सबै वडा कार्यालय, सामूदायिक विद्यालय र स्वास्थ्य केन्द्रमा इन्टरनेट पुर्याउने प्रम ओलीको घोषणा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै स्थानीय तहका वडा कार्यालय, सामूदायिक विद्यालय र स्वास्थ्य केन्द्रसम्म इन्टरनेट सुविधा पुर्याइने बताएका छन ।
आइतबार सूचना प्रविधि दिवसका अवसरमा आयोजित भर्चुअल कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले डिजिटल नेपालको अवधारणाअनुसार ती स्थानहरुमा पूर्वाधार निर्माणका लागि इन्टरनेट पहुँच पुर्याउने बताएका हुन्।
सूचना तथा प्रविधि दिवसको अवसरमा सरकारी सेवालाई बढी प्रभावकारी बनाउन विभिन्न नयाँ कार्यक्रमहरुको घोषणा पनि प्रधानमन्त्री ओलीले गरेका छन् ।
स्थानीय तहको सेवालाई नागरिक एपमा आवद्ध गर्ने, डाटा सेन्टर र इन्टरनेट एक्सिस सेन्टर स्थापना गर्ने, अनलाईन बैंक खाता खोल्ने तथा केवाइसी भर्ने र सवारी साधनको कर अनलाइनबाट तिर्नेलगायतका सेवाहरुको शुरुवात गरिएको हो ।
त्यस्तै आगामी वर्षभित्रै नेपाल टेलिकममार्फत् फाइभजी परीक्षणको काम अगाडि बढाउने र टेलिकमले डिजिटल पेमेन्ट एप परीक्षणमा ल्याउने तयारी रहेको उनको भनाइ छ ।
सातवटै प्रदेशमा डाटा सेन्टर निर्माण गर्ने लक्ष्यअनुरुप सिंहदरवार, ललितपुरको खुमलटार र बाँकेको कोहलपुरमा पनि डाटा सेन्टर निर्माणको काम शुरु भएको तथा सार्वजनिक स्थल तथा मठमन्दिरमा निःशुल्क वाईफाई सेवा राखिएको पनि प्रधानमन्त्री ओलीले बताए ।
ओलीले आइतबार घोषणा भएका कार्यक्रमहरुलाई दिगो र व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशनसमेत दिएका छन् ।