मन्त्रालयको निर्देशनपछि टिएमएसको समस्या समाधान गर्न भारतीय कम्पनी बोलाउँदै नेप्से
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले टिएमएसमा देखिएको समस्या समाधान गर्नका लागि भारतीय आईटी विज्ञको समूहलाई बोलाएर काम गर्ने भएको छ ।
टिएमएसमा दैनिक नयाँ–नयाँ र गम्भीर खालका समस्या देखिन थालेपछि नेप्सेले भारतीय आईटी कम्पनी इनफाइनाइट कम्प्युटर सोलुसनका आईटी विज्ञ बोलाउन लागेको हो ।
पछिल्लो समय दैनिक जसो टिएमएसमा समस्या देखिएपछि अनलाइन सिस्टम बनाउने वाइको कम्पनीले पनि समस्याको समाधान गर्न सकेको छैन भने नेप्सेको आईटी टिमले पनि समस्याको पहिचान गर्न सकेको छैन ।
त्यसैले नेप्सेको अनलाइन सिस्टम बनाउने वाइको कम्पनीको पार्टनर इनफाइनाइट कम्प्युटर सोलुसनलाई नेपालमा बोलाउन लागिएको हो ।
उक्त कम्पनी नेपालमा आएर सिस्टममा देखिएको समस्या समाधान गर्ने नेप्सेको भनाइ छ ।
पछिल्लो समयमा अनलाइन सिस्टममा समस्या बढेपछि केही सेयर लगानीकर्ताले प्रधानमन्त्री कार्यालयमा उजुरी दिएपछि प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयलाई उक्त समस्या समाधानका लागि पहल गर्न निर्देशन दिएको थियो ।
आइतबार प्रधानमन्त्री कार्यालयले निर्देशन दिए लगत्तै सोमबार नै राजस्व सचिव रामशरण पुडासैनीले धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई बोलाएर यो समस्या तत्कालै समाधान गर्न निर्देशन दिएका छन् ।
राजस्व सचिव पुडासैनीले नै निर्देशन दिएपछि टिएमएसमा देखिएको समस्या समाधान गर्नका लागि भारतीय विज्ञलाई बोलाएर अध्ययन गर्न लागेको हो ।
टिएमएसमा समस्या देखिएपछि अर्थ मन्त्रालयमा भएको छलफलमा पनि नेप्सेका सिइओ चन्द्र सिंह साउदले भारतीय समूहलाई बोलाएर समस्याको समाधान आगामी बिहीबारसम्म गरिसक्ने बताइसकेका छन् । मन्त्रालयमा भएको छलफलमा आगामी आइतबारबाट टिएमएस लगायत नेप्सेको सिस्टममा कुनै समस्या आउन नदिने बचन दिएका छन् ।
नेप्सेको सिस्टम पनि वाइको कम्पनीको भारतीय पार्टनरले नै बनाएको हो । जसले सिस्टम बनाएको हो उसैलाई बोलाएर काम गरेपनि समस्याको समाधान हुने नेप्सेको तर्क छ ।