महासंघको कार्यकारी समिति अवैधानिक भइसक्योः भास्करराज राजकर्णिकार (भिडियो)



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले महासंघको कार्यकारी समिति अवैधानिक भइसकेको बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले समितिको म्याद सकिएका समिति अवैधानिक भइसकेको बताए ।

महासंघको विधानले चैत २८ गतेभित्र कुनै पनि अवस्थामा अधिवेशन भइसक्नुपर्ने भने पनि लकडाउनका कारण हुन नसकेको भन्दै विधानमा यदी कदमकदाचित त्यो समयमा गर्न सकिएन भने कम्तीमा २ महिनाभित्र अनिवार्यरुपमा निर्वाचन गरिसक्नुपर्नेछ अन्यथा केही व्यवस्था गरेको नगरेको उनले दाबी गरे ।

‘चैत ११ गतेदेखि लकडाउन शुरु भयो । त्यसपछि महासंघको नेतृत्वले यस्तो अवस्थामा निर्वाचन हुन सक्दैन भन्नु पर्छ कि पर्दैन ? त्यो बेलामा हामी कतिसम्म पछाडि सर्छौ भनेर निर्णय गर्नुपर्ने हो कि होइन तर भएन,’ उनले भने ।

त्यसपछि पदाधिकारी बसेर जेठको पहिलो साता गर्ने निर्णय गरे पनि त्यसमा पनि हुन सकेन । पछि पदाधिकारी असार ८ गते बसेको कार्यकारी समितिको बैठकले साउन २६ र २७ गते निर्वाचन गर्ने निर्णय भएकाले त्यसबेलासम्म समितिको म्याद सकिएको बताए ।

‘आजका दिनमा महासंघको कार्यकारिणी अवैधानिक भइसकेको अवस्था छ, यहाँ कसैले पनि म उपाध्यक्ष छु भनेर नभने हुन्छ,’ उनले भने ।

‘असारमा निर्णय गर्ने समयमै पदाधिकारीको म्याद सकिएको बताए । तर सबैको सहमतिअनुसार विधानभन्दा बाहिर गएर पनि सहमति भयो । त्यसलाई पनि हामी सबैले मान्नुपर्छ । तर फेरि पदाधिकारीको बैठक बसेर अनिश्चिकालका लागि सार्नु ठीक होइन,’ उनले थपे ।

यस्तो अवस्थामा दुबै पक्षको सहमति हुनुपर्ने बेलामा त्यो नभएको उनको भनाइ छ । उनले निर्वाचनको मिति सार्ने निर्णय एकलौटी गर्न नहुने समेत स्पष्ट पारे । त्यो कसैलाई पनि मान्य नहुने बताए ।

‘कुनै पनि संघ संस्था विधि र विधानबाट चल्छन् र हामी पनि पनि विधि र विधानबाट चल्नु पर्छ । विधि र विधानलाई नै बिर्सिदिने हो भने त्यो संस्था रहँदैन । त्यसको प्रभावकारिता र उपादेयता पनि रहँदैन,’ उनले भने, ‘प्रत्येक निर्वाचनमा केही न केही कारण देखाएर यो किसिमको वातावरण सिर्जना गर्न खोजिन्छ र दुर्भाग्यवश अहिलेको अवस्था पनि त्यही हो ।’

चन्द्र ढकालको टिम निर्वाचन गर्न मात्रै उद्दत नभएको भन्दै विधिसम्मत् हिसाबले निर्वाचनको पक्षमा भएको समेत उनको दाबी छ ।


क्लिकमान्डु