
काठमाडौं । नेपाल जियोटेक्निकल सोसाइटी (एनजीएस) ले ‘आईएसएसएमजीई (इन्टरनेशनल सोसाइटी फर सोइल मेकानिक्स एण्ड जियोटेक्निकल इन्जिनियरिङ) सर्वोत्कृष्ट सदस्य संस्था अवार्ड–२०२६’ पाएको छ ।
विश्वभरका ९६ देशका सदस्य संस्थाहरू आबद्ध रहेको यस अन्तर्राष्ट्रिय निकायले प्रत्येक ४ वर्षमा उत्कृष्ट योगदान पु¥याउने राष्ट्रिय संस्थालाई यो पुरस्कार प्रदान गर्ने गर्दछ । व्यावसायिक जियोटेक्निकल इन्जिनियरिङको विकास, अन्तर्राष्ट्रिय सहकार्य र संस्थागत सक्रियताको उच्च मूल्याङ्कन गर्दै यस वर्ष नेपाललाई सो सम्मान प्रदान गरिएको हो ।
अस्ट्रियाको भियनामा सम्पन्न २१औँ अन्तर्राष्ट्रिय जियोटेक्निकल सम्मेलनमा नेपालका तर्फबाट महासचिव इ. कल्पना अधिकारीले यो प्रतिष्ठित पुरस्कार ग्रहण गरेकी थिइन् ।
यसै उपलब्धिको खुसीयालीमा आइतबार ललितपुरस्थित युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजमा एक विशेष सम्मान तथा उत्सव कार्यक्रम आयोजना गरियो। कार्यक्रममा अनलाइनमार्फत जोडिएका आई.एस.एस.एम.जी.ई का अध्यक्ष तथा पदाधिकारीहरूले अन्तर्राष्ट्रिय जियोटेक्निकल समुदायमा नेपालको बढ्दो सक्रियताको प्रशंसा गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय योजना आयोगका सदस्य इ. अर्जुनजंग थापाले देशको नीति निर्माण तथा विकास प्रक्रियामा पेसागत संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहने बताए । उनले आगामी दिनमा एनजीएस जस्ता संस्थाहरूलाई नीतिगत गतिविधिमा सहभागी गराउने प्रतिबद्धता व्यक्त गरे । यस्तै, नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा. डा. पद्मबहादुर शाहीले व्यावसायिक इन्जिनियरिङको प्रवद्र्धनका लागि नियामक निकाय र पेसागत संस्थाबीचको सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिए ।
सोसाइटीका अध्यक्ष प्रा. डा. इन्द्रप्रसाद आचार्य, पूर्व अध्यक्षहरू प्रा. डा. नेत्रप्रकाश भण्डारी र डा. मन्दीप सुबेदीले सीमित स्रोत–साधनका बाबजुद सदस्यहरूको समर्पण, स्वयंसेवी भावना र युवा इन्जिनियरहरूको सक्रियताका कारण यो साझा अन्तर्राष्ट्रिय सफलता सम्भव भएको बताए ।
‘जियोमाण्डु–२०२७’ काठमाडौंमा हुने
अन्तर्राष्ट्रिय सम्मेलन ‘जियोमाण्डु–२०२७’ सन् २०२७ मार्च १७ देखि १९ सम्म काठमाडौँमा आयोजना गर्ने घोषणा गरेको छ । नेपालमा जियोटेक्निकल इन्जिनियरहरूको राष्ट्रिय पेसागत संस्थाको रूपमा सक्रिय एनजीएसले आयोजना गर्ने उक्त सम्मेलनमा ५० भन्दा बढी देशका करिब ५०० विशेषज्ञहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । सम्मेलनले नेपालको जियोटेक्निकल क्षेत्रलाई विश्वसामु अझ मजबुत रूपमा स्थापित गर्ने विश्वास लिइएको छ ।






प्रतिक्रिया