
एजेन्सी । एक सामुद्रिक जोखिम सेवा प्रदायक कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) का अनुसार, गत साता इरानले बारम्बार जहाजहरूमाथि आक्रमण गरेपछि हर्मुज जलयोजकमा तेल ट्यांकरहरूको सुरक्षा स्थिति पुनः अत्यन्तै खराब अवस्थामा पुगेको छ ।
एथेन्समा मुख्यालय रहेको मारिस्क्सका सीईओ दिमित्रीस मानियाटिसले यस हप्ता लोयड्स लिस्ट इन्टेलिजेन्सको एउटा ब्रिफिङमा भने, ‘हामीले हर्मुज जलयोजक हुँदै हुने आवतजावतको मात्रामा कमी आएको देखिरहेका छौं र अहिले जहाजका कर्मचारीहरू पहिलेभन्दा अझ बढी चिन्तित छन् । कोही पनि अगाडि बढ्न तयार छैनन् ।’
संयुक्त राष्ट्रसंघको एजेन्सी अन्तर्राष्ट्रिय सामुद्रिक संगठनको तथ्यांक अनुसार, जुलाई ६ यता कम्तीमा ९ वटा जहाजमाथि आक्रमण भएको छ । इरानले जहाजहरूलाई अमेरिकी सेनाद्वारा सुरक्षित ओमानको तट नभई आफ्नो क्षेत्रीय जलमार्गबाट हिँड्न बाध्य पार्ने प्रयास गरिरहेको छ ।
आईएमओका अनुसार, मंगलबार ओमानको तटमा अल बाह्या नामक कच्चा तेल ट्यांकरमा भएको आक्रमणमा एकजना नाविकको मृत्यु भएको छ र तीनजना घाइते भएका छन् । सोही दिन ओमान नजिकै यात्रा गरिरहेको अर्को कच्चा तेल ट्यांकर मोम्बासा बीमाथि भएको आक्रमणमा ११ जना नाविक घाइते भएका थिए ।
विश्वको सबैभन्दा ठूलो ढुवानी संघहरूमध्ये एक बिमकोका मुख्य सुरक्षा अधिकारी ज्याकोब लार्सनका अनुसार इरानी आक्रमणहरूमा एन्टि–शिप मिसाइलहरू प्रयोग गरिएका छन् । मानियाटिसले थपे, ‘यी सबै घटनाले कर्मचारीहरूमा गहिरो प्रभाव पारेको छ र अहिले उनीहरूलाई जस्तोसुकै आश्वासन दिए पनि यात्रा गर्न चाहिरहेका छैनन् । अब यो पैसाको कुरा रहेन, न त यो कुनै उच्च उद्देश्यको कुरा हो । अहिलेको निर्णय प्रक्रियामा केवल त्रास हाबी भएको छ ।’
अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार, यस हप्ता इरानविरुद्ध पुनः जलसैनिक नाकाबन्दी लगाएपछि बुधबार अमेरिकी सेनाले एउटा खाली तेल ट्यांकरलाई काम नलाग्ने बनाइदिएको छ । कुरासाओको झण्डा बोकेको एम÷टी बेल्माले इरानको खार्ग टापुतर्फ अन्तर्राष्ट्रिय जलक्षेत्र हुँदै यात्रा गर्दा बारम्बार दिइएको चेतावनीलाई बेवास्ता गरेको सेन्टकमले बताएको छ ।
लार्सनका अनुसार, ट्राफिक सेपरेसन स्किम भनिने हर्मुजको बीचबाट जाने परम्परागत मार्ग समुद्री बारुद (माइन) को खतराका कारण जहाजहरूका लागि अझै पनि अत्यन्तै खतरनाक छ । उनले भने, ‘कुनै माइन विस्फोट भयो भने सामान्यतया त्यो जहाजको मुनि हुन्छ । माइन एक धेरै शक्तिशाली हतियार हो । त्यसैले माइन बिछ्याइएको क्षेत्रमा जहाज जानु अत्यन्तै खतरनाक हुन्छ ।’
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले मंगलबार अमेरिकी जलसैनिक नाकाबन्दी पुनः लागू भएपछि हर्मुज इरान बाहेक सबै जहाजका लागि खुला रहेको बताएका छन् । फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले भने, ‘मानिसहरू जान चाहन्छन् भने यो खुला छ । हामी यसलाई इरानका लागि मात्र खोलिरहेका छैनौं । इरानका लागि भित्र र बाहिर दुवै तर्फबाट यो बन्द छ तर अरूका लागि अहिले खुला छ ।’
तर, जहाज ट्य्राकिङ गर्ने कम्पनीहरूले आवतजावतमा भारी गिरावट आएको देखेका छन् । लोयड्सका विश्लेषकहरूको टोलीका अनुसार, हर्मुज जलयोजक ठूलो मात्रामा फेरि बन्द भएको छ र केही जहाजहरूले मात्र आफ्नो ट्रान्सपोन्डर बन्द गरेर पार गरिरहेका छन् ।
व्यापार गुप्तचर संस्था केप्लरको तथ्यांक अनुसार, ट्राफिक तीन हप्ताकै न्यून स्तरमा झरेको छ । बुधबार १५ वटा जहाजले पार गरेकोमा बिहीबार यो संख्या घटेर ८ मा पुगेको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गर्नुअघि दैनिक १०० भन्दा बढी जहाजले हर्मुज पार गर्ने गर्थे ।
सार्वजनिक रूपमा बोल्ने अधिकार नभएका कारण नाम नखुलाउने शर्तमा ट्रम्प प्रशासनका एक वरिष्ठ अधिकारीले सीएनबीसीलाई बताएअनुसार, बिहीबार लाखौं ब्यारल तेल बोकेका जहाजहरूले हर्मुज पार गरेका थिए । युद्धअघि यस जलडमरूमध्यबाट दैनिक करिब २ करोड ब्यारल कच्चा तेल र अन्य पेट्रोलियम पदार्थहरू निर्यात हुने गर्थ्यो ।
ट्यांकर आक्रमणको बदलामा अमेरिकाले इरानविरुद्ध ६ चरणको हवाई आक्रमण गरेको छ । तेहरानले खाडीमा रहेका अमेरिकी सहयोगीहरूलाई निशाना बनाएर मिसाइल प्रहार गरी त्यसको जवाफ दिएको छ । इरान र यमनका हुती सहयोगीहरूले अब लाल सागरमा पनि जहाज आवतजावत बन्द गर्ने धम्की दिइरहेका छन् । त्यो युद्धका बेला साउदी तेल निर्यातका लागि एक महत्त्वपूर्ण वैकल्पिक मार्ग बनेको छ ।
लार्सनले सीएनबीसीलाई भने, ‘दुर्भाग्यवश हामी तनाव वृद्धिको बाटोमा छौं र समयसँगै स्थिति अझ बिग्रन सक्छ ।’
जुन १७ मा हस्ताक्षर गरिएको समझदारी पत्र अन्तर्गत हर्मुज कसरी खोल्ने भन्ने विषयमा अमेरिका र इरानबीचको विवाद जारी रहँदा लडाइँ झन् चर्किएको छ । तेहरानले जलयोजकमा जहाजहरूलाई सुरक्षित मार्ग दिने वाचा गरेको थियो तर सम्झौताले जहाजहरूले कुन लेन प्रयोग गर्ने भन्ने कुरा परिभाषित गरेको थिएन ।
लार्सनका अनुसार, ढुवानी कम्पनीहरूलाई हर्मुज सुरक्षित छ भन्ने कुरामा इरान र अमेरिकाबाट विश्वसनीय आश्वासन आवश्यक छ । सम्झौताको अभावमा अमेरिकाले इरानी मिसाइल ब्याट्री, ड्रोन अपरेटर र बन्दुकधारी डुंगाहरूमाथि आक्रमण जारी राख्ने विकल्प मात्र बाँकी रहने उनले बताए ।
ढुवानीकर्ताहरूले अमेरिकाले तेहरानबाट हुने खतरालाई सफलतापूर्वक कम गरेको विश्वास गरे भने ट्राफिक पुनः बढ्न सक्ने विश्लेषकको भनाइ छ । ढुवानी कम्पनीहरूको जोखिम मोल्ने क्षमता फरक–फरक हुन्छ । कोही हर्मुज पार गर्न इच्छुक छन् भने कोही यसबाट पूर्ण रूपमा टाढा बसिरहेका छन् ।
तर, हर्मुज पार गर्ने निर्णय आफ्नो डेस्कमा बस्ने जहाज मालिकको हातमा मात्र हुँदैन । यसका लागि जहाजका कर्मचारीहरू पनि वास्तवमै सहमत हुनु आवश्यक रहेको लार्सनले बताए ।





प्रतिक्रिया