वर्ल्डलिंकको ‘इन्टरनेट एकेडेमी’ अभियान: समुदायस्तरमै पुग्यो सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना


काठमाडौं ।  इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘वर्ल्डलिंक इन्टरनेट एकेडेमी’ मार्फत देशमै पहिलो पटक समुदायस्तरमा डिजिटल साक्षरता तथा सुरक्षित इन्टरनेट प्रयोगसम्बन्धी बृहत् सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

वर्ल्डलिंक कम्युनिकेशन्सले गत साउन २०८२ देखि जेठ २०८३ सम्म सञ्चालन गरेको विभिन्न तालिम तथा अभिमुखीकरण कार्यक्रममार्फत काठमाडौं उपत्यकाका विभिन्न समुदायका ३९२ जना व्यक्तिहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

डिजिटल प्रविधि जीवनशैलीको अभिन्न हिस्सा बनिसकेको अवस्थामा बढ्दो साइबर दुर्व्यवहार, अनलाइन ठगी, गोपनीयता उल्लङ्घन र गलत सूचनाजस्ता जोखिम न्यूनीकरण गर्न यो कार्यक्रम सुरु गरिएको हो । वर्ल्डलिंककी प्रमोटर सेयरहोल्डर तथा सीएसआर डाइरेक्टर अनुपा भण्डारी जालानको अवधारणा, योजना र नेतृत्वमा विगत केही वर्षदेखि यो अभियान सञ्चालन हुँदै आएको छ ।

आफू इन्टरनेट सेवा प्रदायक संस्था भएकाले यस क्षेत्रका चुनौतीलाई सम्बोधन गर्नु कम्पनीको दायित्व रहेको बताउँदै जालानले भनिन्, ‘हामीले विद्यालयका विद्यार्थी र समुदायलाई लक्षित गरी डिजिटल साक्षरता कार्यक्रम ल्याएका हौं, जसले गर्दा प्रयोगकर्ताहरू सुरक्षित र जिम्मेवार अनलाइन अभ्यासमा अभ्यस्त हुन सकून् ।’

यस अभियान अन्तर्गत चालु आर्थिक वर्षमा भक्तपुरको चाँगुनारायण नगरपालिकाको समन्वयमा १९ वटा विद्यालयका करिब १,४९० विद्यार्थीहरू लाभान्वित भएका छन् । विद्यालय स्तरमा प्राप्त सकारात्मक प्रतिक्रिया र समुदायको बढ्दो मागपछि यसलाई टोल–टोलसम्म विस्तार गरिएको हो ।

कम्पनीले महिला मानव अधिकार संस्था, काठमाडौँ महानगरपालिका वडा नं. ९ र १०, तथा टोखा नगरपालिकाका सम्पूर्ण वडाहरूसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा विशेषगरी महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

तालिमको गुणस्तर र विश्वसनीयता सुनिश्चित गर्न यसमा प्रयोग गरिने विषयवस्तु नेपाल प्रहरीको साइबर ब्यूरोद्वारा अध्ययन गरी विद्यालय र समुदायस्तरमा प्रयोगका लागि अनुमोदन गरिएको छ । तालिममा जिम्मेवार इन्टरनेट प्रयोग, अनलाइन सुरक्षा, साइबर बुलिङ, व्यक्तिगत गोपनीयता संरक्षण, डिजिटल उत्पीडन, र अनलाइन ठगीबाट बच्ने व्यावहारिक ज्ञान प्रदान गरिएको थियो ।

कार्यक्रममा सहभागी एक महिला स्वास्थ्य स्वयंसेविकाले तालिमले डिजिटल सुरक्षाको ज्ञान बढाएको र आफूले सिकेका कुरा परिवार तथा समुदायसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिन् ।

त्यसैगरी, अर्का एक सहभागीले आफ्नो अनुभव सुनाउँदै भने, ‘सामाजिक सञ्जाल चलाउँदा कतै ठगी हुन्छु कि भन्ने डर सधैं मनमा हुन्थ्यो । अहिलेसम्म यस्तो सचेतना कसैले दिएको थिएन । वर्ल्डलिंकको यो पहलले अनलाइन जोखिम र सुरक्षित रहने उपायबारे प्रष्ट बनाएको छ ।’ उनले यस्ता कार्यक्रम अन्य समुदायमा पनि लैजान सुझाव दिएका छन् ।

चालू आर्थिक वर्षमा समुदायस्तरमा कुल १२ वटा तालिम सत्रहरू सफलतापूर्वक सम्पन्न भएका छन् । वर्ल्डलिंकले आगामी वर्षहरूमा पनि डिजिटल समावेशीकरण र सुरक्षित अनलाइन संस्कृति निर्माणका लागि यो अभियानलाई थप समुदायमा विस्तार गर्ने लक्ष्य राखेको छ ।