
एजेन्सी । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले सन् २०२६ को विश्वकपपछि पुरुष विश्वकपलाई ६४ टोलीसम्म विस्तार गर्ने विषयमा समीक्षा गरिने बताएका छन् । उनका अनुसार विश्वकप ‘युरोप र दक्षिण अमेरिकाका लागि मात्र होइन, सम्पूर्ण विश्वका लागि’ हुनुपर्छ ।
६४ टोलीको विश्वकपको प्रस्ताव पहिलो पटक गत वर्ष आएको थियो । इन्फान्टिनोले ४८ टोली सहभागी भएको २०२६ विश्वकप सफल भएको दाबी गर्दै अब ६४ टोलीको विश्वकप सम्भव छ कि छैन भन्ने विषयमा छलफल हुने बताएका हुन्।
उनले भने, ‘विश्वकप आयोजना गर्दा संसारभरका देशलाई अवसर दिनुपर्छ । प्रत्येक राष्ट्रले विश्वकप खेल्ने सपना देख्न पाउनुपर्छ ।’
इन्फान्टिनोका अनुसार अहिले साना देशहरूको फुटबल स्तर पनि लगातार सुधार भइरहेको छ । तर उनीहरूलाई विश्वकपमा खेल्ने अवसर नदिइए विकासको प्रेरणा कमजोर हुन सक्छ ।
४८ टोलीको विश्वकप सफल भएको दाबी
इन्फान्टिनोले पहिलो पटक ४८ टोली सहभागी भएको विश्वकपलाई ‘ठूलो सफलता’ बताएका छन् । उनले विशेषगरी अफ्रिकाका १० मध्ये ९ टोली नकआउट चरणमा पुगेको उदाहरण दिए ।
उनका अनुसार अघिल्लो विश्वकपमा अफ्रिकाबाट केवल ५ टोलीले मात्र स्थान पाएका थिए । अहिले धेरै टोलीले अवसर पाएपछि उनीहरूको प्रदर्शन पनि उल्लेखनीय रूपमा सुधारिएको छ ।
फिफाले सन् २०१७ मै विश्वकपलाई ३२ टोलीबाट ४८ टोलीमा विस्तार गर्ने निर्णय गरेको थियो ।
सन् २०३० को विश्वकपलाई ६४ टोलीको बनाउने औपचारिक प्रस्ताव दक्षिण अमेरिकी फुटबल महासंघ (कोन्मेबोल) ले अप्रिल २०२५ मा राखेको थियो । तर यसबारे अहिलेसम्म कुनै अन्तिम निर्णय भएको छैन ।
२०३० को विश्वकप मुख्य रूपमा स्पेन, पोर्चुगल र मोरक्कोले आयोजना गर्नेछन् । प्रतियोगिताको शतवार्षिकीको अवसरमा उद्घाटनका तीन खेल भने अर्जेन्टिना, उरुग्वे र पाराग्वेमा खेलाइनेछ ।
विस्तारको विपक्षमा पनि बलियो आवाज
युरोपेली फुटबल महासंघ (यूईएफए) का अध्यक्ष अलेक्सान्डर चेफेरिनले ६४ टोलीको विश्वकपलाई ‘खराब विचार’ भन्दै विरोध गरेका छन् । उनका अनुसार यसले विश्वकपको गुणस्तर र छनोट प्रतियोगिता दुवै प्रभावित हुन सक्छ ।
एसियाली फुटबल महासंघ (एएफसी) का अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफाले पनि थप विस्तारले ‘अव्यवस्था’ निम्त्याउने बताएका छन् ।
उत्तर तथा मध्य अमेरिका र क्यारेबियन फुटबल महासंघ (कोन्काकाफ) का अध्यक्ष भिक्टर मोन्टाग्लियानीले पनि यो प्रस्ताव उचित नलागेको प्रतिक्रिया दिएका छन् । उनका अनुसार यसले विश्व फुटबलको समग्र संरचनामै नकारात्मक असर पार्न सक्छ ।
यद्यपि, अमेरिकी राष्ट्रपति कार्यालयको विश्वकप कार्यदलका कार्यकारी निर्देशक एन्ड्र्यु जुलियानीले अमेरिका सन् २०३८ को विश्वकप आयोजना गर्न इच्छुक रहेको र ६४ टोलीको प्रतियोगिता पनि सफलतापूर्वक व्यवस्थापन गर्न सक्ने बताएका छन् ।
आयोजक राष्ट्रका लागि चुनौती
विश्वकपको आकार बढ्दै जाँदा आयोजक देशका लागि चुनौती पनि थपिने निश्चित छ ।
२०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरिरहेका छन् । २०३० मा प्रतियोगिता ६ देशमा हुनेछ भने २०३४ को विश्वकप साउदी अरेबियामा हुनेछ ।
यदि विश्वकप ६४ टोलीको बन्यो भने प्रतियोगितामा १२८ खेल हुनेछन् । यस्तो ठूलो प्रतियोगिता व्यवस्थापन गर्नु आयोजकका लागि निकै कठिन हुनेछ ।
तर यसको सकारात्मक पक्ष पनि छ । ६४ टोलीको विश्वकप भएमा फिफाका २११ सदस्य राष्ट्रमध्ये झण्डै एकतिहाइ देशले विश्वकप खेल्ने अवसर पाउनेछन् । साथै, बढी खेल र ठूलो प्रतियोगिताबाट फिफाको आम्दानी पनि बढ्नेछ, जसको लाभ सदस्य राष्ट्रहरूले पनि पाउने अपेक्षा गरिएको छ ।
हालसम्म फिफाले कुनै अन्तिम निर्णय गरेको छैन । फिफा परिषद्ले सबै पक्षसँग छलफल गरेपछि मात्र यसबारे अन्तिम निर्णय लिनेछ ।
बीबीसीबाट






प्रतिक्रिया