कम तौलका स्टील/डण्डी बिक्री गर्ने बालाजुस्थित राजेश हार्डवेयरमा शिलबन्दी
काठमाडौं । काठमाडौंको बालाजुमा रहेको राजेश हार्डवयरले कम तौलका स्टील/डण्डी बिक्री गरेको पाइएको छ ।
वाणिज्य, आपूर्ति तथा संरक्षण विभागका अनुसार उपभोक्ताबाट आएको गुनासोको आधारमा गरिएको अनुगमनबाट राजेश हार्डवेयरले बिलमा उल्लेखित परिमाणभन्दा कम डण्डीलगायतका फलामजन्य सामग्री बिक्री गरेको पाइएको हो ।
सांवरमल अग्रवालको नाममा दर्ता रहेको उक्त राजेश हार्डवेयरमा गुनासोको आधारमा विभागबाट निरीक्षण गरिएकोमा प्रारम्भिक अध्ययनले कम तौलका डण्डी तथा स्टील बिक्री गरेको पाइएकाले नियन्त्रणमा लिएको विभागले जनाएको छ । साथै, उक्त हार्डवेयरमा शिलबन्दी गरि बिक्री वितरण रोक्का राखी थप छानविन गरेको विभागको भनाइ छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता सरक्षण विभाग र गुणस्तर तथा नापतौलको टोलीले शनिबार उक्त शाखामा पुगेपछि डण्डीजन्य सामग्री तौल गर्दा बिलअनुसार कम देखिएको संरक्षण विभागका प्रवक्ता शिवराम सेढाइले जानकारी दिए ।
उनका अनुसार उक्त डण्डी तथा फलामको तौल गर्दा १० देखि १५ प्रतिशतसम्म कम देखिएको हुनाले शिलबन्दी गरेको हो ।
साथै, शाखाका प्रमुख कमल शर्मा (भारतीय नागरिक) प्रहरी हिरासतमै रहेको सेढाइले जानकारी दिए ।