८ टोलीको पावर र्‍याङ्किङ: फ्रान्स शीर्ष स्थानमा, इंग्ल्याण्ड उक्लिँदा अर्जेन्टिना कमजोर


विश्वकप अब अन्तिम चरणमा पुगेको छ । केवल आठ टोली बाँकी रहँदा, २०२६ विश्वकप उत्कर्षमा पुग्न लागेको छ जहाँ प्रत्येक क्वार्टर-फाइनलिस्टका लागि दाउ निकै उच्च छ । यो रोमाञ्चक प्रतियोगिताले लगभग हरेक दिन जादुई क्षणहरू प्रदान गरिरहेकोले अबका खेलहरू अझै उत्कृष्ट हुने अपेक्षा गरिएको छ ।

चाहे त्यो मेक्सिकोविरुद्ध इङ्गल्याण्डको रोमाञ्चक जित होस्, इजिप्टलाई हराउन अर्जेन्टिनाले गरेको ऐतिहासिक पुनरागमन होस् वा बेल्जियमले संयुक्त राज्य अमेरिकालाई धुलो चटाएको खेल होस्, अन्तिम १६ मा सबैका लागि केही न केही विशेष थियो।

अर्लिङ हालान्डले ब्राजिललाई हराउन नर्वेका लागि दुवै गोल गर्दै आफ्नो पहिलो विश्वकपमा दबदबा कायम राखे, तर हामीले खेलका अर्का एक दिग्गजलाई बिदाइ गर्‍यौँ । स्पेनसँग पोर्चुगलको हारसँगै क्रिस्टियानो रोनाल्डोको विश्वकप जित्ने सपना समाप्त भयो।

अब हामी प्रतियोगिताको निर्णायक मोडमा आइपुगेका छौँ, जुलाई १९ मा न्यु जर्सीमा फुटबलको सबैभन्दा प्रतिष्ठित ट्रफी कसले उचाल्ला त ? गोल डटकमले बाँकी आठ टोलीहरूलाई यसरी क्रमबद्ध गरेको छ जसलाई यहाँ प्रश्तुत गरिएको छ ।

अघिल्लो अपडेट: जुलाई ४, २०२६ । अन्तिम १६ मा बाहिरिएका टोलीहरू: क्यानडा, पराग्वे, ब्राजिल, मेक्सिको, पोर्चुगल, संयुक्त राज्य अमेरिका, इजिप्ट र कोलम्बिया ।

८. बेल्जियम ⬆️

प्रतियोगितामा कसरी लय समात्ने भन्ने कुरा बेल्जियमबाट सिक्नुपर्छ ! समूह चरणमा संघर्ष गरेको र सेनेगल विरुद्धको खेल सकिन ४ मिनेट बाँकी हुँदा २-० ले पछि परेको बेल्जियमले कसरी-कसरी अन्तिम समयमा आफूलाई सम्हाल्दै क्वार्टर-फाइनलसम्मको यात्रा तय गर्‍यो ।

रेड डेभिल्सले सेनेगल विरुद्धको त्यो पुनरागमन जितपछि संयुक्त राज्य अमेरिकालाई घर पठाउँदा यो समरकै उत्कृष्ट प्रदर्शन गर्‍यो । प्रशिक्षक रुडी गार्सियाले केभिन डी ब्रुयना र जेरेमी डोकुलाई बेन्चमा राख्ने साहसी निर्णयको फल पाए । चार्ल्स डे केटेलेयरले पनि आफू अग्रपङ्क्ति सम्हाल्न सक्षम रहेको प्रमाणित गरे, जबकि रोमेलु लुकाकु अझै पनि वैकल्पिक खेलाडीका रूपमा मात्र मैदान प्रवेश गरिरहेका छन् ।

क्वार्टर-फाइनलमा स्पेनलाई हराउने आशा राख्ने हो भने बेल्जियमले आफ्नो खेलको स्तर अझ माथि उठाउनुपर्नेछ, तर देशको फुटबल भविष्यप्रति आशा भने पक्कै पलाएको छ।

७. स्विट्जरल्याण्ड ⬆️

खेल हेर्दा खासै आकर्षक थिएन- तर कोलम्बिया विरुद्ध स्विट्जरल्याण्डको अन्तिम १६ को खेल उत्कृष्ट होला भनेर कसैले सोचेका पनि थिएनन् । भ्यानकुभरसम्म आइपुग्दा दुवै टोलीले औसत प्रदर्शन गरेका थिए, त्यसैले एउटा खल्लो खेलको निर्णय पेनाल्टीबाट हुनुमा कसैलाई आश्चर्य लागेन ।

हालसम्मका विश्वकपका खोज मानिएका घाइते जोहान मान्जाम्बी बिना नै जित निकाल्न सफल हुनु स्विट्जरल्याण्डको लागि सकारात्मक पक्ष हो । साथै, सुटआउटका नायक रुबेन भर्गास पूर्ण रूपमा फिट नभए पनि बेन्चबाट आएर टोलीलाई जिताए। क्वार्टर-फाइनलमा अर्जेन्टिना विरुद्ध स्विट्जरल्याण्ड कमजोर टोलीको रूपमा रहने भए तापनि पछिल्ला दुई खेलमा च्याम्पियन (अर्जेन्टिना) को कमजोर प्रदर्शनले उनीहरूलाई हौसला मिल्नेछ ।

६. मोरक्को ⬇️

जेसी मार्शले क्यानडा राम्रो टोली भएको दाबी गरे पनि त्यो कुरामा कुनै दम थिएन । क्यानडाले एटलस लायन्सलाई समस्यामा पारेको पक्कै हो, तर मोरक्को नै वास्तविक विजेता थियो – यद्यपि ३-० को नतिजा उनीहरूको पक्षमा अलि बढी नै देखिन्थ्यो।

पछिल्लो विश्वकपमा चौथो स्थान हासिल गरेको मोरक्कोको अबको सामना फ्रान्ससँग हुनेछ, जसले कतारमा उनीहरूको जितको यात्रा रोकेको थियो । फ्रान्स अहिले झनै बलियो देखिएको छ । तर मोरक्को पनि विशेष गरी आक्रमणको पक्षमा सुधारिएको छ र उनीहरू बदला लिने दाउमा हुनेछन् । उनीहरूसँग गुमाउनु पर्ने केही छैन ।

५. नर्वे ⬆️

के २०२६ को विश्वकपमा नर्वे भन्दा बढी रमाइलो कुनै टोलीले गरिरहेको छ र ? हामीले ब्राजिलसँगको खेल अघि नै भनेका थियौँ कि नर्वे सेलेसियाओ (ब्राजिल) को लागि दुस्वप्न साबित हुन सक्छ, किनकि उनीहरू निकै स्वतन्त्र भएर खेलिरहेका छन् । सन् १९९८ पछि पहिलो पटक विश्वकप खेलिरहेको नर्वेको मुख्य लक्ष्य समूह चरण पार गर्नु थियो, जुन उनीहरूले पहिले नै हासिल गरिसकेका थिए ।

हामीले यो पनि भनेका थियौँ कि उनीहरूसँग अर्लिङ हालान्ड जस्ता खेलाडी छन् जसले विश्वकै बलिया डिफेन्डरहरूलाई पनि ध्वस्त पार्न सक्छन्- र उनले इस्ट रदरफोर्डमा दुई गोल गर्दै त्यही प्रमाणित गरे । इङ्गल्याण्ड विरुद्धको खेलमा पनि नर्वे ‘अन्डरडग’ कै रूपमा रहनेछ, जुन उनीहरूका लागि उपयुक्त हुनेछ । सारा दबाब विपक्षी टोलीमाथि छ।

४. अर्जेन्टिना ⬇️

अर्जेन्टिना भाग्यमानी हो कि जुझारु ? सायद दुवै हो, किनकि इजिप्ट विरुद्ध भाग्यले लियोनेल स्कालोनीको टोलीलाई साथ दियो- तर अन्तिम ११ मिनेट बाँकी रहँदा २-० को अवस्थाबाट उत्कृष्ट पुनरागमन गर्दै ३-२ को जित निकाल्नुको श्रेय उनीहरूलाई नै जान्छ।

लियोनेल मेस्सीले फेरि एकपटक पेनाल्टी मिस गरे पनि क्रिस्टियन रोमेरोका लागि गोलको अवसर सिर्जना गर्दै र आफैँले एक गोल गर्दै त्यो गल्ती सुधारे । इन्जो फर्नान्डेजले इन्जुरी समयमा लाउटारो मार्टिनेजको क्रसमा हेड गोल गर्दै जित सुनिश्चित गरे। अर्जेन्टिनाले क्वार्टर-फाइनलमा स्विट्जरल्याण्डलाई हराउनुपर्ने हो, तर केप भर्ड र इजिप्टसँग संघर्ष गर्दै जितेको देख्दा के च्याम्पियन टोली तेस्रो पटक भने अभागी ठहरिएला त ?

३. इङ्गल्याण्ड ⬆️

इङ्गल्याण्डको विश्वकप अभियानकै सबैभन्दा कठिन परीक्षाले थोमस टुचेलको टोलीको उत्कृष्ट रूप बाहिर ल्यायो । प्रसिद्ध एज्टेका स्टेडियममा मेक्सिकोलाई हराउँदै उनीहरूले अन्तर्राष्ट्रिय फुटबलको कुख्यात उपाधि खडेरी अन्त्य गर्न सक्ने क्षमता देखाएका छन् ।

जुड बेलिङ्घमले ३-२ को रोमान्चक जितमा सानदार प्रदर्शन गरे । यो जितले नर्वे विरुद्धको क्वार्टर-फाइनल अघि उनीहरूको मनोबल निकै बढाएको छ । टोलीका कसैलाई पनि हालान्डको खतराको बारेमा बताइरहनु पर्दैन, तर टुचेललाई विश्वास छ कि यदि हालान्डलाई पास दिने लाइनहरू काट्न सकेमा बेलिङ्घम र ह्यारी केनले बाँकी काम सम्हाल्नेछन्।

२. स्पेन ↔️

अस्ट्रिया विरुद्धको सानदार प्रदर्शनको तुलनामा स्पेनले पोर्चुगल विरुद्ध उस्तै उचाइ त पाउन सकेन, तर सोमबार कठिन परीक्षामा उनीहरू सफल भए । मिकेल मेरिनोको इन्जुरी समयको गोलले स्पेनलाई जित दिलायो । उनीहरू २०२४ मा जितेको युरोपेली उपाधिमा अब विश्वकपको उपाधि थप्ने बाटोमा छन्।

धेरैले अपेक्षा गरे जस्तो लामिन यमलले अझै पनि प्रतियोगितामा आफ्नो जादु देखाउन बाँकी छ । सुधारिएको तर रक्षापङ्क्तिमा कमजोरी रहेको बेल्जियम विरुद्धको खेल स्पेनका यी युवा स्टारका लागि चम्किने राम्रो अवसर हुन सक्छ।

१. फ्रान्स ↔️

पराग्वेले फ्रान्सलाई हरेक तरिकाले निराश बनाउने प्रयास गरे पनि अन्ततः केलियन एमबाप्पेले पेनाल्टी मार्फत गोल गर्दै जित दिलाए । एमबाप्पेले पछि भने जस्तै, लेस ब्लुज (फ्रान्स) विपक्षीको कडा व्यवहारबाट अलिकति पनि डराएनन्।

क्वार्टर-फाइनलमा मोरक्कोलाई हराउन फ्रान्सले आफ्नो पुरानो लयमा फर्किनुपर्नेछ, तर पराग्वे विरुद्धको खेलले उनीहरूलाई कठिन परिस्थितिमा कसरी जित्ने भन्ने कुराको ज्ञान छ भन्ने प्रमाणित गरेको छ । त्यसैले नै फ्रान्स अझै पनि विश्वकप जित्ने मुख्य दाबेदार हो।