महासंघको निर्वाचनमा अध्यक्ष भवानी राणाले प्रधान र ढकाललाई राखेर सहमतिको प्रयास गर्ने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले महासंघमा हुने निर्वाचनको लागि सहमतिको प्रयास थाल्ने बताएकी छन् । महासंघमा नयाँ नेतृत्वको लागि मंसिर १३ गते निर्वाचन हुन लागेको छ । महासंघको साधारणसभाबाट यो पटक बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा विधान अनुसार अध्यक्ष बन्ने छन् ।

बरिष्ठ उपाध्यक्ष पदका लागि अहिलेका जिल्ला नगर उपाध्यक्ष किशोर प्रधान र एशोसियट उपाध्यक्ष चन्द्र ढकालले उम्मेद्वारी दिएका छन् । दुई पक्षले प्यानल नै बनाएर निर्वाचन लड्न लागेका हुन् । उम्मेद्वारी समेत दर्ता भइसकेको छ ।

महासंघ अध्यक्ष राणाले बरिष्ठ उपाध्यक्षका उम्मेद्वार प्रधान र ढकालबीच आफुले अन्तिम समयसम्म सहमतिको लागि प्रयास गर्ने बताइन् । महासंघको लागि दुवैजना चाहिने व्यक्ति हो,कोभिडको समयमा निर्वाचन नभएर सहमति भएमा राम्रो हुन्छ,यसको लागि मैले पहल गर्ने छु,राणाले क्लिकमाण्डूसँग भनिन् ।

यद्यपी सहमति हुने सम्भावना भने निकै कम छ ।

महासंघको निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा किशोर प्रधानको प्यानलबाट जिल्ला नगरमा दिनेश श्रेष्ठ,एशोसियटमा सौरव ज्योति र वस्तुगतमा अन्जन श्रेष्ठले उम्मेद्वारी दिन लागेका छन् । बरिष्ठ उपाध्यक्षका अर्का उम्मेद्वार चन्द्र ढकालको टिममा जिल्ला नगरमा गुणनिधी तिवारी,एशोसियटमा रामचन्द्र संघाई र वस्तुगतमा उमेशलाल श्रेष्ठले उम्मेद्वारी दिने छन् ।


क्लिकमान्डु