एनआरएनएले तय गर्‍यो आगामी सम्मेलनको कार्यतालिका, एकता महाधिवेशनलाई तीव्रता दिइने

0
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) बैठकले संस्थागत एकता, आगामी कार्यदिशा र सांगठनिक सुदृढीकरणका सम्बन्धमा महत्वपूर्ण निर्णयहरू गर्दै आफ्ना आगामी गतिविधिहरूको विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ।

अध्यक्ष डा. हेमराज शर्माको अध्यक्षतामा जुन १३ र १४ मा भर्चुअल माध्यमबाट सम्पन्न उक्त बैठकले संघको आन्तरिक विवाद समाधान, आर्थिक पारदर्शीता र विश्वभर छरिएका नेपालीहरूलाई समेट्ने गरी विभिन्न नयाँ योजनाहरू पारित गरेको हो।

बैठकले आगामी अगस्ट १०-११ मा आयरल्याण्डको डब्लिनमा १७औँ युरोप क्षेत्रीय बैठक र अगस्ट १५-१६ मा चीनको ग्वाङ्झाउमा ११औँ एसिया-प्रशान्त क्षेत्रीय सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ। यसैगरी, सन् २०२६ को नोभेम्बरमा मध्यपूर्व क्षेत्रीय सम्मेलन, डिसेम्बरमा न्युजिल्याण्डमा ओसियाना क्षेत्रीय सम्मेलन र सन् २०२७ को मार्च-अप्रिलमा क्यानडामा अमेरिकाज क्षेत्रीय सम्मेलन आयोजना गरिने तय भएको छ।

सन् २०२७ को जनवरीभित्रै चौथो विश्व ज्ञान सम्मेलन, पहिलो विश्व महिला सम्मेलन र दोस्रो पुस्ताको युवा सम्मेलन सम्पन्न गर्ने लक्ष्य समेत बैठकले लिएको छ।

साङ्गठनिक एकतालाई मुख्य प्राथमिकतामा राख्दै बैठकले नेदरल्याण्ड्स, डेनमार्क, बेल्जियम, माल्टा, मलेसिया र थाइल्याण्डमा रहेका समानान्तर राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूको एकीकरणलाई अनुमोदन गरेको छ।

साथै, अस्ट्रिया, पोर्चुगल, अमेरिका, युएई, कुवेत र दक्षिण कोरियाका एनसीसीहरूलाई आगामी ३१ जुलाई २०२६ सम्ममा एकता राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको छ। यो प्रक्रियालाई सहज बनाउन उपाध्यक्ष रोशन थापा र उपमहासचिवहरू दिनेश घिमिरे, अनुजा प्रधान, राजेन्द्र अर्याल, पारसमणि पोखरेल र मोहम्मद मुक्तदा मुसलमानलाई विभिन्न देशको जिम्मेवारी तोकिएको छ। यस्तै, रोमानिया, बुल्गेरिया र ग्रीस लगायतका देशमा एनसीसीहरूलाई पुन: सक्रिय बनाउने र क्रोएसिया, सर्बिया जस्ता नयाँ देशहरूमा एनसीसी स्थापनाको प्रक्रिया अघि बढाउन क्षेत्रीय संयोजकहरूलाई पूर्ण अधिकार प्रत्यायोजन गरिएको छ।

बैठकले संघको संरचनामा व्यापक सुधार गर्दै विश्वभर छरिएका नेपाली मूलका महिला, युवा र विज्ञहरूलाई आईसीसीको संरचनामा करिब ७० प्रतिशतसम्म समेट्ने ऐतिहासिक निर्णय गरेको छ। रिक्त रहेका विभिन्न पदहरूको पदपूर्तिका लागि छनोट मापदण्ड स्वीकृत गर्दै मनोनित हुने व्यक्तिहरू वित्तीय अनियमिततामा नमुछिएको र कुनै कानूनी मुद्दा नभएको हुनुपर्ने कडा प्रावधान राखिएको छ।

यस्तै, एनसीसी एकीकरणका लागि पद त्याग गर्ने अध्यक्षहरूलाई उपयुक्त पदमा मनोनयन गर्ने प्रस्ताव समेत बैठकले पारित गरेको छ। १२औँ महाधिवेशनमा मनोनयन हुन नसकेका उम्मेदवारहरूलाई नियुक्त गर्ने र बाँकी रिक्त पदहरूमा एक हप्ताभित्र नामावली टुङ्गो लगाउने जिम्मेवारी अध्यक्षलाई दिइएको छ।

आर्थिक सुशासनका क्षेत्रमा बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५ करोड ३७ लाख ६३ हजार ६६८ रुपैयाँको बजेट स्वीकृत गरेको छ। आईसीसी पदाधिकारी र सदस्यहरूलाई लेभी तथा शुल्क बुझाउन दुई हप्ताको थप समय दिने र सो अवधिमा पनि शुल्क नबुझाउनेको नाम आधिकारिक वेबसाइटबाट हटाउने निर्णय भएको छ। साथै, संस्थाको एकताका लागि उम्मेदवारी फिर्ता लिएका वा विशेष परिस्थितिका कारण उम्मेदवारी स्वीकृत हुन नसकेकाहरूको मनोनयन शुल्क फिर्ता गरिने भएको छ।

सचिवालयतर्फ भवनको मर्मत सम्भार र आईटी कार्यलाई व्यवस्थित गर्न दुई जना आईटी अधिकृत नियुक्त गर्ने प्रक्रियालाई समेत बैठकले अनुमोदन गरेको छ।

संघको गरिमा र प्रभावकारिता बढाउन संरक्षक परिषद्मा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने, निवर्तमान अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठ तथा संस्थापक महासचिव भीम उदासलाई नियुक्त गरिएको छ। सल्लाहकार समितिमा बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक डेभिड गेल्नरलाई मनोनयन गरिएको छ भने विधान व्याख्या समितिमा हिक्मत थापा र अनुशासन समितिमा रतन झालाई संयोजकको जिम्मेवारी दिइएको छ।

निर्वाचन प्रणालीलाई आधुनिक र सुरक्षित बनाउन ७ सदस्यीय प्राविधिक समिति गठन गरिएको छ, जसले ४५ दिनभित्र आफ्नो प्रतिवेदन बुझाउनुपर्नेछ।

बैठकले एनआरएनए फाउन्डेसनलाई विदेशमा दर्ता गरी थप सुदृढ बनाउने निर्णय गर्दै त्यसको जिम्मेवारी फणिन्द्र पन्त र शशी पौडेललाई सुम्पेको छ। अन्तर्राष्ट्रिय रेडक्रस, चेम्बर अफ कमर्स, नेपाल ओलम्पिक कमिटी लगायतका संघसंस्थाहरूसँग भएका सम्झौताहरूलाई पुनरावलोकन गर्दै सहकार्यलाई अझ प्रभावकारी बनाउने निर्णय समेत प्रवक्ता सोमनाथ सापकोटाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

Skip This