
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको सय दिन पुरा भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसदहरुले सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गर्न थालेका छन् ।
सरकारको कार्यसम्पादन कमजोर भएको र कतिपय विषयमा सरकारले जिम्मेवारपूर्ण काम गर्न नसकेको भन्दै रास्वपा सांसदले नै सरकारको आलोचना गरेका हुन् ।
सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै रास्वपाकी सचेतक क्रान्तिशिखा धितालले सुकुमबासी व्यवस्थापनका नाममा राज्यले संवेदनहीनता प्रदर्शन गरेको भन्दै आपत्ति जनाइन् । उनले सरकारले चालेको हालको कदमले सडकमा बगिरहेका सुकुमबासीका आँसुले सबैलाई पोल्नुपर्ने बताइन् ।
सुकुमबासी समस्याको समाधान र व्यवस्थापन अनिवार्य भए तापनि सरकारले चालेको कदम चुनावी वाचापत्र र मानवीय संवेदना विपरीत रहेको उनको तर्क छ।
‘आज सडकमा बगिरहेका सुकुमबासीका आँसुले हामी सबैलाई पोल्नुपर्छ। सुकुमबासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक थियो, तर के यो हाम्रो वाचापत्र अनुसार भयो रु के अभिभावकीय राज्य यस्तै हुन्छ रु’ उनले प्रश्न गरिन् ।
धितालले भनिन्, ‘जुन संवेदनशीलता, योजना र जिम्मेवारीका साथ यो कार्य अघि बढाइनुपर्थ्यो, त्यसरी भएन। यसले जम्माजम्मी राज्यको कमजोरी र असक्षमतालाई मात्र उजागर गर्यो।’
राज्यले नागरिकका आधारभूत समस्या समाधान गर्दा अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा उल्टै योजनाविहीन ढंगले अघि बढ्दा सुकुमबासीहरू थप पीडामा परेको उनको निष्कर्ष छ ।
सोमबारकै प्रतिनिधिसभा बैठकमा रास्वपाकै सांसद रमेश प्रसाईंले गृहमन्त्री सुधन गुरुङले संसदमा आएर जवाफ दिनुपर्ने धारणा राखे । सांसद प्रसाईंले कर्णाली दुर्घटना र त्यसको उद्धारबारे गृहमन्त्री सुधन गुरुङसँग जवाफ माग गरेका हुन् ।
‘हालसालै जुन दुर्घटना कर्णाली राजमार्गमा भयो । सरकारले उद्धारका लागि आफ्नो सम्पूर्ण क्षमता परिचालन गर्यो कि गरेन ? के मान्छे भिरमा अड्किएर हार गुहार गरेको र विपक्षी मित्रहरूले भने जस्तै लापर्वाही भएको साँचो हो ?,’ प्रसाईंले भने, ‘त्यसो हो भने त्यसका विषयमा गृहमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्छ ।
दोलखाबाट निर्वाचित सांसद जगदीश खरेलले संसद्प्रति जबाफदेही नबनेको भन्दै बालेनको आलोचना गरे । उनले सरकारले संसद्को गरिमा जोगाए मात्रै पाँच वर्ष चल्न सक्ने भन्दै सांसदको असन्तुष्टि बढ्दै गए सरकार जति बेला पनि अप्ठेरोमा पर्ने चेतावनी समेत दिए ।
‘फेरि महामारी फैलियो भने पुराना शक्तिहरू आफैंमात्र बिग्रिएर सकिएका होइनन् । यही शक्तिले सकाएको हो । हामीलाई पनि यही शक्तिले सक्छ । प्रधानमन्त्रीको मात्रै गरिमा बचेर यो सरकार रहने वाला छैन । हाम्रो पनि गरिमा बच्नु पर्छ । हाम्रो भूमिका यहाँ आएर ढ्यापढ्याप गर्ने मात्र हो? यतिमा सन्तुष्ट हुनेवाला छैन । नागरिक पनि सन्तुष्ट हुनेवाला छैन,’ उनले भने।
खरेलले सुरुमा आफू सरकार राम्रैसँग चलेको विश्वासमा रहेको भए पनि पछिल्लो समय भने सांसदको आत्मसम्मानमा चोट पुगिरहेको बताए ।
‘सदनमा रहेका सांसदको गरिमा रहेन भने आत्मसम्मानमा चोट पुग्यो भने यो सदन गरिमामय रहँदैन । केही दिन त सरकार चल्दै छ भन्ने सोचेका थियौं । तर समय बित्दै जाँदा ब्युरोक्रेसी सलबलाएको हामीले देखेका छौं । भोट माग्दै जाँदा हामीले हरेक नागरिकको समस्या समाधान गर्छौं भनेका थियौं,’ उनले भने ।
खरेलले पूर्वाधार विकास मन्त्री सुनिल लम्सालमाथि मन्त्रालयमा नातावाद चलाएको आरोप लगाए । उनले नातावादविरुद्ध वकालत गरेर रास्वपाले जनमत ल्याएको भन्दै अहिलेको सरकारले पनि नातावाद चलाउन खोजेको
बताए ।
‘दोलखाको एक जना चेलीले भन्नुहुन्छ पूर्वाधार मन्त्रालयमा मेरो आफन्त नभएबापत मेरो जागिर गयो । म सोध्न बुझ्न गएँ । सचिवको जवाफ के आउँछ भने तपाईं अख्तियार अदालत जानुस् । मलाई अख्तियार अदालत जान एक जना कर्मचारीले सिकाउनु पर्छ ?,’ उनले भने ।
झापा ३ का सांसद प्रकाश पाठक पनि बिजुलीको आपूर्ति राम्रोसँग नभएको भन्दै असन्तुष्ट बनेका छन् । उनले बालेनले चुनाव जितेपछि जनता बिर्सिएको आरोप पनि लगाए । बिजुली आपूर्ति प्रणालीमा देखिएको समस्या समाधान गर्नेमा सरकारप्रति पाठक सशंकित छन् ।
‘४० डिग्रीको गर्मीमा बसिरहेका मेरो जिल्लाका नागरिकलाई चुनाव पछि राज्यले चिन्न छाडेको होरु कि विद्युत् आपूर्ति प्रणाली व्यवस्थापनका लागि यो मुलुकमा कुलमान घिसिङ नै चाहिएको हो ?,’ उनले भने ।
पाठकले १०० दिनसम्म पनि सरकारले नागरिकलाई चुस्त सेवा दिन नसक्दा आशा निराशामा परिणत भइरहेको टिप्पणी गरे। ‘रकम तिरेर पनि भरपर्दो सेवा प्राप्त गर्न सकिन्न भने जोसुकैले जतिसुकै बखान गरे पनि सरकारप्रति नागरिकको विश्वसनीयता कमजोर बन्ने छ,’ पाठकले भने।






प्रतिक्रिया