भारतले ल्यायो कडा नियम, अन्तर्राष्ट्रिय उडान बन्द, केटाकेटी र बुढाबुढीलाई घरबाट ननिस्कन सुझाव



कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँगै भारतले कडा नियम ल्याएको छ । बिहीबारसम्म कोरोना भाइरसका कारण ४ जनाको मृत्यु भएपछि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ ।

जस अनुसार २२ मार्चदेखि देशका कुनै पनि इन्टरनेशनल कमर्सियल प्यासेन्जर फ्लाइट आउन अनुमति नदिने भएको छ । यो प्रतिबन्ध एक साताका हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

साथै भारतीय सरकारले १० वर्षभन्दा कम उमेरका बालबालिका र ६५ वर्षभन्दा बढी उमेरका वृद्धवृद्धालाई घरबाट ननिस्कन सुझाव समेत दिएको छ । तर यो नियमन मेडिकल स्टाफ, सरकारी अधिकारी, मेडिकल प्रोफेसनल र जनप्रतिनिधिका लागि लागू भने हुने छैन ।

साथै रेलवे र सिभिल एभिएसन विद्यार्थी, विरामी तथा अपांग वर्गमा यात्रामा दिने छुट पनि खारेज गरेको छ । साथै मास्क र सेनिटाइजरको धेरै मूल्य लिने फार्म, डिपार्टमेन्टल स्टोरलाई कारबाही गर्ने समेत चेतावनी दिएको छ ।

साथै देशभरका स्कुल, कलेज, स्वीमिङ पुल, मल पनि ३१ मार्चसम्म बन्द गरिएको छ । साथै ३१ मार्चसम्म मानिसहरुले एक अर्काको दूरी एक मिटर राख्न समेत सुझाव दिएको छ । यदी जरुरी भए मात्रै बस, रेल तथा विमानमा यात्रा गर्न भनेको छ ।

साथै निजी क्षेत्रका कर्मचारीलाई घरैबाट काम गर्न, स्थानीय प्रशासन नेता, सभामा जम्मा हुने भीडलाई नियन्त्रण गर्नका लागि धर्मगुरुसँग कुराकानी गर्न निर्देशन दिएको छ ।

भारतले एक सातका लागि अन्तर्राष्ट्रिय उडानमा समेत रोक लगाएको छ । यसअघि भारतले युरोप, टर्की, बेलायतबाट भारत आउने यात्रुको प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।

साथै भिस्तारा एयरलाइन्सले २३ मार्चदेखि १५ अप्रिलसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने फैसला समेत गरेको छ ।


क्लिकमान्डु