो बनाएका छन् ।
झाको कम्पनीले मुख्यगरी ३ वटा पक्षमा काम गर्दै आएको छ ।
पहिलो रिटेल अडिट सर्भेको काम गरिन्छ । यसमा एफएमसीजी प्रडक्टबारे माइक्रो लेभलमा गएर विश्लेषण गरिन्छ । त्यसमा पनि पिरियोडिक रिपोर्ट र सिन्डिकेटेड रिपोर्ट वार्षिक वा चौमासिक रुपमा तयार पारिन्छ ।
साथै, दोस्रोमा कस्टमाइज रिपोर्ट तयार पारिन्छ । जसमा कुनै संगठनका लागि तयार पारिने रिपोर्टमा संगठनको आवश्यकता अनुसार रिसर्च डिजाइन गरिन्छ । यसमा कसैले होटल खोलन लागेको छ भने होटल चल्छ कि चल्दैन बजार कस्तो छ ? ग्राहक कस्ता छन् लगायतका विषय समेटिन्छन् ।
त्यसबाहेकको तेस्रो डाटा डिसिमिनेसको पक्ष छ । जस्तै हाल कम्पनीले नेपाल उद्योग वाणिज्य महासंघ र मोरङ उद्योग संघ जस्ता संस्थासँगको सहकार्यमा मासिक नेपाल रुपमा डाटा डिसिमिनेसन गरिरहेको छ ।
झा नेपालमा डाटा कल्चरको विकास नै हुन अझै बाँकी भएकाले अझै पनि सम्भावना रहेको बताउँछन् ।
उसो त नेपालमा तथ्यांक संकलन र प्रशोधनका लागि केन्द्रीय तथ्यांक नभएको होइन । तर न्यून कर्मचारीको संख्या, दक्षता र प्रविधिको कमीका कारण तथ्यांक संकलन प्रशोधनमा अपेक्षाकृत विकास हुन नसकेको झाको बुझाइ छ ।
‘चीनमा सरकारी स्तरमा तथ्यांकमा मात्रै काम गर्ने कर्मचारीको संख्या ८० लाख छ । उनीहरु प्रविधिको अधिकतम प्रयोग गरिरहेका छन् । तर हामीकहाँ जनगणना गर्दा पनि काठमाडौं उपत्यकामा मात्रै प्रविधि प्रयोग गर्न सकिएको अवस्था छ,’ झाले भने ।
झाका अनुसार नेपालमा डाटा साइन्स पढ्ने जनशक्तिको पनि अभाव छ । विश्वविद्यालयमा अहिले बिस्तारै अध्यापन गराउन थालेका छन् भने हामी आफै पनि रिचर्समा पायोरियन संस्था भएकाले यसमा योजना बनाइरहेको उनले बताए ।
आजका दिनमा १ अर्ब रुपैयाँको कारोबार हुने डाटा र रिसर्चको व्यवसायमध्ये ६० प्रतिशत काम विदेशी संस्थाबाट हुँदै आएको छ । त्यसबाहेकको बाँकी ४० प्रतिशतमध्ये नेपाली कम्पनीहरुले गर्दै आएका छन् । जसमा फ्याक्ट नेपालले १५ प्रतिशतको काम गरिरहेको छ । त्यसो त फ्याक्ट नेपालले विदेशी कम्पनीसँग पनि सहकार्य गरेर काम गरिरहेको अवस्था भएको झाको भनाइ छ ।
साथै अझै पनि सरकारी स्तरमा तथ्यांक संकलन गरी योजना तर्जुमा गर्ने संस्कारको विकास अझै भइसकेको अवस्था नभएको झाको तर्क छ । हाल नेपालमा निजी क्षेत्रका कम्पनी र सरकारी कम्पनीलाई तथ्यांकमा हेर्दा ७० र ३० प्रतिशत देखिन्छ ।