स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा


काठमाडौं । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा भर्खरै सम्पन्न प्रतिस्पर्धात्मक क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना उपाधि रक्षाको नजिक पुगेको हो।

निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा दुई गोल थप्दै अर्जेन्टिनाले सानदार जित सुनिश्चित गर्‍यो ।

खेलको १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरको गोलबाट अर्जेन्टिनाले सुरुवाती अग्रता लिएको थियो । कप्तान लियोनल मेसीले प्रहार गरेको कर्नर बललाई म्याक एलिस्टरले हेडमार्फत उत्कृष्ट गोलमा परिणत गरेका थिए । सोही गोलको मद्दतले पहिलो हाफसम्म अर्जेन्टिना १–० ले अगाडि रहेको थियो ।

दोस्रो हाफको ६७औँ मिनेटमा स्विट्जरल्यान्डले बराबरी गोल फर्कायो । खेललाई १-१ को स्थितिमा ल्याउन स्विट्जरल्यान्डका खेलाडीले उत्कृष्ट प्रदर्शन गरे पनि त्यसपछि निर्धारित समयमा थप गोल हुन सकेन । खेलकै क्रममा अर्जेन्टिनी खेलाडीमाथि फल गरेपछि रेफ्रीले स्विट्जरल्यान्डका बी. इम्बोलालाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए, जसका कारण स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित भएको थियो।

अतिरिक्त समयमा अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्‍यो । खेलको ११२औँ मिनेटमा युलियन अल्भारेजले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए भने १२०+१ मिनेटमा लाउटारो मार्टिनेजले अर्को गोल थप्दै अर्जेन्टिनाको ३–१ को जित पक्का गरे।
अब अर्जेन्टिनाले सेमिफाइनलमा इङ्ल्यान्डको सामना गर्नेछ। इङ्ल्यान्ड आजै बिहान भएको क्वार्टरफाइनल खेलमा नर्वेलाई २–१ गोलले पराजित गर्दै अन्तिम चारमा पुगिसकेको छ।