७ वटा बैंकका कर्मचारीले पाए बोनस, अरुले साधारणसभापछि पाउने



काठमाडौं । लकडाउनमा व्यवसाय खस्किए पनि केही बैंकले भने आफ्ना कर्मचारीलाई बोनस दिएका छन् । कोरोनाले व्यवसाय प्रभाव पारेपनि ती बैंकहरुले कर्मचारीको नियमित आउने बोनस भने रोकेका छैनन् ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीले प्रायः जसो आर्थिक वर्ष सकिएको भोलिपल्टै वा साउन पहिलो सातासम्म बोनस वितरण गर्ने गर्दथे । यस वर्षको साउनमा ७ वटा वाणिज्य बैंकले आफ्ना कर्मचारीलाई बोनस खातामा पठाइसकेका छन् ।

कोभिडकै कारण संस्थाको आम्दानी तथा नाफा घटे भए पनि कर्मचारीलाई ७ वटा बैंकले बोनस दिएका छन् । यसरी कर्मचारीलाई बोसन दिने बैंकमा सानिमा, नबिल, इन्भेस्टमेन्ट, मेगा, सिद्धार्थ, ग्लोवल आइएमई र प्रभु बैंक छन् ।

साथै कुमारी बैंकले भने कर्मचारीलाई हालसम्म बोनस वितरण नगरे पनि साउनभित्रै बोनस वितरण गर्ने योजना बनाएको बैंकका एक अधिकारीले बताए ।

अघिल्ला वर्षहरुमा एक दर्जन वाणिज्य बैंकले आथिक वर्ष सकिएपछि कर्मचारीको खातामा बोनस पठाउँथे । तर गत वर्ष साउनमै बोसन दिएका ४ वटा बैंकले भने यसपाली बोनस वितरण गरेनन् ।

यसरी साउन महिनामा बोनस रोक्ने बैंकमा माछापुच्छ्रे, एनएमबि, सिभिल र सनराइज बैंक छन् ।

साउनमै कर्मचारीलाई बोनस दिएका अधिकांश बैंकले पनि अघिल्लो वर्षको तुलनामा कम बोनस वितरण गरेका छन् । तर नबिल बैंकले भने ५ देखि ७ महिना बराबरको तलब बोनसका रुपमा कर्मचारीलाई खातामा पठाइसकेको छ ।

यसैगरी, बैंकर्स संघका अध्यक्ष समेत रहेका सानिमा बैंकले सबैभन्दा पहिला कर्मचारीलाई एक महिनाको तलब बराबर खातामा बोनस पठाएको थियो ।

बैंकका कर्मचारीलाई साउनमै बोनस, सानिमा बैंक बन्यो फस्ट

यस्तै, मेगा बैंकले १ महिनाको, सिद्धार्थ बैंकले २ महिनाको, ग्लोवल आइएमई बैंकले १ महिनाको र प्रभु बैंकले १ महिनाको तलब बराबरको बोनस कर्मचारीलाई वितरण गरिसकेको छ ।

बैंकहरुले असार मसान्तसम्म उठेको रकम हिसाब गरी कर्मचारीलाई बोनस दिन्छन् । कर्मचारीले बोनस ऐनअनुसार नाफाको १० प्रतिशत बोनस पाउने गरेका छन् ।

त्यसमा केही बैंक तथा वित्तीय संस्थाले केही प्रतिशत बोनस आर्थिक वर्षको अन्त्यमा, दशैमा र वार्षिक साधारणसभामा किस्ता/किस्ता गरेर वितरण गर्छन् ।

लकडाउनमा पनि नबिल बैंकका कर्मचारी मालामाल, ७ महिनाको तलब बराबरको बोनस खातामा

कोभिडको कारण सम्पूर्ण क्षेत्र प्रभावित हुँदा बैंकले उठाउनुपर्ने रकम उठाउन सकेनन् । जसकारण विगतमा साउनमा नै कर्मचारीलाई बोनस दिने कतिपय बैंकहरुले पनि यसपटक दिएनन् ।

अघिल्ला वर्षमा साउनमा नियमित कर्मचारीलाई बोनस दिने एक बैंकका सीइओले यो वर्ष भने क्षमता भएपनि बोनस नदिने बताए ।

‘कोभिडको कारण व्यवसाय प्रभावित भएको छ, यो अवस्थामा कर्मचारीलाई बोनस दिएमा लगानीकर्ता र ग्राहकमा बैंकप्रति नकारात्मक धारणा पैदा हुन्छ,’ उनले भने, ‘कर्मचारीलाई दिनुपर्ने बोनस दशैं वा वार्षिक साधारणसभामा दिने वा कोभिडको असर न्यून भएपछि दिने निर्णय गरेका छौं ।’

आम बुझाइमा बैंकले सर्वसाधारणलाई मर्कामा पारेर कर्मचारीलाई धेरै सेवा सुविधा तथा तलब भक्ता दिन्छन् भन्ने छ । क्षमता भएर पनि दिनुपर्ने बोनस नियमित भन्दै दिएमा त्यसले बैंकको इमेज र व्यवसाय दुबैमा असर पर्ने ती सीईओको भनाइ छ ।

‘किस्ता ब्याज उठाउने समय अझै राष्ट्र बैंकले आगामी असोजसम्म दिएको छ,’ उनी भन्छन्, ‘यदि असोजमा उठ्नुपर्ने किस्ता ब्याज नउठेमा प्रोभिजनिङ गर्नैपर्छ,’ उनले भने ।

कर्मचारीलाई अनुमानित नाफाको हिसाबले बोनस दिँदापछि प्रोभिजनिङ गर्न बैंकलाई समस्या हुनसक्ने उनले जानकारी दिए । साथै कर्मचारीलाई बोनस दिएर लगानीकर्तालाई भने लाभांश दिन नसकेमा बैंकका लगानीकर्ता रुष्ट हुने उनले बताए ।


क्लिकमान्डु