धिरेन्द्रको शहन्सा होटललाई मलहोत्राले बैंक्वेटसहितको ५ तारे हेल्थ क्लब बनाउँदै



काठमाडौं । काठमाडौं बसुन्धरास्थित शहन्सा होटल अब १५ सय क्षमताको बैंक्वेटसहितको पाँच तारे हेल्थ क्लब बन्ने भएको छ । यसका लागि व्यवसायी दीपक मलहोत्राले होटल खरिद गरी काम गरिरहेका छन् ।

तत्कालिन राजकुमार धिरेन्द्र शाहले शुरु गरेको शहन्सा होटल ३ वर्ष अघि मलहोत्राले खरिद गरेका थिए । मलहोत्राले धिरेन्द्र शाहपछिका होटलका मालिक सोमन दोर्जे लामासँग खरिद गरेका थिए ।

तत्कालिन समयमा १५ कोठासहितको होटल पारिवारिक तथा व्यवसायिक प्रयोजनका लागि समेत निकै प्रयोग हुँदै आएको थियो । मोबाइल व्यवसायमा हाल हालेका मलहोत्राले रियल स्टेट व्यवसाय हुँदै आफूलाई होटल तथा रिसोर्टमा लगानी बढाउने उद्देश्य सहित शहन्सा खरिद गरेका थिए ।

मलहोत्राका अनुसार खरिद गरेको तीन वर्षसम्म त्यहाँ के निर्माण गर्ने निर्णय नहुँदा यत्तिकै थाँती रहेको थियो । तर पछिल्लो समय होटलकै रुपमा चलाउने र त्यहाँ १५ सय मानिस अट्ने क्षमता सहितको बैंक्वेट गर्न मिल्ने र पाँच तारे स्तरको हेल्थ क्लब सञ्चालन गर्ने निर्णयसँगै अहिले डिजाइनको काम सकाएर धमाधम काम भइरहेको छ ।

उनका अनुसार पहिले १५ कोठा भएको होटलमा ११५ कोठामा विस्तार गरिनेछ भने १ हजार ५ सय क्षमताको बैंक्वेटसँगै प्रिमियत हेल्थ क्लव समेत निर्माण गरिनेछ । जसमा हेल्थ क्लवमा अत्याधुनिक इक्युभमेन्टसँगै सेवा र सुविधामा विशेष ध्यान दिइनेछ ।

निर्माण शुरु भइसकेको होटलमा डेढ वर्षमा निर्माण सम्पन्न भइसक्ने लक्ष्य रहेको मलहोत्राले जानकारी दिए ।

‘डिजाइनको काम सकाएर निर्माण शुरु भइसकेको छ, १८ महिनामा तयार हुने लक्ष्य लिएका छौं,’ उनले भने।

हेल्थ क्लबमा मेम्बरसिप उपलब्ध गराइनेछ भने पर्यटकलाई लक्षित गरी होटलको सेवा सुविधामा विस्तार गरिनेछ । पारिवारिक जमघट तथा व्यवसायिक प्रयोजनका लागि समेत प्रयोग गर्न मिल्ने गरी होटलको निर्माण गर्न लागिएको मलहोत्राले जानकारी दिए ।


क्लिकमान्डु