सुरक्षा परीक्षणपछि ओपनएआईले बिहीबार जीपीटी–५.६ सार्वजनिक गर्ने, च्याटजीपीटी थप सक्षम


एजेन्सी । शक्तिशाली एआई प्रणालीहरूको दुरुपयोग हुन सक्ने राष्ट्रिय सुरक्षा चिन्ताका कारण अमेरिकी सरकारको अनुरोधमा एक महिना रोकिएको ओपनएआईको सबैभन्दा सक्षम मोडेल जीपीटी–५.६ अन्ततः यसै बिहीबार सार्वजनिक हुने भएको छ ।

यो घोषणा एन्थ्रोपिकका पछिल्ला एआई मोडलहरूमाथिको प्रतिबन्ध हटेको केही समयमै आएको हो । यसअघि एन्थ्रोपिकलाई पनि राष्ट्रिय सुरक्षा जोखिमको कारण देखाउँदै सेवा रोक्न आदेश दिइएको थियो तर तीन हप्ताभित्रै सो रोक हटाइएको थियो ।

चीन, रुस वा अन्य प्रतिस्पर्धी देशहरूका सैन्य वा जासुसी निकायले अत्याधुनिक एआई प्रविधिको दुरुपयोग गर्न सक्ने आशंकामा वाशिङटनले यस्ता मोडलहरूको सार्वजनिक निष्काशनमा कडा निगरानी राख्न थालेको छ ।

समाचार संस्था एक्सिओसका अनुसार, अमेरिकी वाणिज्य मन्त्रालयले नयाँ सुपरीवेक्षण ढाँचा अन्तर्गत थप सरकारी परीक्षणहरू गरेपछि जीपीटी–५.६ लाई व्यापक रूपमा सार्वजनिक गर्न अनुमति दिएको हो । यसअघि ओपनएआईले यस मोडलको पहुँच केही सीमित र प्रमाणित साझेदारहरूलाई मात्र दिएको थियो जसको विवरण सरकारी अधिकारीहरूसँग साझा गरिएको थियो ।

ओपनएआईले मंगलबार राति एक्स मार्फत जानकारी दिएअनुसार, कम्पनीले जीपीटी–५.६ सोलसँगै टेरा र लुना मोडलहरू पनि सार्वजनिक गर्ने योजना बनाएको छ । सोल ओपनएआईको हालसम्मकै सबैभन्दा उन्नत र शक्तिशाली मोडेल हो भने टेरा मध्यम स्तरको कम लागतको मोडेल हो ।

त्यस्तै, लुनालाई सबैभन्दा सस्तो र कार्यकुशल विकल्पको रूपमा प्रस्तुत गरिएको छ । ह्वाइट हाउस र अमेरिकी वाणिज्य मन्त्रालयले भने यस विषयमा तत्काल कुनै आधिकारिक टिप्पणी गरेका छैनन् ।

एआई मोडलहरूको यस्तो बढ्दो सरकारी निगरानी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जारी गरेको एक कार्यकारी आदेशपछि सुरु भएको हो । उक्त आदेशले एआई विकासकर्ताहरूका लागि एक स्वैच्छिक ढाँचा तयार गरेको छ जसअनुसार उनीहरूले आफ्ना फ्रन्टियर मोडलहरू सार्वजनिक गर्नुभन्दा ३० दिनअघि परीक्षणका लागि अमेरिकी सरकारलाई उपलब्ध गराउनुपर्ने हुन्छ ।

यसैबीच अर्को एआई कम्पनी एन्थ्रोपिकले कुनै पनि एआई मोडललाई जेलब्रेक (सुरक्षा घेरा तोड्ने प्रयास) बाट पूर्ण रूपमा सुरक्षित राख्न असम्भव रहेको चेतावनी दिँदै यसले हानिकारक गतिविधिहरूलाई खुला गरिदिने जोखिम औंल्याएको छ ।