राष्ट्र बैंकले एनआइसी एशिया र एनएमबि बैंकलाई मर्ज गराउला ? यस्तो छ क्रस होल्डिङ



काठमाडौं । बैंकका लगानीकर्ताहरुको संस्था, बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष हुन् पवन गोल्यान । गोल्यान एनएमबि बैंकका अध्यक्ष पनि हुन् ।

यतिमात्र होइन उनी गोल्यान ग्रुपका अध्यक्ष, नेपाल धागो निर्यातकर्ता संघका अध्यक्ष पनि हुन् ।

निजी क्षेत्रका ठुला व्यवसायी गोल्यान एनएमबि बैंकका अध्यक्ष भएपनि उनको सेयर स्वामित्व भने एनआइसी एशिया बैंकमा बढी छ । एनएमबी बैंकमा गोल्यानको १.१५ प्रतिशत सेयर स्वामित्व छ भने एनआएसी एशिया बैंकमा ४.७३ प्रतिशत सेयर छ ।

आफु अध्यक्ष रहेको बैंकमा आफ्नै नाममा सेयर लगानी गरेका गोल्यानले एनआइसी एशिया बैंकमा भने परिवारको नाममा सेयर लगानी गरेका छन् । एनआइसी एशियामा गोल्यान परिवारका ५ सदस्यको नाममा कुल ४१ लाख ५१ हजार ५२२ कित्ता अर्थात् ४.७३ प्रतिशत सेयर छ ।

गोल्यान ग्रुपका निर्देशकसमेत रहेको पवन गोल्यानका छोरा अक्षय गोल्यानको नाममा १७ लाख ७१ हजार ७८१ कित्ता अर्थात् १.९४ प्रतिशत सेयर एनआइसी एशिया बैंकमा छ ।

बलिया बैंकसँग कमजोरलाई मर्ज गराउने राष्ट्र बैंकको रणनीति, यी १२ वाणिज्य बैंकलाई दबाब

यसैगरी सोही बैंकमा गोल्यान परिवारकै सदस्य तथा गोल्याल ग्रुपका उपाध्यक्ष वासुदेव गोल्यानको नाममा ८ लाख ६२ हजार ४२५ कित्ता अर्थात ०.९८ प्रतिशत, गु्रपका निर्देशक अन्नतकुमार गोल्यानको ५ लाख ५० हजार कित्ता अर्थात ०.६२ प्रतिशत, ग्रुपपका निर्देशक शक्ति गोल्यानको ५ लाख ५० हजार कित्ता अर्थात ०.६२ प्रतिशत र गोल्यान परिवारकै सदस्य सुरेशकुमार गोल्यानको ०.५४ प्रतिशत अर्थात् ४ लाख ७८ हजार ३१६ कित्ता सेयर छ ।

राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्नुभन्दा अघिबाटै क्रस होल्डिङ भएको अर्थात् एकाघर परिवार तथा संस्थाको लगानी भएका बैंक तथा वित्तीय संस्थालाई फोर्स मर्जर गराउने रणनीतिक योजना बनाएको थियो ।

गत वर्ष राष्ट्र बैंकले फोर्स मर्जरको योजना बनाए पनि प्राविधिक कारणवस मौद्रिक नीतिमा समेटेर कार्यान्यवन भने गर्न सकेन ।

राष्ट्र बैंकले सोही बेला नै बैंक तथा वित्तीय संस्थाहरुसँग सेयर स्वामित्वको विवरण पेश गर्न निर्देशन दिएको थियो । तर बैंकहरुले पठाएको तथ्यांकमा क्रस होल्डिङ नदेखिएको राष्ट्र बैंकले निष्कर्ष निकाल्यो ।

गत वर्ष बैंकहरुमा क्रश होल्डिङ नभएको भनेपनि चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले एकाघर परिवार र संस्थाको सेयर स्वामित्व (क्रस होल्डिङ) भएका बैंक तथा वित्तीय संस्थालाई मर्जरमा जान निर्देशन दिइने उल्लेख गरिसकेको छ । जसपछि राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई ०.५ प्रतिशतसम्म क्रश होल्डिङको विवरण मागिसकेको राष्ट्र बैंकका एक अधिकारीले बताए ।

‘अहिले ०.५ प्रतिशतदेखि माथिको विवरण माग संकलन भइरहेको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘तथ्यांक पठाउन बैंकहरुले आनाकानी गरिरहेका छन् । तर असोज मसान्तसम्ममा पनि यकिन विवरण आएन भने हामी छुट्टै तरिकाले अध्ययन गरी विवरण संकलन गर्छौं ।’

क्रस होल्डिङ देखाएर फोर्स मर्जर गराउनका लागि कति स्वामित्वलाई आधार मान्ने भन्ने विषयमा भने राष्ट्र बैंक पनि अन्यौलमै छ । यद्यपि राष्ट्र बैंकले १ प्रतिशतभन्दा बढी क्रस होल्डिङ भएका बैंकको विवरणलाई भने उच्च निगरानीमा राखेको छ ।

‘यसबारेमा केही विभागिय र बोर्डमा आन्तरिक छलफल भइरहेको छ,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले क्लिकमाण्डूसँग भने, ‘बैंकका संचालक र सीइओलाई पनि बोलाएर यसबारेमा छलफल गर्छौं ।’

कोरोनाको बढ्दो संक्रमण र अन्य कारणले गर्दा बिग मर्जरका लागि कार्याविधि बनाएर अघि बढ्न कठिनाइ भइएको ती अधिकारीको भनाइ छ ।

राष्ट्र बैंकको अध्ययनमा हालसम्म देखिएका ठुलो क्रस होल्डिङ भएको बैंकहरुमध्ये एनआइसी र एनएमबि बैंक अग्र स्थानमा पर्छन् ।  गोल्यान परिवारको मात्र नभएर यी दुवै बैंकमा माडवाडी समुदायको ठुलो सेयर लगानी छ ।

नेपालको निजी क्षेत्रका ठूला व्यावसायिक घरानाहरू भनिएका त्रिवेणी गु्रप, गोल्यान गु्रप र विशाल ग्रुपको सेयर लगानी एनएमबि र एनआइसी एशिया बैंकमा छ ।

एनआइसी एशिया र एनएमबि दुबै बैंक ठूलो पोर्टफोलियो भएका बैंक हुन् । दुई ठूला बैंक आपसमा गाभिँदा बन्ने बैंकले कुल बजार हिस्साको करीब १५ प्रतिशत हिस्सा ओगट्छ ।

एकै संस्थाले बजारको ठूलो हिस्सा ओगटेको अवस्थामा ‘टू बिग टू फेल’को खतरा पनि बढी हुनेतर्फ पनि राष्ट्र बैंकको चिन्ता हुनसक्ने देखिन्छ ।

एनएमबि र एनआएसी बैंकमा ०.५ प्रतिशत बढी सेयर स्वामित्व

एनएमबि बैंकमा १.१५ प्रतिशत सेयर स्वामित्व भएको पवन गोल्यानको एनआइसी एशियामा उनको परिवारको ४.७३ प्रतिशत सेयर स्वामित्व छ । यस बाहेक दुबै बैंकमा सेयर स्वामित्व भएको संघई र अग्रवाल परिवारको हो ।

अग्रवाल परिवार (विशाल ग्रुप)

एनआइसी एशिया बैंकमा सबैभन्दा बढी अग्रवाल परिवारको सेयर लगानी छ । बैंकमा अग्रवाल परिवारका १२ जना सदस्यको नाममा सेयर छ । विसाल गु्रप अग्रवाल परिवारको प्रवद्र्धनमा सञ्चालित कम्पनी हो ।

बैंकमा विशाल ग्रुपका निर्देशकको सबैभन्दा बढी ६.४५ प्रतिशत सेयर छ । साथै गु्रपमा उपाध्यक्ष त्रिलोकचन्द्र अग्रवालको ५.३४ प्रतिशत सेयर स्वामित्व छ ।

यसैगरी एनआइसी एशिया बैंकमा विसाल ग्रुपमा निर्देशकहरू अनुज अग्रवाल ३.३८ प्रतिशत, निकुञ्ज अग्रवालको १.७८ प्रतिशत, अर्पित अग्रवालको १.०१ प्रतिशत र विशाल अग्रवालको ०.९२ प्रतिशत सेयर स्वामित्व छ ।

यसबाहेक बैंकमा अग्रवाल परिवारका सदस्यहरु मञ्जु अग्रवालको १.७८ प्रतिशत, तुलसीराम अग्रवालको १.७८ प्रतिशत, संचिता अग्रवालको १.७८ प्रतिशत, अर्पित अग्रवालको १.०१ प्रतिशत सेयर स्वामित्व छ ।

त्यसैगरी, परिवारका सदस्यहरु उशा अग्रवालको ०.९६ प्रतिशत, निर्मलकुमार अग्रवालको ०.९५ प्रतिशत र सुरेशकुमार अग्रवालको ०.५४ प्रतिशत सेयर स्वामित्व एनआएसी एशिया बैंकमा छ ।

एनएमबि बैंकमा अग्रवाल परिवारका २ जना सदस्य दिनबन्धु अग्रवालको ०.६७ प्रतिशत र विसाल ग्रुपका उपाध्यक्ष अशोक अग्रवालको ०.५ प्रतिशत सेयर स्वामित्व छ ।

संघइ परिवार (त्रिवेणी ग्रुप)

संघईपरिवारले त्रिवेणी ग्रुप सञ्चालन गरेको छ । संघई परिवारका ५ जना सदस्यको एनएमबी बैंकमा कुल १४ प्रतिशत सेयर स्वामित्व छ भने एनआइसी एशिया बैंकमा २ जना सदस्यको १.४१ प्रतिशत सेयर स्वामित्व छ ।

त्रिवेणी ग्रुपमा अध्यक्ष पुरुषोत्तमलाल संघई सहित ८ जना निर्देश संघईपरिवार कै छन् । एनएमबी बैंकमा गु्रपमा अध्यक्ष पुरुषोत्तमलाल संघईको ०.९० प्रतिशत सेयर स्वामित्व छ भने सोही ग्रुपका निर्देशक आदित्य संघईको ०.५१ प्रतिशत सेयर छ ।

त्यसैगरी त्रिवेणी गु्रपका अन्य ५ जना संघई निर्देशकहरुको कुल १४ प्रतिशत सेयर स्वामित्व एनआइसी एशिया बैंकमा छ । जसमध्ये रामचन्द्र संघईको ४.४१ प्रतिशत, सुभाषचन्द्र संघाइको ४.३९ प्रतिशत र गोविन्दलाल संघईको २.१५ प्रतिशत सेयर स्वामित्व छ ।

साथै, एनआइसी एशिया बैंकमा विरेन्द्रकुमार संघईको १.९७ प्रतिशत र कविता संघईको ०.९३ प्रतिशत सेयर स्वामित्व छ ।

एनएमबि बैंकमा ५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व एफ एम ओ, नेदरल्याण्डस, कर्मचारी संचयकोष र यंग लियन रियल्टी एस. डीएनविएचडी मलेसियाको छ । जसमा एफएमओ नेदरल्याण्डसको १ करोड ६३ लाख ४८ हजार २८८ कित्ता अर्थात् १७ प्रतिशत, कर्मचारी संचय कोषको ६५ लाख ९९ हजार ४० कित्ता अर्थात् ६.८६ प्रतिशत र यंग लियन रियल्टी एसडीएनविएचडी मलेसियाको ५० लाख ३३ हजार २९० कित्ता सेयर स्वामित्व छ ।

त्यसैगरी, गायत्री इनभेस्टमेन्ट एण्ड म्यानेजमेन्टको २.४६ प्रतिशत, नन्द किशोर राठीको २.०९ प्रतिशत, धनन्जय प्रसाद आर्चायको १.९ प्रतिशत, सन्तोष राठको १.२३ प्रतिशत र पवनकुमार गोल्यानको १.१५ प्रतिशत सेयर स्वामित्व छ ।

एनआइसी एशिया र एनएमबि बैंकमा ०.५ प्रतिशतभन्दा बढी सेयर स्वामित्वको विवरण


दिलु कार्की