रेफ्रीसँग मेस्सीको बहस: अपमानजनक व्यवहार नगर्नुहोस्


एजेन्सी । अर्जन्टिना र स्विट्जरल्याण्डबीच २०२६ विश्वकपको क्वाटरफाइनलमा एक रोमाञ्चक भिडन्त भयो । तर मैदानको रणनीतिक लडाइँभन्दा बाहिर एक विशेष क्षणले सबैको ध्यान तान्यो जुन केही सेकेन्डमै भाइरल भयो ।

खेलको पहिलो हाफमा लियोनेल मेस्सीले पोर्चुगाली रेफ्री जोआओ पेड्रो पिनहेरोसँग विवाद गरे । रेफ्रीले उनीसँग जसरी कुरा गरे त्यो शैली मेस्सीलाई मन परेन र उनले त्यसको प्रतिवाद गरे।

‘अल्बिसेलेस्टे’ (अर्जन्टिना टोली) का कप्तानको रूपमा मेस्सीले आफ्नो अडान राखे र सम्मानजनक संवादको माग गरे । फ्रि-किकको समयमा रेफ्रीको बोल्ने शैली प्रति उनले आफ्नो असन्तुष्टि स्पष्ट पारे ।

‘मेरो अपमान नगर’

स्विट्जरल्याण्डले फ्रि-किक प्रहार गर्नुअघि यो घटना भएको थियो । मेस्सी अर्जन्टिनाको डिफेन्समा उभिएका थिए, जब पिनहेरोले उनलाई तोकिएको दुरीमा पछि हट्न निर्देशन दिए । तर रेफ्रीको बोल्ने स्वर र हाउभाउले मेस्सीलाई रुष्ट बनायो, जसको जवाफमा उनले तुरुन्तै भने, ‘राम्रोसँग बोल । अपमानजनक व्यवहार नगर ।’

तनाव त्यतिमै सकिएन । फ्रि-किक प्रहार गरिसकेपछि, टेलिभिजन क्यामेराहरूले ती दुईबीचको अर्को संवाद कैद गरे । मेस्सी फेरि रेफ्रीको नजिक गए र उनले केही भने । उनको सन्देश स्पष्ट देखिन्थ्यो ।

आफ्ना शब्दहरू कडा भए तापनि, अर्जेन्टिनी कप्तान संयमित देखिए । उनले आफ्ना दुवै हात पछाडि राखेका थिए र पूरै संवादको क्रममा शान्त स्वभाव कायम राखे।

यस भनाभनका कारण कुनै पनि कारबाही त भएन, तर विश्वकपको सेमिफाइनलमा पुग्ने उच्च दबाबपूर्ण खेलमा यो क्षण सबैभन्दा बढी चर्चाको विषय बनेको खेलकुद सम्बन्धी अनलाइन मार्काले जनाएको छ ।

को हुन् जोआओ पिनहेरो ?

पोर्चुगलको भिला नोभा डे फामालिकाओमा जन्मेका ३८ वर्षीय जोआओ पेड्रो पिनहेरो युरोपका उत्कृष्ट रेफ्रीहरूमध्ये एक मानिन्छन् । उनले २०१५ मा पोर्चुगलको शीर्ष डिभिजनमा डेब्यु गरेका थिए भने त्यसको एक वर्षपछि नै फिफाको अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता पाएका थिए ।

युरोपेली फुटबलमा उनको छवि राम्रो छ । उनले युइएफए च्याम्पियन्स लिग, युरोपा लिग र २०२५ को युइएफए सुपर कप जस्ता ठूला प्रतियोगिताहरूमा निर्णायकको भूमिका निभाइसकेका छन् । तिनै अनुभव र योग्यताका कारण उनलाई २०२६ को विश्वकपका लागि चयन गरिएको थियो।