गत आवमा साढे ३८ अर्बको विदेशी लगानीको प्रतिबद्धता, ११ हजारबढीलाई रोजगारी



काठमाडौं । आर्थिक वर्ष २०७६/७७ मा साढे ३८ अर्ब रुपैयाँबढीको विदेशी लगानीको प्रतिबद्धता आएको छ । यो लगानी उद्योग विभागमार्फत् लगानीको प्रतिबद्धता आएको हो ।

उद्योग विभागका अनुसार गत आर्थिक वर्षको साउन १ गतेदेखि असार ३१ गतेसम्ममा विदेशी लगानी रहेका २२६ वटा कम्पनीमा ७२ अर्ब २८ करोड ६१ लाख ५४ हजार ५३० रुपैयाँको लगानीको प्रतिबद्धता आएको छ ।

जसमध्ये ३५ वटा विदेशी र स्वदेशी लगानीका कम्पनी दर्ता भएा छन् भने बाँकी १९१ कम्पनीमा पूर्णरुपमा विदेशी लगानीको प्रतिबद्धता आएको हो ।

उद्योग विभागका अनुसार २२६ वटा कम्पनीमार्फत ११ हजार २११ जनालाई रोजगारी उपलब्ध हुने उल्लेख छ ।

आर्थिक वर्ष २०७५/७६ को तुलनामा गत आवमा उद्योग विभागमार्फत कुल विदेशी लगानीको प्रतिबद्धता ५३.६९ प्रतिशतले बढेको हो ।

अघिल्लो वर्षमा कुल ३४४ वटा उद्योगका लागि २५ अर्ब ४७ करोड १४ लाख ३५ हजार ९६० रुपैयाँको विदेशी लगानीको प्रतिबद्धता आएको थियो । जसबाट १४ हजार ५४४ जनालाई रोजगारी पाउने उल्लेख थियो ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण उद्योग व्यवसायको क्षेत्रमा नकारात्मक असर परिरहेको भए पनि वैदेशिक लगानी प्रतिबद्धताको हिसाबले उल्लेखनीय नै रहेको उद्योग विभागको तथ्यांक छ ।

सरकारले एकल सेवा विन्दु सेवा केन्द्र सञ्चालनमा ल्याएको भए पनि प्रभावकारी हुन सकेको छैन । कर्मचारी व्यवस्थापन तथा प्राविधिक जनशक्तिको अभावमा सोचेअनुसार काम भने हुन सकेको छैन ।

लकडाउनमा पनि विदेशी लगानी आयो
सरकारले गत चैत ११ गतेदेखि देशव्यापीरुपमा लकडाउन गरेको भए पनि सोही अवधिमा विदेशी लगानीको प्रतिबद्धता भने आएको छ ।

उद्योग विभागका अनुसार चैतदेखि असार मसान्तसम्ममा ४९ वटा उद्योगमार्फत् २९ अर्ब ३१ करोड ९३ लाख ५८ हजार ८ सय रुपैयाँको कुल लगानीको प्रतिबद्धता आएको हो ।

जसमध्ये विदेशी लगानीको प्रतिबद्धता मात्रै ८ अर्ब ७७ करोड ६८ लाख ४८ हजार ७६२ रुपैयाँबराबरको छ । यसबाट मात्रै २ हजार १५१ जनाले रोजगारी पाउनेछन् ।

सेवामुलक
उद्योग विभागका अनुसार सेवामूलक क्षेत्रमा मात्रै ७३ वटा कम्पनीमा कुल११ अर्ब ३५ करोड २ लाख ३३ हजार ८ सय रुपैयाँ बराबरको विदेशी लगानीको प्रतिबद्धता आएको छ । यी कम्पनीमा कुल पुँजी १२ अर्ब ५१ करोड ५० लाख ४० हजार ८ सय रुपैयाँ छ । यी कम्पनीबाट ४ हजार ८३ जनाले रोजगारी पाउने विभागले जनाएको छ ।

पर्यटन
विभागका अनुसार पर्यटन क्षेत्रमा कुल ८१ वटा कम्पनीमा विदेशी लगानीको प्रतिबद्धता आएको छ । जसमा कुल पुँजी ११ अर्ब २४ करोड ३७ लाख रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ ।

जसमध्ये विदेशी लगानी मात्रै १० अर्ब ९६ करोड ६९ लाख ९१ हजार ४ सय रुपैयाँ छ । उद्योग विभागमा आएको विदेशी लगानीको कुल रकममध्ये पर्यटनमा मात्रै २८.४ प्रतिशत हो । उद्योग विभागबाट विदेशी लगानीको प्रतिबद्धता आएका क्षेत्रमध्ये सेवामूलक क्षेत्रमात्रै २९.४ प्रतिशत हो । यी कम्पनीबाट ३ हजार ३७ जनालाई रोजगारी दिइने उल्लेख छ ।

सूचना प्रविधि
विभागका अनुसार सूचना प्रविधिसम्बन्धि ३७ वटा उद्योगमा विदेशी लगानीका लागि प्रतिबद्धता आएको छ ।

जसमा कुल पुँजी ११ अर्ब ६५ करोड ४४ लाख ६० हजार ३५८ रुपैयाँ छ भने विदेशी लगानी मात्रै ७ अर्ब ८ करोड १२ लाख ३३ हजार ८९८ रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ । जुन उद्योग विभागमार्फत् कुल विदेशी लगानीको प्रतिबद्धतामध्ये १८.३ प्रतिशत हो । यी क्षेत्रका उद्योगले २ हजार ८०८ जनालाई रोजगारी दिनेछन् ।

उर्जा क्षेत्र
विभागमा गत आवमा उर्जा क्षेत्रका लागि ८ वटा उद्योगमा विदेशी लगानीको प्रतिबद्धता आएको छ ।

यी उद्योगमा कुल पुँजी ३३ अर्ब १५ करोड ९४ लाख ५३ हजार ३७२ रुपैयाँ छ भने विदेशी लगानी मात्रै ६ अर्ब ३ करोड ४३ लाख ४५ हजार ४७८ रुपैयाँको प्रतिबद्धता आएको छ । विभागमा आएको कुल विदेशी लगानीमध्ये उर्जा क्षेत्रमा मात्रै १५.६ प्रतिशत हो । यसबाट १९३ जनाले रोजगारी पाउनेछन् ।

उत्पादनमूलक उद्योग
विभागका अनुसार गत आवमा कुल २३ वटा उत्पादनमूलक उद्योगमा विदेशी लगानीको प्रतिबद्धता आएको छ ।

यी उद्योगमा कुल पुँजी ३१ अर्ब ७८ करोड ५० लाख रुपैयाँको प्रतिबद्धता आएको छ भने विदेशी लगानी मात्रै २ अर्ब ७६ करोड ९८ लाख ६८ हजार ७५ रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ । यो उद्योग विभागमा भित्रिएको कुल विदेशी लगानीको ७.२ प्रतिशत हो । यसबाट ९१० जनाले रोजगारी पाउनेछन् ।

कृषि
विभागका अनुसार कृषि क्षेत्रमा गत आवमा मात्रै विदेशी लगानी भएका ४ वटा उद्योगबाट लगानीको प्रतिबद्धता आएको छ ।

यी उद्योगको कुल पुँजी ५३ करोड ५० लाख रुपैयाँ छ भने विदेशी लगानी ४४ करोड ७४ लाख ४ सय रुपैयाँ छ । विभागमा लगानीको प्रतिबद्धता आएको कुल विदेशी लगानीको कृषि क्षेत्रमा मात्रै १.२ प्रतिशत हो । यी उद्योगबाट १८० जनाले रोजगारी पाउनेछन् ।


क्लिकमान्डु