कोरोना कहरः दशैंको माहोलमा मलहरूमा ५ प्रतिशतले पनि व्यापार हुन सकेन



काठमाडौं । नेपालीहरूको महान चाडपर्वको माहोल नजिकिँदैै गर्दा ठूला–ठूला सपिङ मलमा भने उत्साह देखिँदैन । विगतको दिनमा विभिन्न अफरका साथ चकाचक हुने सपिङ मल अहिले निकै सुनसान देखिन्छ । कोरोना माहामारीले गर्दा लामो समयसम्म बन्द रहेको मलहरुले दशैंको माहोलमा पनि आम्दनी गर्न नसक्दा व्यरूवसायीहरू निकै चिन्तित बनेका छन् ।

यस्तै, नाका बन्दका कारण सामान आउन नसक्दा जहाजबाट महंगो भाडा तिरेर सामान ल्याएता पनि बजारमा मानिसको भीड निकै कम भएकाले धेरै जसो व्यवसायीलाई दशैं होइन दशा लागे झैं भएको व्यवसायीहरू बताउँछन् ।

उपत्यकाका कोेरोना महामारीको संक्रमण बढ्दै गएको हुनाले मलहरूमा ग्राहकको चहलपहल निकै कम भएको सिभिल मलमा रहेको रिमेक्स नेपालका सुपरभाइजर कुसुम तामाङले जानकारी दिइन् । विगतको दिनमा दशैंको माहोल नजिकिँदै गर्दा बजारमा किनमेल गर्ने मानिसको भीड हुन्थ्यो । तर, यो वर्ष कोरोनाले गर्दा दशैं नजिकिएको महशुस नभएको उनले बताइन् ।

उनका अनुसार रिमेक्स नेपालले लबिम मल, सिभिल मल र छायाँ कम्प्लेक्स ठमेल गरी तीन वटा आउटलेट पसल सञ्चालनमा रहेको छ । तर, व्यापार भने शून्य अवस्थामा रहेको उनको भनाइ छ ।

रिमेक्स नेपालले इलेक्ट्रिक सामाग्रीको बिक्री वितरण गर्दै आएकोमा यो वर्षको जस्तो ग्राहकको कमी कहिल्यै नभएको उनको अनुभव छ । ‘विगतको दशैंको बेला यतिखेर बोल्न, बस्न र खाना समय हुँदैनथ्यो । तर, यो वर्ष पसल खोलेर दिनभरी यतिकै बस्नुपरेको अवस्था छ,’ उनले क्लिकमान्डूसँग भने, ‘विगतको तुलनामा यो वर्ष ५ प्रतिशत पनि ग्राहक आएको छैन र व्यापार पनि हुन सकेको छैन ।’

कम्पनीले यो वर्ष दशैंलक्षित सम्पूर्ण सामाग्रीका २० प्रतिशत छुट प्रदान गरेता पनि ग्राहक आकर्षित हुन नसकेको उनले गुनासो पोखिन् । साथै, कम्पनीले अनलाइनमार्फत प्रोमोसन गरेकाले मात्रै केही मात्रामा ग्राहक आएको उनको बुझाइ छ ।

विगतको दशैंमा मलको रौनक भिन्ने हुने गथ्र्यो । यो वर्ष कोरोनाले गर्दा व्यापारमा निकै कम भएको ललितपुरको लबिब मलस्थित गिएरदानो नेपालका कर्मचारी गणेश पोखरेल बताउँछन् । यो वर्ष कोरानाले गर्दा दशैंको करिब ५ देखि १० प्रतिशत मात्रै व्यापार भएको उनले जानकारी दिए ।

उनका अनुसार बजारमा मानिसको चाँप भएता किनमेल भने निकै कम भएकोे बताए । तर, पसलमा भने सामानको कुनै अभाव नरहेको उनले बताए । ‘कोरोनाको समय भएता पनि दशैंमा व्यापार हुन्छ भने जहाजबाटै ल्याएर भएता पनि सामान हाल्यौं,’ उनले भने, ‘बजारमा ग्राहक नभएपछि सामान ल्याएर मात्रै के गर्नु ? यसले गर्दा धेरै समस्या भोगिरहेका छौं ।’ यस्तै अहिले मलमा १० देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था रहेता पनि मानिसको चहलपहल निकै कम भएको उनको भनाइ छ ।

त्यस्तै, लामो समयको बन्दाबन्दीपछि पसल खोलेता पनि उल्लेखनीय ग्राहक नभएपछि व्यापार संकटमा परेको लिडिजडे बुटिकका सञ्चालक सन्तोषी श्रेष्ठ बताउँछिन् । हाल मल सुरक्षाको विशेष मापदण्ड अपनाएर पसल सञ्चालन गरेपनि दशैंको माहोलमा सामान्य दिनभन्दा पनि नाजुक अवस्था रहेको बताइन् ।

अहिले मलमा ५ प्रतिशतले व्यापार हुन नसकेको उनले बताइन् । विगतको दिनमा यो बेला बुटिकमा भ्याइनभ्याइ हुन्थ्यो । साथै, मलले सम्पूर्ण सामाग्रीमा विशेष छुट गरिएपनि ग्राहक भने शुन्य अवस्थामा छन् । उपत्यकाका कोरोनाको संक्रमण तीब्र रुपले बढेका कारण पनि बजारमा आउन नसकेको उनको बुझाइ छ ।

कमलपोखरीस्थित रहेको सिटी सेन्टरमा रहेको पेइस्लेई नेपाल उर्वान वुमेन वेयर्सले पनि दशैंलक्षित करिब १५ देखि ३० प्रतिशत छुट गरेता पनि ग्राहकको चहलपहल निकै कम रहेको पसलका एक कर्मचारीले बताए ।

उनका अनुसार बाहिर बजारको माहोल हेर्दा सामान्य लाग्छ तर पसलमा ग्राहकको चलहपहल निकै कम हुँदा व्यवसायी धारासायी बन्ने अवस्थामा पुगेको उनले बताए । ‘कोरोनाले गर्दा व्यापार निकै प्रभावित भएको छ । अब कोरोना कहिले हट्ने निश्चित छैन । जसले गर्दा व्यापार ह्रास आएको छ,’ उनले भने ।


क्लिकमान्डु