अमेरिका-इरान युद्ध फेरि चर्किँदै: बहराइन, कुवेत र जोर्डनमा साइरन, तेलको मूल्य उकालो


एजेन्सी । पश्चिम एसिया तनाव फेरि चरम बिन्दुमा पुगेको छ । फेब्रुअरी २८ मा सुरु भएको अमेरिका-इजरायल र इरानबीचको युद्ध अप्रिलमा युद्धविरामपछि केही समय शान्त भएको थियो । तर जुलाई ८ पछि फेरि सक्रिय भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुलाई १० मा नै युद्धविराम ‘सकियो’ भनी घोषणा गरिसकेका छन् र सोमबार बिहान अमेरिकाले इरानको दक्षिणी तटीय क्षेत्रमा नयाँ बमबारी गरेपछि इरानले क्षेत्रभरका अमेरिकी सहयोगी राष्ट्रहरूमाथि व्यापक प्रतिकारात्मक आक्रमण थालेको छ ।

के भइरहेको छ ?

इरानले आफूले बहराइन, कुवेत, जोर्डन र ओमानमा रहेका अमेरिकी सैन्य ठेगानाहरूलाई निशाना बनाएको दाबी गरेको छ । यो कदम होर्मुजलाई लिएर बढ्दो सैन्य तनावको बीचमा आएको हो जुन इरानले बन्द गरेको घोषणा गरिसकेको छ ।

इरानको दक्षिणी तटीय सहर बन्दर अब्बास, सिरिक, जास्क र केश्म टापुमा विस्फोटहरू सुनिएका छन्।

बहराइनको गृह मन्त्रालयका अनुसार सोमबार देशभर सतर्कताका साइरन बजाइएका छन् । नागरिकहरूलाई शान्त रहन र नजिकैको सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । इरानी क्रान्तिकारी गार्डले बहराइनको शेख इसा एयरबेसका विभिन्न सुविधाहरूलाई लक्षित गरेको जनाएको छ ।

यो एयरबेसमा अमेरिकी सेनाको स्थायी उपस्थिति नभए पनि समय-समयमा अमेरिकी सैनिक टोलीहरू घुमाइरहने गर्छन् ।

बहराइनको सेनाको सामान्य कमाण्डले एउटा वक्तव्यमा इरानले ‘आफ्नो घातक आक्रमणहरूमार्फत क्षेप्यास्त्र र ड्रोनद्वारा राज्यका नागरिकहरूलाई लगातार लक्षित गर्दै आएको छ’, तर हवाई सुरक्षा प्रणालीले धेरैजसो आक्रमणहरू रोकेर नष्ट गरेको दाबी गरेको छ ।

जोर्डन: चार क्षेप्यास्त्र रोकियो

जोर्डनको सेनाले आफ्नो हावाई क्षेत्रमा प्रवेश गरेका चारवटा क्षेप्यास्त्र सफलतापूर्वक रोकेर खसालेको जनाएको छ, जुन इरानी भूभागबाट प्रक्षेपण गरिएका थिए ।

यसअघि आईआरजीसीले जोर्डनको प्रिन्स हसन एयरबेसलाई क्षेप्यास्त्र र ड्रोनले निशाना बनाई त्यहाँका ईन्धन डिपो र गोला-बारूद भण्डारणहरूमा आगजनी गरेको दाबी गरिसकेको थियो ।

आईआरजीसीले कुवेतमा रहेको अमेरिकी सतह-देखि-सतह क्षेप्यास्त्र आधारलाई पनि निशाना बनाएको दाबी गरेको छ, जसमा दुईवटा हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम प्रक्षेपकहरू र गोला-बारूदले भरिएका गोदामहरू पूर्ण रूपमा नष्ट भएको उल्लेख छ ।

कुवेतको सेनाले पनि ‘शत्रुतापूर्ण हावाई लक्ष्यहरू’ सँग जुधिरहेको जनाएको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) ले बहराइन, कुवेत, कतार, जोर्डन र ओमानमाथिको यी नयाँ इरानी आक्रमणहरूको कडा शब्दमा निन्दा गरेको छ । यूएईको विदेश मन्त्रालयले यसलाई ‘भाइचाराका राष्ट्रहरूको सार्वभौमिकताको खुला उल्लंघन र तिनीहरूको सुरक्षा तथा स्थिरतामाथिको खतरा’ भनी वर्णन गरेको छ र ती राष्ट्रहरूसँगको पूर्ण एकजुटता व्यक्त गरेको छ।

क्यानडाका विदेशमन्त्री अनिता आनन्दले पनि खाडी राष्ट्रहरूप्रति समर्थन जनाउँदै यी हमलाहरूले क्षेत्रमा सुरक्षा र स्थिरता पुनर्स्थापना गर्ने प्रयासलाई कमजोर बनाउने र होर्मुजमा जहाजहरूमाथिको आक्रमण अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भएको बताएकी छन्।

इस्लामिक सहयोग संगठनले पनि इरानका पछिल्ला आक्रमणहरूको निन्दा गर्ने वक्तव्य जारी गरेको छ।

इरानको अडान: होर्मुज बन्द नै रहन्छ

इरानको खतम अल-अन्बिया केन्द्रीय कमाण्डका प्रवक्ता एब्राहिम जोल्फागारीले होर्मुज बन्द नै रहेको दोहोर्‍याउँदै चेतावनी दिएका छन् कि सेन्टकमको भरमा जलडमरूमध्यमा प्रवेश गर्ने जुनसुकै जहाज ‘लाइफबोटमा फर्कनुपर्ने’ अवस्था आउन सक्छ।

अमेरिकी हमलाहरूको जवाफमा इरानको खुजेस्तान प्रान्तमा पर्ने अबादान सहरका तीन ठाउँमा हमला भई कम्तीमा दुई जनाको मृत्यु र तीन जना घाइते भएको इरानी समाचार एजेन्सी फार्स र तसनिमले जनाएका छन् । बन्दर अब्बास र केश्म टापु नजिकै पनि विस्फोटहरू सुनिएका छन्।

बुशेहरको उप-गभर्नरले भने बुशेहर आणविक ऊर्जा केन्द्र नजिकै आक्रमण भएको दाबीलाई अस्वीकार गरेका छन्।

तेलको बजारमा तरंग

यस तनावको प्रत्यक्ष असर विश्व तेल बजारमा देखिएको छ। ब्रेन्ट क्रुड तेलको मूल्य झण्डै ३.९प्रतिशत ले बढेर प्रति ब्यारेल करिब ७९ डलर पुगेको छ, जबकि अमेरिकी क्रुड पनि ३.४प्रतिशत ले बढेर ७३.८७ डलर पुगेको छ। विश्लेषक बब म्याकनालीका अनुसार यो वृद्धि “अपेक्षाकृत सामान्य” रहेको छ, किनभने राष्ट्रपति ट्रम्पले होर्मुज जलडमरूमध्य खुला राख्ने आश्वासन दिइरहेका छन्, जसले “ठूलो आर्थिक तथा वित्तीय विपत्ति” रोक्न खोजिएको बताएका छन्। एप्रिलमा प्रति ब्यारेल ११५ डलरसम्म पुगेको ब्रेन्ट क्रुडको मूल्य त्यसयता ओरालो लागिरहेको थियो।

सेन्टमकाका अनुसार ट्रम्पले इरानी सेनालाई ‘जवाफदेही बनाउन’ नयाँ प्रहारको आदेश दिएका हुन् । यी सबै घटनाक्रमले युद्धविराम व्यावहारिक रूपमा भंग भइसकेको तर औपचारिक कूटनीतिक वार्ताको ढोका भने पूर्णतया बन्द नभइसकेको रोटर्सले जनाएको छ ।