
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न सञ्चारमाध्यमका कार्यालयबाहिर पहिचान नखुलेका सवारीसाधनहरू शंकास्पद रूपमा राखिएको र सञ्चारकर्मीहरूलाई मनोवैज्ञानिक दबाब दिने प्रयास भएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीका महामन्त्री विपिन कुमार आचार्यद्वारा आज जारी विज्ञप्तिमा राज्यको चौथो अंगका रूपमा रहेका सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निर्भीक रूपमा कार्य गर्ने वातावरणमा अवरोध पुऱ्याउन खोजिएको उल्लेख गरिएको छ । यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताको ठाडो उल्लंघन भएको रास्वपाको ठहर छ ।
विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अंगलाई संकुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवाञ्छित क्रियाकलापहरू राष्ट्रिय स्वतन्त्र पार्टीलाई किमार्थ स्वीकार्य छैनन्।’
रास्वपाले सञ्चार क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट प्रेरित यस्ता कार्यहरूको भर्त्सना गर्दै घटनाको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी सम्पूर्ण सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न माग गरेको छ ।
यस्ता शंकास्पद गतिविधिमा संलग्न जोसुकै भए पनि उनीहरूको तत्काल पहिचान गरी कानुनबमोजिम कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराइएको छ।
महामन्त्री आचार्यले सम्पूर्ण सञ्चार जगतलाई कुनै पनि दबाब र त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारिताको आफ्नो व्यावसायिक धर्म निर्वाह गरिरहन अपिल गर्दै सञ्चारकर्मी एवं सञ्चार गृहहरूको सुरक्षा र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रास्वपा सदैव दृढताका साथ उभिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।






प्रतिक्रिया