
एजेन्सी । भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक भञ्ज्याङ हुँदै हुने भारत–तिब्बत व्यापार ६ वर्षदेखि निलम्बित भएपछि यसको पुनः सुरुवात हुने आशामा फेरि धक्का लागेको द न्यु इन्डियन एक्सप्रेसले समाचार प्रकाशन गरेको छ ।
चीनको सीमा नजिकै भारतको पिथौरागढ जिल्लाको अन्तिम गाउँ गुञ्जीमा भेला भएका २८ भारतीय व्यापारीहरू तिब्बत प्रवेश गर्न नपाएपछि जुलाई ११ मा धारचुला फर्किएका छन् । उनीहरूले करिब ३ हजार क्विन्टल सक्खर र मिश्री गुञ्जीमै छाडेका छन् । त्यो अहिले वर्षा र ओसका कारण खराब हुने जोखिममा छ ।
यो समूह तिब्बतको ताक्लाकोट (पुरुङ) सँगको ऐतिहासिक व्यापार पुनः सुरु गर्न आधिकारिक पास पाएका १०० व्यापारी र सहायकहरूको टोलीको हिस्सा थियो । उनीहरू जुलाई ८ मा प्रस्थान गर्ने तालिका थियो तर चिनियाँ पक्षबाट अन्तिम अनुमति कहिल्यै आएन ।
धारचुलाका उप–डिभिजनल मजिस्ट्रेट आशिष जोशीले भने, ‘हामीले भारतीय व्यापारीहरूलाई सामान बिना नै तिब्बत भ्रमण गर्न र त्यहाँको व्यवस्था निरीक्षण गर्न अनुमति दिन अनुरोध गरेका छौं । हामी चिनियाँ पक्षको जवाफ पर्खिरहेका छौं ।’
यस अनिश्चितताले सीमावर्ती अर्थतन्त्रमा ठूलो चोट पुर्याएको छ । खाद्यान्न र अत्यावश्यक सामग्रीको अभावका बीच गुञ्जीमा बसिरहनुको कुनै अर्थ नभएको व्यापारीहरूले बताएका छन् ।
उनीहरूको ठूलो चिन्ता भनेको त्यहाँ छाडिएका सामानहरू हुन् । फर्किएका एक व्यापारीले भने, ‘गुञ्जीमा करिब ३ हजार क्विन्टल सक्खर र मिश्री भण्डारण गरिएको छ । लगातारको वर्षाका कारण यो गतिरोध कायमै रह्यो भने हामीले ठूलो नोक्सानी बेहोर्नुपर्ने डर छ ।’
पुरुङ बजारमा नेपाली व्यापारीहरूलाई व्यापार गर्न अनुमति दिइएको तर भारतीय व्यापारीहरूलाई भने अन्योलमा राखिएको भन्दै व्यापारीहरूले आक्रोश व्यक्त गरेका छन् ।
लिपुलेक हुँदै हुने यो व्यापार शताब्दीऔं पुरानो हो । सन् १९६२ को भारत–चीन युद्धपछि पहिलोपटक यो व्यापार बन्द भएको थियो । पछि सन् १९९२ मा ताक्लाकोटमार्फत पुनः सुरु भयो र सन् २०१९ मा कोभिड–१९ महामारीका कारण फेरि ठप्प भयो ।
यस वर्ष सीमा क्षेत्रका १३४ व्यापारीहरूले सहभागिताका लागि निवेदन दिएका थिए । विशेष अनुसन्धान शाखाले सुरक्षा र प्रशासनिक प्रमाणीकरण गरेपछि जिल्ला प्रशासनले १०० व्यापारीका साथै उनीहरूका सहायक, भरिया र खच्चर चालकहरूलाई पास जारी गरेको थियो ।
व्यापारिक पासमा नियमित पर्यटकहरूलाई यात्रा गर्न अनुमति हुँदैन । सन् २०१९ मा व्यापार सञ्चालन भएको अन्तिम वर्ष लिपुलेकमार्फत करिब ३ करोड भारुको कारोबार भएको थियो । त्यसमा निर्यात करिब १.२५ करोड र आयात करिब १.९० करोड भारु थियो ।
यस मार्गले हरेक वर्ष गर्मीयाममा व्यापार गर्ने दर्तावाल सीमावर्ती व्यापारीहरूको ठूलो सञ्जाललाई टेवा पुर्याउँछ । धारचुला र गुञ्जी जस्ता गाउँहरूका लागि यो केवल व्यापार मात्र होइन । यसले यातायात व्यवसायी, भरिया र स्थानीय बजारहरूलाई जीवन प्रदान गर्छ ।





प्रतिक्रिया