महासंघमा सर्वसम्मत नेतृत्व चयन गर्न शेखर गोल्छा सक्रिय, भने- सहमति हुनेमा विश्वस्त छु



काठमाडौं । ‘प्रजातान्त्रिक अभ्यासमा चुनावनै सर्वोत्तम तरीका हो तर अहिलेको विषम परिस्थितिमा उधौग वाणिज्य महासंघमा कुनै सहमती भएमा यो सम्पूर्ण निजी क्षेत्रको लागि सुखद हुने थियो, यो प्रयास जारी राखौं,’ नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बुधबार बिहान सबेरै सामाजिक सञ्जाल ट्वीटरमा लेखे ।

महासंघको आगामी कार्यकालका लागि बरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकाल र किशोर प्रधानले प्यानलसहित उम्मेद्धारी दर्ता गरेको भोलिपल्ट गोल्छाले यस्तो ट्वीट लेख्नुको विशेष अर्थ छ ।

विधानअनुसार गोल्छा आगामी मंसिर १३ गतेदेखि स्वत अध्यक्ष हुँदैछन् । भावी अध्यक्षले सर्बसम्मत नेतृत्व चयनको पहल लिनु अत्यन्तै सान्दर्भिक छ ।

तर दुबै पक्ष निर्वाचनमा होमिइसकेको अवस्थामा सर्वसम्मत नेतृत्व चयन संभव छ ? गोल्छा भन्छन्, ‘छ, सहमति हुन्छ भन्नेमा म विश्वस्त छु ।’

महासंघको निर्वाचनमा अध्यक्ष भवानी राणाले प्रधान र ढकाललाई राखेर सहमतिको प्रयास गर्ने

आफूले दुबै प्यानलका उम्मेद्धारहरुलाई सहमति गर्न सुझाउँदै आएको उनले जानकारी दिए । त्यतिमात्रै होइन, मंगलबार (हिँजो) पूर्वअध्यक्षहरुलाई फोन र म्यासेज गर्दै सहमति जुटाइदिन आग्रह गरे ।

यसअघिदेखि नै सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ भनेर पहल थालेका पूर्वअध्यक्षहरुलाई गोल्छाको यस्तो आग्रहले उत्साहित बनाएको छ ।

‘मेरो आग्रहले पूर्वअध्यक्षज्यूहरु पनि उत्साहित हुनुहुन्छ भन्ने मेरो बुझाइ हो,’ उनले भने ।

यो समय चुनावको उपयुक्त नभएको भन्ने आफूहरुको निष्कर्श रहेको पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले जानकारी दिए ।

‘हामी सर्वसहमतिको प्रयास गरिरहेका छौं, विश्वास गरौं सहमति जुट्छ,’ श्रेष्ठले भने ।

चुनावबाट नेतृत्व चयन गर्नु लोकतान्त्रिक प्रक्रिया भएपनि विद्यमान विषम परिस्थितिलाई मध्यनजर गर्दै सर्वसहमतिको कुरा गर्नु परेको गोल्छाको भनाइ छ ।

तपाईं त किशोर प्रधानको प्यानललाई खुलेर भोट माग्दै हिँड्नुभएको थियो ? अहिले आएर सर्वसम्मतको कुरा गर्न थाल्नुभयो नि किन ?

जवाफमा गोल्छाले भने, ‘चुनाव भएपछि भिडभाड भइहाल्छ, कोरोना व्यापक मात्रामा समुदायमा फैलिएको छ, यस्तो अवस्थामा भिडभाड गरेर जोखिम नबढाऔं भन्ने आग्रह हो ।’

गत चैत अन्तिममा हुनुपर्ने महासंघको ५४औं साधारणसभा कोरोना भाइरसका कारण सरेर आगामी मंसिर ११,१२ र १३ गते काठमाडौंमा हुँदैछ । मंसिर १३ गतेपछि आफू स्वत अध्यक्ष हुने भइसकेपछि गोल्छाले सर्वसहमतिमा पदाधिकारी छान्न सके आफूलाई काम गर्न सजिलो हुने ठानेर पनि सक्रियता बढाएको हुनसक्ने अनुमान गरिएको छ ।

यसैबीच महासंघ अध्यक्ष राणाले बरिष्ठ उपाध्यक्षका उम्मेद्वार प्रधान र ढकालबीच आफुले अन्तिम समयसम्म सहमतिको लागि प्रयास थालेकी छन् ।

‘महासंघको लागि दुवैजना चाहिने व्यक्ति हो, कोभिडको समयमा निर्वाचन नभएर सहमति भएमा राम्रो हुन्छ ,यसको लागि मैले पहल गर्ने छु,’ राणाले भनिन् ।


पुष्प दुलाल