बैंकका कर्मचारीलाई साउनमै बोनस, सानिमा बैंक बन्यो फस्ट
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई बोनश वितरण गर्न थालेका छन् ।
राष्ट्र बैंकले गत आर्थिक वर्षको नाफाबाट बोनश बाँड्न पाउने नीतिगत व्यवस्था मिलाइदिएपछि बैंक तथा वित्तीय संस्थाहरुले बोनस बितरण गर्न थालेका हुन् ।
मौद्रिक नीतिले सेयरधनीलाई दिने लाभांशमा दायरा तोकेपनि कर्मचारीको बोनशमा भने हस्तक्षेप नगरेपछि बोनश ऐनअनुसार बैंकहरुले कर्मचारीलाई बोनश वितरण गरेका हुन् ।
बोनश ऐन अन्तर्गत रोजगारादाता प्रतिष्ठानले कुल नाफाको १० प्रतिशत बोनश कर्मचारीलाई दिनुपर्ने प्रावधान छ । जसअनुसार बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारीलाई बोनश वितरण गर्छन् ।
अधिकांश बैंकहरुले कुल नाफाबाट कर्मचारीलाई वितरण गर्नुपर्ने बोनशलाई किस्ता/किस्तामा वितरण गर्छन् । केही बैंकहरुले आर्थिक वर्ष समाप्तपछि प्राप्त आम्दानीको आधारमा साउनको पहिलो साताभित्र र केही बैंकहरुले दशैमा र वार्षिक साधारणसभामा बोनश वितरण गर्छन् ।
यसअघिका वर्षमा साउनको पहिलो सातामा बोनश वितरण गर्ने बैंकहरुले कोरोनाका कारण ऋणको असूलीमा अन्यौता भएका कारण कर्मचारीले यस अवधिमा पाउने बोनशमा समेत अन्यौता थियो ।
बैंकर्स संघमा समेत साँवा, ब्याज रिकवरी र नउठेको ऋणीमा गर्नुपर्ने प्रोभिजनको व्यवस्थाअनुसार कर्मचारीलाई बोनश वितरण कहिले र कतिसम्म वितरण गर्नेमा छलफल गर्ने सहमति भएको थियो ।
तर बैंकर्स संघका अध्यक्षसमेत रहेका सानिमा बैंकले कर्मचारीलाई बोनश हालेको छ । ऋण असूली राम्रो भएका कारण बैंकले कर्मचारीलाई १ महिनाको तलब बराबरको बोनस हालेको बैंक व्यवस्थापनका एक अधिकारीले बताए ।
‘अघिल्ला वर्षहरुमा साउनमा ३ महिनाको तलब बारबरको बोनश हाल्ने गरिएको थियो,’ उनले क्लिकमाण्डूसँग भने, ‘तर अहिले भने रिकवरी २०/२५ प्रतिशतजति बाँकी नै भएको हुँदा १ महिनाको मात्र बोनश हालिएको हो ।’
कर्मचारीलाई पनि भुक्तानी गर्नुपर्ने ठाँउमा समस्या नहोस भनेर एड्भान्स बोनश दिइएको तर बितरण गरिएको बोनसका कारण रिकवरी नभएमा पनि प्रोभिजनमा समस्या नहुने उनले बताए ।
साउनको पहिलो साताभित्र बैंकहरुले १ महिनादेखि ४ महिनासम्म तलब बराबरको बोनश वितरण गर्दै आएका थिए । तर अहिले बैंक बोनश वितरण गरेका प्राय बैंकले १ महिनाको मात्र वितरण गर्ने बुझिएको छ ।
साउनको पहिलो सातामा बोनश वितरण गर्नेमा हालसम्म सानिमा बैंकमात्र छ ।
यसअघि साउनको पहिलो सातामा बोनश हाल्नेमा मेगा, नविल, एनएमबी, कुमारी, सिद्धार्थ नेपाल इन्भेष्मेन्ट, ग्लोबल आइएइ, सिजिटन्, माछापुच्छ्रेलगायतका बैंक थिए ।
गत साता साउनमा बोनश वितरण गर्ने बैंकहरुलाई बैंकर्स संघले ऋण असूली र मौद्रिक नीतिमा प्रोभिजनको व्यवस्था हेरेर आपसी छलफलपछि मात्र कति बोनश वितरण गर्ने निर्णय गर्ने सहमति भएको एक वाणिज्य बैंकका कार्यकारी अधिकृतले बताए ।
राष्ट्र बैंकले नै असोज मसान्तसम्म साँवा ब्याज उठाउने समय दिएको हुँदा सो समय दिएपनि अहिले असूली नभएकोमा ५ प्रतिशत प्रोभिजन गर्नमा केही समस्या हुनसक्ने उनको भनाइ छ ।
‘बैंकर्स संघमा बोनश वितरणका लागि मौद्रिक नीतिले के व्यवस्था गर्छ भनेर कुर्ने सहमति भएको थियो, मौद्रिक नीतिले बोनश दिन पउने प्रष्ट व्यवस्था गरेपछि हामीले कर्मचारीहरुलाई १ महिनाको बोनश हालिदिएका हौँ,’ बैंकर्स संघका अध्यक्षसमेत रहेका सानिमा बैंकका सीइओ भुवन दाहालले भने, ‘अब बैंकहरुले आफ्नो व्यालेन्सिटअनुसार बोनस दिन सक्छन् ।’