
एजेन्सी । अमेरिकाको टेक्सासमा रहेको एक राजमार्गमा अमेरिकी समयअनुसार मंगलबार राति व्यावसायिक जेट विमान दुर्घटनाग्रस्त भएको छ ।
पाइलटहरूले नजिकैको विमानस्थलमा आकस्मिक अवतरणका लागि अनुरोध गर्ने क्रममा प्राविधिक समस्या आएको जानकारी गराएका थिए । उक्त दुर्घटनामा विमानमा सवार एक व्यक्तिको मृत्यु भएको छ ।
मेक्सिकोको सीमा नजिकै लारेडोमा मंगलबार अबेर भएको भीषण आगलागीसहितको दुर्घटनापछि वरपरका मानिसहरू जलिरहेको विमानबाट यात्रु र चालक दलका सदस्यहरूलाई प्रहरीको सहयोगमा उद्धार गर्न आफ्ना कार छोडेर दौडिएका थिए।
उक्त दुर्घटनामा टेक्ससको प्रविधि र स्टार्टअप क्षेत्रका नेतृत्वकर्ता जोसुवा बेरको मृत्यु भएको बेरको कम्पनीका अध्यक्षले बताएका छन् ।
अस्तव्यस्त घटनास्थलको भिडियोमा एक व्यक्तिले घनले ककपिटको सिसा फुटाउने प्रयास गरिरहेको देखिन्थ्यो भने अन्यले विमानको ढोका खोल्नका लागि घरेलु उपकरणहरूको प्रयोग गरिरहेका थिए । स्थानीय अधिकारीहरूका अनुसार, अन्य सबै बाहिर निस्किसकेपछि एकजना अग्निनियन्त्रक धुवाँले भरिएको जेटभित्र पसेर भित्रै फसेका एक व्यक्तिलाई बाहिर निकालेका थिए ।
‘ज्यान गुमाउनु निकै खेदजनक भए पनि यो त्रासदी ठूलो मानवीय क्षतिमा परिणत नहुनु कुनै चमत्कारभन्दा कम होइन,’ लारेडोका मेयर भिक्टर ट्रेभिनोले बुधबार पत्रकार सम्मेलनका क्रममा भने ।
लारेडो प्रहरी विभागका अनुसार, दुई पाइलट र तीन किशोर–किशोरी दुर्घटनामा बाँच्न सफल भएका छन् र उनीहरू अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । विमानमा रहेको एउटा कुकुरलाई धुवाँले असर गरेको थियो । त्यो पनि बाँच्ने अपेक्षा गरिएको प्रहरी विभागका अनुसन्धानकर्ता जोसे बाएजाले बताए ।
दुर्घटनाको कारण तुरुन्तै खुल्न सकेको छैन । फेडरल एभिएसन एडमिनिस्ट्रेशनले नेशनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डसँग मिलेर अनुसन्धान गरिरहेको छ ।
मंगलबार राति करिब १० बजे लुप २० राजमार्गमा जेट खसेको थियो । पाइलटहरूले आकस्मिक अवतरणका लागि स्थानीय विमानस्थलमा रेडियो मार्फत सम्पर्क गरेको केही मिनेटमै दुर्घटना भएको थियो । उनीहरूले एयर ट्राफिक कन्ट्रोलरहरूलाई गरेको कलमा इन्धन कम भएको र पावर अवरुद्ध भएको उल्लेख गरेको लारेडो अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक गिल्बर्टो सान्चेजले बताए ।
सामाजिक सञ्जालमा पोस्ट गरिएको ड्यास्क्याम भिडियोमा विमान राजमार्गमा अनियन्त्रित रूपमा दौडिरहेको र विमानस्थल नजिकै रोकिनु अघि बत्तीको खम्बा ढालेको देखाइएको थियो। जेटले एउटा कारलाई पनि ठक्कर दियो जसका कारण एक चालकलाई स्थिर अवस्थामा अस्पताल पठाइएको बाएजाले बताए । रोड्रिग्वेजका अनुसार, धुवाँका कारण अस्पतालमा उपचार गराएका पाँच अधिकारीहरू डिस्चार्ज भइसकेका छन् ।
विशेषज्ञहरू जेटको इन्जिन पावर हराएको वा इन्धन चुहिएको थियो कि भनेर शंका गरिरहेका छन् ।








प्रतिक्रिया