
काठमाडौं । सरकारले सवारी तथा यातायात व्यवस्थापनलाई थप व्यवस्थित र सुरक्षित बनाउन नयाँ दण्ड तथा जरिवानाको व्यवस्था गर्ने तयारी गरेको छ ।
यातायात निरीक्षक र सहायक निरीक्षकलाई सडकमै तत्काल जरिवाना (स्पट फाइन) गर्न सक्ने अधिकार दिँदै विभिन्न कसुरमा ५०० रुपैयाँदेखि १ लाख रुपैयाँसम्मको जरिवानाको प्रस्ताव गरिएको छ ।
पूर्वाधार विकास मन्त्रालयले तयार पारेको सवारी तथा यातायात सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमार्फत यस्तो कडा व्यवस्था गर्न लागिएको हो ।
राय सुझावको लागि अहिले कानुन मन्त्रालयमा पुगेको यो विधेयकको दफा ६२ मार्फत सवारी चालकले नियम उल्लंघन गरे यातायात निरीक्षक र सहायक निरीक्षकले तत्कालै सडकमा जरिवाना गर्न पाउने अधिकार पाउन लागेका छन् ।
प्रस्तावित व्यवस्थाअनुसार ट्राफिक प्रहरीले चालकलाई ३९ प्रकारका नियम उल्लंघनमा कारबाही गर्न पाउने अधिकार पाउन लागेका छन् ।
कस्तो गल्तीमा कस्तो जरिवाना र सजायको व्यवस्था ?
१. सबैभन्दा ठूलो जरिवाना (१ लाख रुपैयाँ)
सवारी साधनमा अपारदर्शी सिसा राखेमा वा बाहिरबाट भित्र नदेखिने गरी सिसामा केही टाँसेमा।
२. मापसे, लापसे र तीव्र गतिका लागि (आधारभूत जरिवाना)
(यी कसुरमा सवारीको प्रकार अनुसार आधारभूत जरिवाना एउटै छ)
मादक पदार्थ(मापसे) लागु पदार्थ सेवन गरी सवारी चलाएमा:
दुई वा तीन पाङ्ग्रे सवारी: २५ हजार रुपैयाँ
साना सवारी साधन: ३५ हजार रुपैयाँ
मझौला तथा ठूला सवारी साधन: ५० हजार रुपैयाँ
निर्धारित गति सीमा भन्दा बढी गतिमा चलाएमा:
(जरिवाना रकम माथि जस्तै २५/३५/५० हजार नै हो, तर गतिको प्रतिशत अनुसार लाग्नेछ)
५% सम्म बढी भएमा: जरिवाना नलाग्ने
२०% सम्म बढी भएमा: तोकिएको जरिवानाको २० प्रतिशत लाग्ने।
२० देखि ४०% सम्म बढी भएमा: तोकिएको जरिवानाको ४० प्रतिशत लाग्ने।
४० देखि ६०% सम्म बढी भएमा: तोकिएको जरिवानाको ६० प्रतिशत लाग्ने।
६०% भन्दा बढी गति भएमा: शतप्रतिशत (पूर्ण) जरिवाना लाग्ने।
३. सवारीको प्रकार अनुसार फरक पर्ने अन्य जरिवानाहरू
(क) सवारी दर्ता प्रयोजन विपरीत (रातो प्लेट भाडामा) चलाएमा, (ख) अनुमतिपत्र (लाइसेन्स) नलिई वा अर्कै वर्गको चलाएमा, (ग) जाँचपास नगराई चलाएमा, (घ) प्रदूषण फेल सवारी चलाएमा:
दुई पाङ्ग्रेको हकमा: ५ हजार रुपैयाँ
तीन पाङ्ग्रे र साना सवारीको हकमा: १० हजार रुपैयाँ
मझौला र ठूला सवारीको हकमा: १५ हजार रुपैयाँ
४. १० हजार देखि २५ हजार सम्मका जरिवाना
अनुमति नलिई विदेशी सवारी साधन चलाएमा: २५ हजार रुपैयाँ
सडकमा अवरोध पुर्याएमा (सामग्री/पशु चौपाया छाडेमा): ५ हजार देखि २५ हजार रुपैयाँसम्म
सिट क्षमता भन्दा बढी यात्री राखेमा:
लामो दुरीको बाटो: २० हजार रुपैयाँ
मध्यम दुरीको बाटो: १० हजार रुपैयाँ
छोटो दुरीको बाटो: ५ हजार रुपैयाँ
मालवाहक सवारीमा वजनको हदभन्दा बढी बोकेमा: १५ हजार रुपैयाँ
पञ्जीकरण नगरी सार्वजनिक यातायात सेवा सञ्चालन गरेमा: १५ हजार रुपैयाँ
लेन अनुशासन पालना नगरेमा, फुटपाथमा चलाएमा, वान-वेमा विपरित चलाएमा, वा
मोबाइल प्रयोग गरेमा: १० हजार रुपैयाँ
बाटो इजाजतपत्र (रुट पर्मिट) नलिई सवारी चलाएमा: १० हजार रुपैयाँ
बीमा (थर्ड पार्टी) नगराई सवारी चलाएमा: सार्वजनिकलाई १० हजार / अन्यलाई ५ हजार रुपैयाँ।
५. ५ हजार सम्मका अन्य जरिवानाहरू
सवारीको ढोका खुल्ला राखी चलाएमा वा अवस्था ठिक नभएको सवारी चलाएमा: ५ हजार
अनधिकृत रूपमा ट्राफिक संकेत हटाएमा वा बिगारेमा: ५ हजार रुपैयाँ
खतरनाक वस्तु ढुवानीमा संकेत नराखेमा वा निषेधित स्थानमा पार्किङ गरेमा: ५ हजार
हेलचक्र्याइँ वा लापरवाहीपूर्वक सवारी चलाएमा: ३ हजार देखि ५ हजारसम्म
ट्राफिक संकेत पालना नगरेमा: ३ हजार देखि ५ हजारसम्म
निर्धारित गति भन्दा धेरै कम गतिमा सवारी चलाएमा: ३ हजार देखि ५ हजार रुपैयाँसम्म
हेलमेट वा सिट बेल्ट नलगाई चलाएमा: ३ हजार रुपैयाँ
मिटर ट्याक्सीले मिटरमा जान नमानेमा: ३ हजार रुपैयाँ
सार्वजनिक सवारीमा यात्रीलाई खतरा हुने गरी सामान ढुवानी गरेमा: ३ हजार रुपैयाँ
प्रशिक्षार्थीले प्रशिक्षक साथमा नराखी सवारी चलाएमा: ३ हजार रुपैयाँ
ओभरटेक निषेध क्षेत्रमा ओभरटेक गरेमा वा रातमा बत्ती नबाली चलाएमा: २ हजार रुपैयाँ
अफलाइन सेवा (राइड शेयरिङ) प्रदान गरेमा: २ हजार रुपैयाँसम्म
दुर्घटनापछि चालक/कर्मचारीले कर्तव्य पालना नगरेमा: २ हजार रुपैयाँ
निर्धारित सिट क्षमतासम्म यात्री लिन इन्कार गरेमा: २ हजार रुपैयाँ
आवश्यक कागजात (बिलबुक/लाइसेन्स) साथमा नराखेमा: १ हजार रुपैयाँ (डिजिटल देखाउन सके नलाग्ने)
सडकमा फोहोर फालेमा: १ हजार रुपैयाँ
निषेधित क्षेत्र/समयमा सवारी चलाएमा: १ हजार रुपैयाँ
निषेधित क्षेत्रमा हर्न बजाएमा: ५ सय रुपैयाँ
पैदल यात्रीले जथाभावी सडक पार गरेमा वा यात्रा गरेमा: ५ सय रुपैयाँ
पोशाक र परिचयपत्र नलगाएमा (चालक/परिचालक): ५ सय रुपैयाँ
विशेष कानूनी व्यवस्था:
यदि एउटै कसुर दोस्रो पटक गरेमा तोकिएको जरिवानामा ५० प्रतिशत थप हुनेछ । सो भन्दा बढी पटक गरेमा शतप्रतिशत (दोब्बर) जरिवाना लाग्नेछ ।
जरिवाना तुरुन्त भुक्तानी नगरेमा ट्राफिक प्रहरीले लाइसेन्स, सवारी दर्ता प्रमाणपत्र वा बाटो इजाजतपत्र नियन्त्रणमा लिन सक्नेछ।
बिलबुक वा लाइसेन्स ‘नागरिक एप’ वा विद्युतीय पोर्टलबाट देखाउन सकेमा ‘कागजात साथमा नराखेको’ जरिवाना लाग्ने छैन।








प्रतिक्रिया