नयाँ अर्थमन्त्री पाउँदा पनि सेयर बजारमा देखिएन उत्साह, पौडेलले गर्लान आफ्नो रेकर्ड ब्रेक ?



काठमाडौं । यो साताको अन्तिम दिन बिहीबार सेयर बजारमा सामान्य सुधार देखिएको छ ।

अर्थ मन्त्रालयमा नयाँ मन्त्री आएसँगै बजार बढने अपेक्षा रहेको थियो । तर बिहीबारको कारोबारमा खासै सुधार देखिएको छैन ।

मन्त्रालयले नयाँ मन्त्रीको रुपमा नेकपामा महासचिव बिष्णु प्रसाद पौडेललाई पाएपनि बजारमा खासै उत्साह देखिएको छैन । पौडेल पहिलो पटक मन्त्री बन्दा सेयर बजारले अहिलेसम्मकै उच्च बिन्दु १८८१.४५ बिन्दु चुमेको थियो ।

पौडेल यसअघि २०७२ साल कात्तिक १९ गते अर्थमन्त्री बनेका थिए । उनी मन्त्री भएको दिन बजार मापन गर्ने सूचक १०९०.६८ बिन्दुमा रहेको थियो । त्यसको भोलिपल्ट भने बजार घटेर १०६८.५७ बिन्दुमा पुगेको थियो । त्यसको अर्को दिन बजार पुनः बढेर ११०७.४३ बिन्दुमा पुगेको थियो ।

त्यसपछि बजारमा उतार चढाव हुँदै गर्दा उनी मन्त्री भएको १० महिनापछि अर्थात २०७३ साउन १२ गते बजार हालम्मकै उच्च १८८१.४५ बिन्दुमा पुगेको थियो । त्यसपछि बजारमा पुन गिरावट देखिएको थियो ।

पौडेलले दोस्रो पटक मन्त्रालयको बागडोर सम्हालेको दिन बजारमा खासै उत्साह देखिएको छैन । बजार मापन गर्ने सूचक १.२९ अंकले बढेर १५६२.४६ बिन्दुमा रोकिएको छ ।

१९६ कम्पनीको ४९ लाख ९४ हजार ३६७ कित्ता सेयर १ अर्ब ४२ करोड ५८ लाख ९० हजार ७३८ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ, जलविद्युत, समूहमा सुधार आउँदा विकास बैंक, निर्जीबन, जीवन बीमा, माइक्रोफाइनान्स समूहको उपसूचकमा गिरावट आइएको छ ।


क्लिकमान्डु