निषेधाज्ञामा यी स्थानबाट सरकारी कम्पनीले बेच्दैछ खाद्यान्न, अनलाइन अर्डर पनि गर्न सकिने



काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले निषेधाज्ञाको समयमा उपत्यकाका २ बिक्रीकक्ष दिनभर र ४ वटा बिक्रीकक्ष बिहान तथा बेलुका खुला गर्ने भएको छ ।

कम्पनीको थापाथली र ललितपुर नख्खुको बिक्री कक्ष दिनभरी खुला हुने नायव प्रबन्ध निर्देशक श्रीमणि खनालले जानकारी दिए ।

त्यस्तै रामशाहपथ (बग्गीखाना) र भक्तपुरको सूर्य विनायकस्थित बिक्रीकक्षहरु बिहान ७ बजेदेखि ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुला रहनेछन् ।

यी स्थानहरुमा बासमतीलगायत विभिन्न प्रकारका चामल, कर्णालीको सिमी, जुर्मी मार्सी चामल, खानेतेल, घ्यू, स्यानिटाइजरलगायत वस्तु उपभोक्ताले किन्न पाइनेछ ।

त्यस्तै उपत्यकासहित पोखरा र सुर्खेतमा अनलाइनबाटसमेत खाद्य सामग्री अर्डर गर्न सकिने खनालले जानकारी दिए । कम्पनीले ‘नेपाल फुड’ ब्रान्डमा बेच्दै खाएका खाद्य सामग्रीहरु अनलाइनमार्फत् उपलब्ध हुनेछन ।

गतवर्ष लकडाउनकै समयमा अनलाइन कारोबार शुरु गरेको खाद्य व्यवस्था कम्पनीले अहिले निजी क्षेत्रको ई–कमर्स कम्पनी सस्तोडिलसँग सहकार्य गरेरसमेत सामान बेचिरहेको छ ।


क्लिकमान्डु