
काठमाडौं । व्यावसायिक घराना गोल्यान समूहले निर्माणका लागि प्रस्ताव गरेको माथिल्लो मुगु जलविद्युत आयोजनाको उत्पादन अनुमति (जेनेरेसन लाइसेन्स) को प्रक्रिया अघि बढेको छ ।
गोल्यान समूहको सहायक कम्पनी एलिभेट इनर्जीमार्फत आयोजना अघि बढाउन लागिएको हो ।
माथिल्लो मुगु निजी क्षेत्रले निर्माण गर्न लागेको ३०६ मेगावाट क्षमताको अर्धजलाशययुक्त आयोजना हो । कम्पनीले २०७७ सालमा आयोजनाको सर्भे लाइसेन्स पाएको थियो ।
कर्णाली प्रदेशको मुगु जिल्लास्थित मुगुम कर्मारोङ गाउँपालिका (वडा नं. ५, ६, ७, ८ र ९) तथा छायानाथ रारा नगरपालिका (वडा नं. १२ र ९) भई बहने मुगु कर्णाली नदीको पानी उपयोग गर्ने गरी यो अर्धजलाशययुक्त आयोजना प्रस्ताव गरिएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविन अर्यालका अनुसार यस आयोजनाको सम्भाव्यता अध्ययनका लागि अमेरिकी बैंक डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी) ले सन् २०२२ मा अनुदान उपलब्ध गराएको थियो । उक्त अनुदान सहयोग अन्तर्गत जर्मनीको कम्पनी ट्र्याकबेल इन्जिनियरिङले आयोजनाको सम्भाव्यता अध्ययन गरिरहेको छ ।
अहिलेलाई ३०६ मेगावाटको क्षमतामा नै आयोजना निर्माणका लागि प्रस्ताव गरिएको छ । सम्भाव्यता अध्ययनको पूर्ण प्रतिवेदनपछि मात्रै आयोजनाको वास्तविक उत्पादन क्षमता निक्र्यौल हुने सीईओ अर्याल बताउँछन् । ‘आन्तरिक खपतका लागि हो भने आयोजनाको क्षमता घटाइने र भारततर्फ निर्यात गर्ने हो भने ३०६ मेगावाट नै निर्माण गर्ने कि भन्ने छ,’ उनले भने ।
सीईओ अर्यालले आयोजनाको साइटमा आवश्यक सबै अनुसन्धान र प्राविधिक कामहरू भइरहेको जानकारी दिए । उनका अनुसार आयोजनास्थलमा दुवैतर्फ गरी करिब ४ किलोमिटर ड्रिलिङको काम सम्पन्न भइसकेको छ । आयोजना क्षेत्रमा ४०० मिटरको टेस्ट टनेल (परीक्षण सुरुङ) खनेर रक मेकानिकल टेस्ट (चट्टान परीक्षण) समेत भइसकेको छ ।
आयोजनाको डिजाइन र हेडवक्र्सको मोडेल अध्ययन पुल्चोक इन्जिनियरिङ क्याम्पस नजिकै रहेको हाइड्रोल्याबमा भइरहेको छ ।
यो अध्ययन यसै वर्षको अन्त्यसम्ममा सकिने र त्यसपछि आयोजनाको अन्तिम क्षमता (क्यापासिटी) कति हुने भन्ने निश्चित हुने कम्पनीले जनाएको छ ।
वातावरणीय अध्ययनमा ढिलाइ र अनुमति पत्रको प्रक्रिया
आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रिया विगत ३ वर्षदेखि चलिरहेको छ । आयोजना निकुञ्जको कोर एरियामा नपरी बफर जोन (मध्यवर्ती क्षेत्र) मा मात्र पर्ने भए पनि नेपाल सरकारको नीतिगत अस्पष्टता र कर्मचारीतन्त्रको ढिलासुस्तीका कारण वातावरणीय अध्ययन स्वीकृत हुन समय लागेको अर्यालले बताए ।
प्रस्तावित आयोजनाको डिजाइन बहाव ९०.२ घनमिटर प्रति सेकेन्ड र ग्रस हेड ४२०.३५ मिटर रहनेछ, जसबाट वार्षिक औसत १६२९.२५ गिगावाट घण्टा विद्युत उत्पादन हुने जनाइएको छ । आयोजनाका मुख्य भौतिक संरचनाहरू मुगु कर्णाली नदीको बायाँ किनारमा रहनेछन्, जसमा ६२ मिटर लम्बाइ र २७ मिटर उचाइको ब्यारेज, साइड इन्टेक, भूमिगत सेट्लिङ बेसिन, १६२८७ मिटर लम्बाइको हेड्रेस टनेल, सर्ज साफ्ट, र ५.० मिटर व्यास भएको पेनस्टक पाइप रहनेछन् । सतहमा रहने विद्युत गृहमा ४ वटा टर्वाइन (भर्टिकल एक्सिस पेल्टोन टर्बाइन) र जेनेरेटरहरू जडान गरिनेछन् । उत्पादित विद्युतलाई ५५ किलोमिटर लम्बाइको ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत फुकोट हब सबस्टेशनमा जोडिनेछ । कम्पनीले सन् २०३३ को अगष्टसम्ममा व्यावसायिक रूपमा विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । आयोजना निर्माणका क्रममा तल्लो तटीय क्षेत्रको जलचर तथा जैविक विविधताका लागि आवश्यक न्यूनतम वातावरणीय पानी निरन्तर छोडिने र विद्युत ऐन बमोजिम वातावरणीय प्रतिकूल असर नपर्ने गरी काम गरिने प्रतिबद्धता जनाइएको छ ।
आयोजना निर्माणको पूर्व तयारी अन्तर्गत सार्वजनिक सुनुवाइ लगायतका कामहरू २ वर्षअघि नै सकिइसकेकाले अहिले कम्पनीले उत्पादन अनुमति पत्रका लागि विद्युत् विकास विभागमा प्राविधिक प्रस्तुतीकरण दिने तयारी गरिरहेको छ ।
एलिभेट एनर्जीले विद्युत उत्पादनको अनुमतिपत्रका लागि दरखास्त पेश गरे बमोजिम यस आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) तथा सम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा यो सूचना जारी गरिएको हो ।
आयोजना निर्माण तथा सञ्चालन गर्दा स्थानीय क्षेत्रमा पर्न सक्ने वातावरणीय प्रभावका सम्बन्धमा सरोकारवालाहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र विद्युत विकास विभाग वा कम्पनीको कार्यालयमा आफ्नो लिखित राय प्रतिक्रिया दिन सक्नेछन् । जारी गरिएको ३५ दिने सार्वजनिक सूचनाको अवधिभित्र उक्त आयोजना निर्माणका विरुद्धमा वा यसको प्रभावका सम्बन्धमा कुनै पनि दाबी–विरोध वा सरोकारवालाहरूको नकारात्मक प्रतिक्रिया नआएमा, विभागले कम्पनीलाई आयोजना निर्माण कार्य अघि बढाउनका लागि आवश्यक अन्तिम अनुमति पत्र (लाइसेन्स) प्रदान गर्नेछ ।
गोल्यान ग्रुपको ऊर्जा क्षेत्रमा ठूलो लगानी
गोल्यान ग्रुपको ऊर्जा क्षेत्रमा निकै आक्रामक लगानी रहेको छ । हालसम्म कम्पनीको पोर्टफोलियोमा हाइड्रो र सोलार गरेर ७०० मेगावाट भन्दा बढीका आयोजनाहरू रहेका छन्, जसमा जलविद्युतमा ५२० मेगावाटको पोर्टफोलियो रहेको छ, जसमा ३६ मेगावाटको बलेफी हाइड्रोपावर सञ्चालनमा छ भने ४६ मेगावाटको अपर बलेफी निर्माणाधीन छ । २० मेगावाटको सोलार आयोजना सञ्चालनमा आइसकेको छ भने नेपाल विद्युत प्राधिकरणले गरेको प्रतिस्पर्धात्मक बोलकबोल (९६० मेगावाट) मार्फत कम्पनीले १७० मेगावाटको कोटा प्राप्त गरेको छ । यस अन्तर्गत रोल्पामा ५० मेगावाटको ठूलो सोलार प्लान्ट अघि बढाइँदै छ ।






प्रतिक्रिया