
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल पुनर्बहाली भएकी छिन् ।
प्रबन्ध निर्देशक अर्यालसहितका टेलिकमका पदाधिकारीहरुमाथी लागेको बिलिङ प्रणालीको खरिद गर्दा ३३ करोड रुपैयाँभन्दा बढी रकम भ्रष्टाचार गरेको भन्ने आरोपलाई विशेष अदालतबाट सफाइ दिएसँगै उनी पुनरवहाली भएकी हुन् ।
नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको (माननीय मन्त्रीस्तर) २०८३ असार २६ को निर्णयानुसार उनको निलम्बन फुकुवा भएसँगै उनको टेलिकममा पुनर्बहाली भएको हो ।
पदबहाली कार्यक्रममा प्रबन्ध निर्देशक अर्यालले कम्पनीका कर्मचारीहरूलाई विशेष सम्बोधन गर्दै संस्था र देशको हितमा निष्ठापूर्वक काम गर्न डराउन नपर्ने बताइन उनले विगतमा कर्मचारीहरूमाथि लागेको आरोप र भ्रमको बादल हटेर अन्ततः सत्य स्थापित भएको उल्लेख गर्दै आफ्नो अनुपस्थितिमा संस्थालाई कुशल नेतृत्व र सहयोग प्रदान गर्ने सम्पूर्ण टिमप्रति धन्यवाद ज्ञापन गरिन् ।
सम्बोधनकै क्रममा उनले कम्पनीमा प्रक्रियागत सुधारको आवश्यकता औँल्याउँदै आगामी दिनमा आन्तरिक मात्र नभई बाह्य दृष्टिकोणलाई समेत ध्यानमा राखेर कार्य गरिने बताइन् । उनले नेपाल सरकारको भावना एवं मार्गनिर्देशन अनुरूप अविचलित तथा सत्यनिष्ठ भई नेपाल टेलिकमको जनआस्था र बजारको साखलाई थप सुदृढ बनाइ कम्पनीको सेवालाई थप ग्राहकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।
नेपाल टेलिकम आफ्ना ग्राहकवर्ग, सरोकारवाला तथा आम नागरिकप्रति गुणस्तरीय सेवा प्रवाह गर्न र कानुनी राज्यको मर्यादालाई आत्मसात गर्दै देशको दूरसञ्चार क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्न सदैव प्रतिबद्ध रहेको पनि पहाडीको भनाइ छ ।






प्रतिक्रिया