निषेधाज्ञा खुकुलो भएसँगै मालपोत कार्यालयमा बढ्यो भिड



काठमाडौं । निषेधाज्ञा खुकुलो भएसँगै देशभरका मालपोत कार्यालयमा सेवाग्राहीको भिड बढेको छ । निषेधाज्ञाको समयमा देशभरका मालापोत कार्यालयले सेवा प्रवाह बन्द भएका थिए ।

तर सरकारले काठमाडौं उपत्यकाको हकमा निषेधाज्ञा खुकुलो बनाएसँगै राजधानीका मालपोत कार्यालयमा सेवाग्राहीको भिड बढेको हो ।

हाल देशभरका मालपोत कार्यालयले बार अनुसारको वडाका व्यक्तिहरूलाई सेवा प्रवाह गर्दै आएका छन् । मालपोत कार्यलयहरूले कोरोना भाइरसको जोखिम कायमै भएकाले बार अनुसार सेवा प्रवाह भइरहेको विभागले जनाएको छ ।

बिहीबार वडा नम्बर ९ को पालोमा जग्गा रोक्का गर्न आएकी सुधा लक्ष्मी श्रेष्ठले बार अनुसार सेवा प्रदान गर्न थालेका सहज भएको बताइन् ।

उनी जग्गा रोक्का गर्न आएकी थिइन् ।

‘विगतको तुलनामा अहिले सेवा प्रवाह सहज भएको छ । निषेधाज्ञा अघिसम्म आफ्नो कामका लागि लाइन बस्नुपर्ने अवस्था थियो भने अहिले वडा अनुसार सेवा प्रवाह हुँदा सहज भएको छ,’ उनले भनिन् ।

त्यसैगरी, वडा नम्बर २५ निवासी राजन देउजाले निषेधाज्ञाका कारण कार्यालय बन्द हुँदा जग्गा फुकुवाको काम रोकिएको उनले बताए ।

‘जग्गाको सबै काम सकाएको थिएँ, मालपोतको काम फुकुवा गर्न मात्रै बाँकी थियो । अहिले निषेधाज्ञा खुकुलो भएपछि फुकुवा गर्न आएको हुँ,’ उनले भने ।

तर, सरकारले गत ८ गतेदेखि मालपोत कार्यालयमा स्वास्थ्य मापदण्डसहित सेवा प्रवाह हुने भने पनि कुनै मापदण्ड अपनाएको देखिँदैन । कार्यालयमा मानिसहरू सेवा लिनका लागि कार्यालय बाहिर भिड देखिन्छन् । यसले गर्दा कोरोना संक्रमणको उच्च जोखिम रहेको कार्यालयका कर्मचारी बताउँछन् ।

अहिले मालपोत कार्यालय डिल्लीबजारले हप्तामा दुई दिन तोकिएको वडा कार्यालयलाई सेवा प्रवाह गर्दै आएका छन् । जसमा दुई दिनको अवधिमा पनि आफ्नो काम नसकिएको अवस्थामा पुनः अर्को दिन पनि सेवा प्रवाह गरिरहेको मालपोत कार्यालयका प्रमुख टुनाबहादुर श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार गत ८ गतेदेखि नै कार्यालयमा भीड बढ्न थालेको र सेवा प्रवाह सहजै भइरहेको बताए । तर, स्वास्थ्य मापदण्डमा भने मालपोत कार्यालयले जति नै भने पनि उक्त मापदण्ड लागू नभएको उनको भनाइ छ ।

लामो समयसम्म मालपोत कार्यालयले बार अनुसार वडाको मानिसलाई सेवा प्रवाह गर्दा पनि अत्यधिक चाप भएको उनको भनाइ छ । सामान्य अवस्थामा दैनिक ५ सयको हाराहारीमा उपस्थित हुने मालपोत कार्यालयमा अहिले बार अनुसार सेवा प्रवाह गर्दा पनि मानिसको भिड बढ्न थलेको उनले बताए ।

उनका अनुसार अहिले दैनिक डेढ सयभन्दा व्यक्तिलाई सेवा प्रवाह गरिरहेको उनको भनाइ छ । जसमा मालपोत कार्यालयले रोक्का, फुकुवा, लिखित पारितजस्ता कार्यहरू भइरहेको मालपोत कार्यालयले जनाएको छ । जसमा दैनिक २५ भन्दा बढी रोक्का र २० भन्दा बढी फुकुवा हुन थालेको उनको भनाइ छ ।

त्यस्तै, कोरोनापश्चात कलंकीको मालपोत कार्यालयमा अत्यधिक भीड हुन थालेको मालपोत कार्यालयले जनाएको छ । उक्त मालपोत कार्यालयमा दैनिक ५० भन्दा बढी रोक्का र ३० भन्दा बढी फुकुवा हुने गरेको कार्यालले जनाएको छ । साथै, देनिक १ सय ५० भन्दा बढीलाई सेवा प्रवाह भइरहेको कार्यालयका प्रमुख टेकराज अर्यालले बताए ।


क्लिकमान्डु