वाल स्ट्रिटका व्यापारीहरूलाई आफ्नो पोस्टमा छिटो पहुँच दिनका लागि १ लाख डलरसम्म लिने ट्रम्पको योजना

56
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको सोसल मिडिया कम्पनीले वाल स्ट्रिटका व्यापारी र लगानीकर्ता फर्महरूलाई ट्रुथ सोसल प्लेटफर्ममा राष्ट्रपतिका पोस्टहरूमा छिटो पहुँच दिन प्रति महिना १ लाख डलरसम्म शुल्क लिने विषयमा छलफल गरेको छ ।

ट्रुथ सोसलको स्वामित्व रहेको ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुपले हालैका हप्ताहरूमा फर्महरूले तीन वर्षे योजनाका लागि हस्ताक्षर गरेमा प्रति महिना ६० हजार डलरको सहुलियत योजना पनि अघि सारेको छ ।

टीएमटीजीले बिहीबार ट्रुथ एपीआई नामको सशुल्क र इजाजतपत्र प्राप्त डेटा फिड सार्वजनिक गरेको छ । यसले बैंक र ट्रेडिङ फर्महरूलाई ट्रुथ सोसलका १० सबैभन्दा प्रभावशाली खाताहरूबाट हुने पोस्टहरूमा सबैभन्दा छिटो पहुँच प्रदान गर्नेछ ।

तर, कम्पनीले अहिलेसम्म मूल्य निर्धारणको आधिकारिक विवरण भने दिएको छैन । डेटा लाइसेन्सिङमा कम्पनीको यो पहिलो कदम हो जसले आम्दानीको नयाँ स्रोत खोल्नेछ । तर, डेमोक्रेटहरूले यसको तत्काल आलोचना गरेका छन् ।

सिनेट फाइनान्स कमिटीका शीर्ष डेमोक्रेट सिनेटर रोन वाइडेनले यसले ट्रम्प परिवारलाई आर्थिक फाइदा पुग्ने र वाल स्ट्रिटका व्यापारीहरूलाई धनी बनाउने बताएका छन् । ह्वाइट हाउसले वाइडेनको भनाइमा प्रतिक्रियाका लागि टीएमटीजीलाई नै सोध्न आग्रह गरेको छ तर कम्पनीले अहिलेसम्म कुनै जवाफ दिएको छैन ।

ट्रम्पका सोसल मिडिया पोस्टहरूले अक्सर बजारलाई चलायमान बनाउँछन् र धेरै ट्रेडिङ फर्महरू, हेज फन्डहरू र वित्तीय सेवा फर्महरूको नाफा उनीहरूले कति छिटो ट्रेड कार्यान्वयन गर्न सक्छन् भन्ने कुरामा निर्भर छ ।

उदाहरणका लागि, ९ अप्रिल २०२५ मा ट्रम्पले ट्रुथ सोसलमा आफ्ना धेरै नयाँ ट्यारिफहरू ९० दिनका लागि रोक्ने बताएपछि वाल स्ट्रिटका मुख्य सूचकांकहरू ह्वात्तै बढेका थिए । हाई–फ्रिक्वेन्सी ट्रेडिङ फर्महरूका लागि ट्रुथ एपीआईको पहुँच अनिवार्य हुनेछ किनभने केही मिलिसेकेन्डको गतिको फाइदाले ठूला कारोबारहरूमा लाखौं डलरको नाफा हुन सक्छ । फाइनान्सियल टाइम्सले यसअघि नै बिहीबार १ लाख डलरको सदस्यता शुल्कबारे छलफल भइरहेको रिपोर्ट गरेको थियो ।

टीएमटीजीले ठूला सोसल मिडिया फर्महरूबाट तीव्र प्रतिस्पर्धाको सामना गरिरहेका बेला आफ्नो मिडिया व्यवसाय विस्तार गर्न चुनौतीहरू झेलिरहेको छ । यस नयाँ उत्पादनले प्रभावशाली पोस्टहरूको चौबीसै घण्टा कभरेज र सन् २०२२ सम्मका पुराना पोस्टहरूको आर्काइभ पनि उपलब्ध गराउनेछ ।

कम्पनीले १ अगस्टको उद्घाटन अगावै ग्राहकहरूले हस्ताक्षर गरिसकेको बताए पनि उनीहरू को हुन् भन्ने खुलाएको छैन । ट्रुथ सोसलमा सबैभन्दा बढी पछ्याइएका खाताहरूमा स्वयम् ट्रम्प र उनका छोराहरू डोनाल्ड ट्रम्प जुनियर र एरिक ट्रम्प, साथै ड्यान बोन्गिनो र सिन ह्यानिटी जस्ता समर्थकहरूका छन् ।

नियामक फाइलिङका अनुसार, डोनल्ड जे. ट्रम्प रिभोकेबल ट्रस्टसँग ११ करोड ४७ लाख ५० हजार कित्ता सेयर छ जुन टीएमटीजीको कुल सेयरको ४१ प्रतिशत हो । ट्रम्पका छोराछोरीले रेखदेख गर्ने यो ट्रस्टले उनको लगानी व्यवस्थापन गर्छ ।

ट्रम्प र उनको परिवारले प्रशासनले घोषणा गर्ने नीतिहरूबाट नाफा कमाएर आफ्नो सम्पत्ति बढाउन खोजेको हो कि भन्ने प्रश्न आलोचकहरूले उठाएका छन् । हालैको वित्तीय विवरण अनुसार, ट्रम्पले गत वर्ष आफ्नो परिवारको क्रिप्टो उद्यमबाट १.४ अर्ब डलरभन्दा बढी आम्दानी गरेका थिए ।

गैरपक्षीय निगरानी समूह सिटिजन्स फर रेस्पोन्सिबिलिटी एन्ड एथिक्स इन वाशिङ्टनका अध्यक्ष डोनाल्ड शर्मनले ट्रुथ एपीआई व्यवस्था अत्यन्त अनैतिक हुने बताएका छन् किनभने राष्ट्रपतिले आफ्ना पोस्टहरूमा छिटो पहुँच दिन शुल्क लिएर आर्थिक लाभ उठाउँदैछन् ।

शर्मन र अन्य विज्ञहरूका अनुसार, भ्रष्टाचार रोक्न बनाइएको संविधानको इमोलुमेन्ट्स क्लज यस मामिलामा लागू नहुन सक्छ । उनले भने, ‘मलाई लाग्दैन, कांग्रेस वा कुनै नियामक निकायले कुनै राष्ट्रपति वा बजारलाई प्रभाव पार्ने व्यक्तिले यस प्रकारको पे–फर–एक्सेस व्यवस्था गर्ने कुरा कहिल्यै सोचेको थियो ।’

सिनेटर एलिजाबेथ वारेनले पनि यसलाई अमेरिकीहरूलाई कुनै मद्दत नगरी वाल स्ट्रिटलाई धनी बनाउने र राष्ट्रपतिको पदबाट नाफा कमाउने घिनलाग्दो योजना भनेकी छन् । यस वर्ष करिब २७ प्रतिशतले मूल्य घटेको टीएमटीजीको सेयर शुक्रबार ९.६६ डलरमा स्थिर रह्यो जसले कम्पनीको बजार मूल्य करिब २.७ अर्ब डलर कायम गरेको छ ।